Logo

कोभिड संक्रमण

पर्वतमा विकास निर्माणका काम जारी

मध्यपहाडी लोकमार्गको कुश्मा खण्डमा कालोपत्रेको काम गरिँदै । तस्बिर : कारोबार


कोरोना कहरले देश त्रासमा भइरहेका बेला पर्वतमा भने विकास निर्माणका काममा कोरोना बाधक बनेको छैन ।
राष्ट्रिय गौरवका सडक आयोजनासँगै अन्य विकास निर्माणका काममा कोरोनाले गतवर्ष जस्तो प्रभाव पारेको छैन । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग, कालिगण्डकी करिडोरसँंगै शाखा तथा मूल सडकसँंगै पुल निर्माणको काम कोरोनाका कारण रोकिएको छैन । राष्ट्रिय गौरव तथा जिल्लास्तरका आयोजनासमेत निरन्तर सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् ।
मोदीखोलामा निर्माणाधीन ३ वटा जलविद्युत् आयोजना, नयाँ मोदी लेखनाथ प्रसारण लाइन, कालिगण्डकी करिडोर प्रसारण लाइनको काम सुचारु भइरहेका छन् । जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा जारी गरे पनि विकास निर्माणका कार्य सुचारु रूपमा सञ्चालन गर्न सहजीकरण गर्दै आएको छ । जिल्लामा संघीय र प्रदेश सरकारमार्फत ग्रामीण सडकहरूमा कालोपत्रे गर्ने कार्य पनि रोकिएका छैनन् । मध्यपहाडी लोकमार्गको २४ किलोमिटर खण्ड असारसम्म सक्नेगरी जिल्लामा अहिले धमाधम काम भइरहेको छ । लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेगराज मरासिनीले असारसम्म काम सक्ने गरी ठेकेदार कम्पनीले कामदार परिचालन गरेको जानकारी दिए । अहिले कुश्मा र पातीचौर बजार खण्डमा कालोपत्रेको काम भइरहेको छ । स्वास्थ्यका मापदण्ड पालना गरेर कामदार खटाएको उनले बताए ।
पहिलो चरणको कोरोना संक्रमणमा धेरै कामदार घर फर्किए पनि दोस्रो लहरको संक्रमणमा भने मजदूरहरू कार्यस्थलमै छन् । मध्यमोदी जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्यले सुरुङको फिनिसिङ, पावरहाउसको पर्खाल उकास्नेलगायतका काममा कामदार परिचालन भएको जानकारी दिए । कोरोनाका कारण गरिएको निषेधाज्ञाले सामान ढुवानीमा भने केही समस्या देखिएको आचार्यले बताए ।
पूर्वाधार कार्यालयले सञ्चालन गरेका विकास निर्माणका काममा पनि कोरोनाको खासै प्रभाव नरहेको पूर्वाधार कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । गतवर्ष गाउँमा कामदारलाई बस्नै नदिने समस्या भए पनि यस वर्ष भने समुदायले कुरा बुझ्दै गएकाले कामदार परिचालनमा समस्या नरहेको आचार्यले बताए ।
तर जिल्लामा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा विकास निर्माणमा फेरि समस्या हुने त्रास भने कायमै छ । विकास निर्माणका काम निरन्तर सुचारु होऊन, कुनै प्रभाव नपरोस् भनेर जिल्ला प्रशासन कार्यालयले निजी तथा व्यक्तिगत निर्माणकार्य भने रोक्न निर्देशन दिएको छ ।
पर्वतमा आधा दर्जन बढी राष्ट्रिय गौरवका आयोजना निर्माणाधीन छन् भने जिल्लास्तरीय सडक, पुल, सिँंचाइलगायतका ठूला आयोजना १ सयभन्दा बढी रहेको पूर्वाधार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्