प्रभु सेलेक्ट फण्ड बिक्री खुला
प्रभु सामुहिक लगानी कोष अन्तर्गत प्रभु सेलेक्ट फण्डले बुधबारदेखि फण्डको प्राथमिक निष्काशन तथा बिक्री खुला गरेको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आएको फण्डले १ अर्ब बराबरको १० करोड इकाई जारी गरेको हो ।
यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल रहेको छ । यो योजना एक बन्दमूखी योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म सेयरमा लगानी गर्ने छ । निष्काशित कुल इकाईमध्ये कोष प्रवर्धक प्रभु बैंकले १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई गरी कूल १५ प्रतिशत अर्थात १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा लगानी गर्न इच्छुक लगानीकर्ताले ५ गतेबाट छिटोमा जेष्ठ ९ गतेभित्र आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेष्ठ १९ गतेसम्म इकाई बिक्री खुला रहने छ कमपनीले जनाएको छ ।
३० कम्पनीमा लगानी व्यवस्थापन गर्ने योजना
कम्पनीले ३० वटा कम्पनीहरुमा लगानी व्यवस्थापन गर्ने योजना बनाएको छ “हामीसँग २१ वटा सामूहिक लगानी योजनाहरु सञ्चालनमा छन् । तर सबै सामूहिक लगानी योजनाहरुको संरचना र स्वरुप एकबाट अर्कोसँग दाँज्दा फरक फरक छ । त्यो भिडमा हामी कसरी अरुभन्दा फरक छौं भन्ने कुरा गर्नुपर्दा हामी सेलेक्टिभ छौं । जम्मा ३० वटा कम्पनीहरुमा लगानी व्यवस्थापन गर्ने योजना बनाएका छौं” । प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत गिरि भन्छन्, “यसले लगानीकर्ताहरुलाई उच्चतम प्रतिफल तथा जोखिम व्यवस्थापनको साथै समग्र बजारलाई नेप्सेका परिसूचकसँग दाँज्न मिल्ने एउटा बेन्चमार्क प्रदान गर्नेछ ।” अहिले कम्पनीले आफ्नो पुँजीसहित करिब २ अर्ब रकमको व्यवस्थापन गर्दै आएको उनी बताउँछन् । त्यसबाट सेयरधनी तथा सेवाग्राहीहरुले उच्च प्रतिफल प्राप्त गरेको उनको दावी छ ।