आईसीयू थप्न अस्पतालालाई १० लाख
नुवाकोटको त्रिशूली अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) शैय्या थप गर्न यहाँका स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् । कोरोना संक्रमित बिरामीलाई अहिले आईसीयू शैय्या अत्यावश्यक रहेकाले शैय्या थप्न किस्पाङ गाउँपालिकाले दश लाख तत्कालै र अपुग भए पछि थप्ने गरी सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिए ।
त्रिशूली अस्पतालमा हाल छ शैय्याको आईसीयू, चार एचडीयू र ६ वटा भेन्टिलेटर सञ्चालनमा छ । नुवाकोटसहित रसुवा र धादिङका बिरामीलाई सेवा दिँदै आएको त्रिशूली अस्पतालमा हाल कोरोना संक्रमित बिरामीको चाप बढेसँगै १० श्ौय्याको आईसीयू थप्नका लागि प्रक्रिया अघि बढाइएको अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिए ।
गेटा कलेजमा आइसोलेसन बनाउन ५० लाख
सुदूरपश्चिम, ६ जेठ (रासस)ः सुदूरपश्चिम प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रले गेटा मेडिकल कलेजको नवनिर्मित भवनमा आइसोलेसन सेन्टर निर्माणका लागि ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । लागि उक्त रकम जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीलाई दिने निर्णय भएको हो ।
यसैगरी जिल्ला अस्पताल बैतडीमा नमुना परीक्षण गर्ने पीसीआर मेसिन सञ्चालन गर्न, आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न बैतडीकै रुदेश्वर स्वास्थ्य चौकी, दार्चुलाको देवल स्वास्थ्य चौकी, डोटीको दौड स्वास्थ्य चौकी र अछामको कमलबजार नगरपालिकालाई समेत गरी थप एक करोड ५० लाख उपलब्ध गराउने निर्णय भएको सुदूरपश्चिम प्रदेश, कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एवं मुख्य मन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बताए ।
प्रदेशमा गएको दुई दिनमा केही घटेको देखिएको कोरोना भाइरसको संक्रमण दरको ‘ग्राफ’ पछिल्लो २४ घण्टामा फेरि उकालो लागेको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्यांकअनुसार गएको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट जम्मा दुई हजार २०५ जनाको नमुना परीक्षण गर्दा झण्डै ४३ प्रतिशत अर्थात् ९५३ जनामा संक्रमण भएको छ ।
यसअघि सोमबार एक हजार ५३५ को नमुना परीक्षण गर्दा झण्डै ३७ प्रतिशत अर्थात् ५६३ जनामा र मंगलबार एक हजार ७०३ को नमुना परीक्षण गर्दा ४१ प्रतिशत अर्थात् ६९९ जनामा संक्रमण देखिएको थियो ।