पर्याप्त सुरक्षा सामग्री नहुँदा उपचारमा समस्या «

पर्याप्त सुरक्षा सामग्री नहुँदा उपचारमा समस्या


लमजुङको सुन्दरबजारमा रहेको नमुना सामुदायिक अस्पतालमा रुघा खोकी र ज्वरोका बिरामी बढेसँगै उपचारमा समस्या हुन थालेको छ । कोभिड–१९ को लक्षण मिल्ने विरामीहरूको चाप बढेपछि उपचारमा समस्या भएको अस्पतालले जनाएको हो ।
विश्वव्यापी कोभिड–१९ को संक्रमण जोखिमका बेला दैनिक रुघा, खोकी र ज्वरोका बिरामी बढेको अस्पतालका मेडिकल डाईरेक्टर डा. दिपिल अधिकारीले बताए । अस्पतालमा आएका बिरामीहरूमा कोभिड–१९ को लक्षण मिल्ने देखिए पनि तत्काल कोभिड परिक्षणका लागि उपकरण नहुँदा उपचारमा खटिने स्वास्थ्यकर्मीहरूमा जोखिम बढेको डा. अधिकारीले बताए ।
जिल्लामा हप्ताको दुईदिन मात्रै पिसिआर परिक्षणको निम्ती स्वाव लिने र त्यसको रिपोर्ट पनि झण्डै एकसाता पछि आउने हुँदा त्यो अवधीमा विरामीहरूको उपचारमा निकै समस्या भएको अस्पतालले जनाएको छ । कतिपय विरामीहरू त उपचार गरेर निको भई घर फर्किएपछि मात्रै पिसिआर रिपोर्ट पोजेटिभ आएको डा. अधिकारीको भनाइ छ ।
अस्पतालमा आएका विरामीहरूको तत्काल एन्टिजेन परीक्षण गर्न सकिने भएपनि त्यसका लागि आवश्यक उपकरण नभएको अस्पतालले जनाएको छ । कोभिड–१९ लक्षण देखिएका बिरामीहरूलाई परिक्षण नगर्दासम्म संक्रमित पुष्टि गर्न नसकिने र परिक्षण दायरा साँघुरो हुँदा अस्पतालमा आएका अन्य बिरामीहरूमा पनि संक्रमणको जोखिम रहेको अस्पतालले जनाएको छ ।
नमूना सामुदायिक अस्पतालमा कोभिड–१९ का संक्रमितहरूलाई उपचारका निम्ति अक्सिजन सहितको ४० शय्याको आइसोलेसन पनि तयार भएको छ । संक्रमितहरूको उपचारको निम्ति आईशोलेसनको व्यवस्थापन गरिए पनि प्रारम्भीक परिक्षणका लागि आवश्यक उपकरण नहुँदा अस्पताल थप जोखिममा परेको अस्पताल विकास समितिका अध्यक्ष परमेश्वर अधिकारीले बताए ।
अस्पतालले तत्काल परीक्षण गर्न सकिने एन्टिजेन परिक्षणका लागि आवश्यक उपकरण सम्बन्धित निकायमा माग गरे पनि हालसम्म उपलब्ध नभएको अध्यक्ष अधिकारीको भनाई छ । अस्पतालमा आएका बिरामीको पिसिआर रिपोर्ट ढिलो गरी पोजेटिभ आउँदा उपचारमा खटिने स्वास्थ्यकर्मी पनि प्रत्येक पटक कन्ट्रयाक ट्रेसिङमा पर्ने गरेको अध्यक्ष अधिकारीले बताए ।
२०६७ सालबाट सञ्चालनमा आएको सो अस्पतालमा अहिले करिव पाँच करोडको लागतमा आधुनिक एवं वैज्ञानिक रुपबाट आवश्यकता अनुसार कोठाहरू, प्रयोगशाला, विरामी सघनकक्ष, विभाग, विद्युतगृह, एक्सरे कोठा, इन्टरनेट र चमेनागृहको प्रर्याप्त सुविधा छ ।
१५ शय्याको यस अस्पतालले आकस्मिक सेवा, ओपीडी सेवा, ल्याव, एक्सरे, भिडियो एक्सरे, प्रसुति र दन्त सेवा गुणस्तरिय रुपमा प्रदान गर्दै आएको छ । अस्पतालमा शुद्ध पिउने पानी, मोटर, शौचालय, यन्त्र उपकरण र कर्मचारीहरू पनि पर्याप्त छन् ।

प्रतिक्रिया दिनुहोस्