मारवाडी सेवा समितिद्वारा अक्सिजनसहित ५१ बेडको आइसोलेसन सञ्चालन
मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशालामा अक्सिजनसहित ५१ बेडको निःशुल्क आइसोलेसन सेवा सञ्चालन गरेको छ । मित्रपार्कस्थित नेपाल¬भारतमैत्री हस्पिटलसँगको सहकार्य एवं व्यवस्थापन तथा काठमाडौं महानगरपालिका¬८ को समन्वयमा मारवाडी सेवा समितिले सो आइसोलेसन सञ्चालनमा ल्याएको हो ।
उपप्रधानमन्त्री एवं कोभिड–१९ संकट व्यवस्थापन समिति(सीसीएमसी)का संयोजक ईश्वर पोख्रेलको उपस्थितिमा बुधबारदेखि सर्वसाधारणका लागि आइसोलेसन सञ्चालनमा आएको हो । उपप्रधानमन्त्री पोख्रेलले मारवाडी सेवा समितिले सञ्चालन गरेको अक्सिजन सहितको आइसोलेसन व्यवस्थित रहेको बताए ।
साथै उनले अस्पतालहरूमा बेड पाएर पनि आर्थिक स्थिति कमजोर भई उपचार गराउन नसक्नेहरूको जीवन रक्षामा उक्त आइसोलेसन सञ्चालनले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै सिसिएमसी र स्वास्थ्य मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्न नेपाल सरकार तयार रहेको उनको भनाइ छ ।
आइसोलेसनमा रहने बिरामीहरूका लागि ल्याव परीक्षण र औषधि बाहेक अक्सिजन, खाना, बस्न तथा चिकित्सक, नर्स, लगायतका सबै स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध हुनेछ ।
आइसोलेसनमा बस्नको लागि कोरोना संक्रमण भइ लक्षण देखिइका तथा अक्सिजनको लेभल ९० देखि ९४ को बीचमा भएको हुनुपर्नेछ ।
सो सेवा समाजले कोरोनाको पहिलो लहरमा देशभर करिब एक करोड ५० लाखभन्दा बढीलाई पुग्ने गरी रोगी प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने होमियोप्याथिक आर्सेनिक एल्बम–३०सी नामक औषधि निःशुल्क वितरण गरेको थियो । समाजका अध्यक्ष कैलाशचन्द्र गोयलका अनुसार,पोहोर काठमाडौंमा १० हजार परिवारलाई पुग्ने राशन तथा मास्क, सेनिटाइजर, ग्लब्स समेत वितरण गरेको थियो ।
२०१० सालमा स्थापना भएको मारवाडी सेवा समाजले प्राकृतिक विपद तथा महामारीमा विभिन्न सहयोग गर्दै आएको छ ।