अक्सिजन प्लान्टसहित सेवा थप्दै धौलागिरि अस्पताल
कोरोना संक्रमणको दरमा भएको वृद्धिसँगै उत्पन्न सकस बेहोरिरहेको धौलागिरि अस्पतालले सेवा विस्तार गर्न थालेको छ । बिरामीको चाप दिनानुदिन बढ्दै जान थालेपछि अस्पतालमा अहिले धमाधम उपकरण जडानसहित गुणस्तरीय सेवाका लागि थप काम भइरहेको छ ।
कोरोना संक्रममितहरूका लागि अहिले ३५ शय्याबाट सेवा दिइरहेको अस्पताललाई तत्कालै १ सय शय्या क्षमताको बनाइँदैछ । जसका लागि आवश्यक अक्सिजनसमेत २० दिनभित्रै प्रबन्ध मिलाइने धौलागिरि अस्पताल स्रोतले जनाएको छ । अस्पतालमा दुई वर्षअघि गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट विनियोजन भएको ९० लाखको लागतमा निर्मित अक्सिजन प्लान्ट सञ्चालनमा छ । ‘कोरोना संक्रमित बिरामीहरूको चाप वृद्धि भएसँगै अहिले अक्सिजनको अभाव हँुदै आएको छ ।’ धौलागिरि अस्पताल विकास समितिका अध्यक्ष केवी राना मगरले भने, ‘अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादिन बाहेक अहिले थप दैनिक ८० अक्सिजन सिलिण्डर खपत भइरहेको छ ।’ अस्पतालमा अक्सिजन प्लान्ट निर्माण तथा सेवा विस्तारका लागी संघीय सरकारले हालै ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
विनियोजित बजेटबाट २ सय शय्यालाई पुग्ने गरी अक्सिजन प्लान्ट थप गर्ने तयारी भएको अध्यक्ष राना मगरले बताए । ‘संघीय सरकारबाट ३ करोड रुपैयाँ बजेट धौलागिरि अस्पताललाई प्राप्त भएको छ ।’ अध्यक्ष रानामगरले भने, ‘प्रदेश सरकारले बेड विस्तारका लागि सबै तयारी गरे पनि अक्सिजनको अभाव हुने भएकाले प्लान्ट जडान पहिलो प्राथमिकतामा राखेर काम गरेका छौं ।’
छिटो सेवा सुचारु गर्नका लागी चिनियाँ सप्लायर्सलाई कामको जिम्मेवारी दिने तयारी अस्पतालले गरेको छ । ‘चिनियाँ सप्लायर्सले २० दिनभित्रै अक्सिजन प्लाट स्थापना गर्ने भनेको छ ।’ अध्यक्ष रानामगरले भने ‘हामीलाई नागरिकको जीवन रक्षाका लागि छिटो प्लान्ट जडान गर्नुपर्ने छ ।’ अस्पतालमा रहेको अहिलेको अक्सिजन प्लान्टले करिब २० बिरामीलाई पुगे पनि थप बिरामीलाई सिलिण्डरको प्रयोग हँुदै आएको छ । अस्पतालमा अहिले १ सय २८ अक्सिजन सिलिण्डर पुगेको छ ।
धौलागिरि अस्पतालमा कोरोनाका संक्रमित बिरामीको चाप बढेको अवस्थामा ३ करोड बजेट विनियोजन हुँदा अस्पताल व्यवस्थापनमा राहत पुग्नेछ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ८ सय कटेको छ । अस्पतालमा तीन आईसीयू, दुई भेन्टिलेटरसहित ३५ बेडको आइसोलेसन छ । तर, ४० संक्रमितलाई उपचार गर्दा समस्या भएपछि क्षमता विस्तार र पूर्वाधार थप गर्न गण्डकी प्रदेश सरकारको सामाजिक मन्त्रालयलेसमेत ६० लाख रकम बिनियोजन गरेको छ । अहिले भएको अक्सिजन प्लान्ट समेत मर्मत गरी अक्सिजन उत्पादनको क्षमता बढाइने र त्यसका लागि गण्डकी प्रदेश सरकारले १० लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्रिलोचन रिजाल