Logo

कृषकलाई छैन बजारको समस्या

विगत तीन सातादेखि जिल्लाभर निषेधाज्ञा लागु गरिएको भएपनि पर्वतमा उत्पादित कृषि उपज ढुवानी र बजारीकरणमा समस्या नपरेको पर्वतका किसानहरुले बताएका छन् ।
गत वर्ष कोरोनाका कारण उत्पादित कृषि उपज बजार पठाउन नपाउँदा बारीमा कुहाए पनि यस वर्ष भने बजारीकरणमा समस्या नभएको किसानहरुले बताएका छन् । जिल्लाको जलजला गाउँपालिका ७ सल्यानका किसान एकनारायण पौडेलले गत वर्ष बारीमै तरकारी कुहिएपनि यस वर्ष भने कुनै समस्या नभएको जानकारी दिए । उनले ढुवानीको साधानलाई स्थानीय प्रशासनले आवातजावतमा कुनै रोक नलगाएपछि तरकारी ढुवानीमा बाधा नभएको बताए ।
जलजला कृषि बजारले पनि किसानका उत्पादन गाउँमै पुगेर ढुवानी गर्दै आएको छ । स्थानीय कृषक नरबहादुर केसीले जलजला कृषि बजारले गाउँमै आएर तरकारी ढुवानी गरिदिँदा बिक्री नहुने समस्या हटेको बताए । जिल्लाको मोदी गाउँपालिकामा उत्पादीत तरकारी तथा दूध मोदीखोला बहुउद्देश्यीय सहकारीले स्थानीय बजारसँगै पोखरासम्म बजारीकरणमा सहजीकरण गर्दा बिक्रीको समस्या नरहेको बताएका छन् ।
सहकारीका अध्यक्ष गंगा तिमिल्सिनाले किसानका उत्पादन ढुवानी र बिक्री वितरणमा सहयोग गर्दै आएको बताए । कुश्मा नगरपालिका र फलेवास नगरपालिकाका किसानले डोकोमा बोकेर भएपनि कुश्मामा तरकारी बेच्दै आएका छन् । गत वर्ष भने कोरोनाको त्रासले उपभोक्ताहरुले बजारको तरकारी किनेर नखाने समस्यासमेत थियो । यो वर्ष जिल्लाभर निषेधाज्ञा भएपनि तरकारीको ढुवानीमा कुनै रोकतोक नभएको किसानहरुले बताएका छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले बाहिरी जिल्लाबाट ढुवानी रोकेर जिल्लाभित्रको उत्पादन आन्तरिक बजारमा खपत हुन थालेकाले किसानलाई बजारको समस्या नभएको जानकारी दिइन् । उनले पोखरा, काठमाडौं, चितवनबाट आउने तरकारी नल्याउन व्यापारलाई अनुरोध गरिएको र सकेसम्म जिल्लाकै किसानको उत्पादन बेच्न भनिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्