राष्ट्रियसभा उपनिर्वाचन ,कोरोना संक्रमितले मतदान गर्न पाउने
बागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन आज बिहीबार हुँदैछ । हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको चौरमा हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
निर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि मत दिन पाउने व्यवस्था गरिएको छ । संक्रमित मतदाताको लागि छुट्टै मतदान स्थान तय गरिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । मतदानका लागि आवश्यक पूर्वाधार निर्माण, मतदान केन्द्र स्थापनाका साथै स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मतदान गर्ने तयारी पूरा गरिएको उनले बताए ।
बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । विद्यालयको भवनमा ३ वटा मतदान केन्द्र रहनेछ । जसमा प्रदेशसभा सदस्य, स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष र कोरोना संक्रमित मतदाताको लागि छुट्टाछुट्टै मतदान गर्ने व्यवस्था मिलाएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए ।
निर्वाचन आयोगको निर्देशन अनुसार नै बागमती प्रदेशसभा सदस्य, प्रदेशका स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष र कोरोना संक्रमित मतदाताहरूको लागि छुट्टाछुट्टै मतदान गर्ने व्यवस्था गरिएको उनले बताए । मतदाताको स्वास्थ्य सुरक्षाका लागि मतदानस्थलमा मेडिकल डाक्टरसहितको हेल्थ डेक्स, एम्बुलेन्स सेवाको समेत व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठको भनाइ छ ।
तत्कालीन नेकपा माओवादीका तर्फबाट राष्ट्रियसभा सदस्य बनेका रामबहादुर थापा (बादल)ले पार्टी परित्याग गरी एमालेमा गएपछि राष्ट्रियसभा सदस्यको पद रिक्त भएको थियो । सोही रिक्त स्थानमा एमालेका तर्फबाट रामबहादुर थापा (बादल) नै उम्मेदवार बनेका छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा एमालेकै माधव नेपाल पक्षका डा. खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन् । त्यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का कृष्णबहादुर तामाङ पनि उपनिर्वाचनमा उम्मेदवार छन् ।
उपनिर्वाचनमा एक सय १० जना बागमती प्रदेशसभा सदस्य र १३ जिल्लाका एक सय १९ स्थानीय तहका दुइसय ३८ जना प्रमुख र उपप्रमुख गरी कुल ३ सय ४८ जना मतदाता रहनेछन् । प्रदेशसभाका एक सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ ।
मतदानको लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका बादल, माओवादी कांग्रेसलगायतको समर्थनमा उम्मेदवार बनेका डा. देवकोटा र नेमकिपाका उम्मेदवार तामाङ बुधबार नै हेटौंडा आएका थिए । एमालेतर्फका अधिकांश मतदाता बुधबार नै हेटौंडा आइसकेका छन् भने माओवादी–कांग्रेसतर्फका मतदाताहरु पनि बिहीबार बिहान हेटौंडा आइपुग्ने पार्टी स्रोतले जनाएको छ । निषेधाज्ञाको कारण हेटौंडाको होटलहरु बन्द रहेकोमा राष्ट्रियसभा उपनिर्वाचनलाई ध्यान दिँदै उम्मेदवारलगायत मतदाताको बसोबास तथा खानपिनको लागि होटल सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुमति दिएको छ ।