आधा दर्जन सवारी साधन पनि तोडफोड
कटारी नगरपालिकाका मेयर, उपमेयर र कर्मचारीका घर तोडफोड

उदयपुरको कटारी नगरपालिकाका मेयर, उपमेयर र कर्मचारीको घर तोडफोड भएको छ । नगरपालिकाले आफ्नो घर भत्काइदिएको भन्दै स्थानीयले बुधबार घर तोडफोड गर्नुका साथै सवारी साधनमा समेत क्षति पु-याएका हुन् । इलाका प्रशासन कार्यालय रहेको घरमा समेत तोडफोड भएको छ ।
कटारी नगरपालिका ४ जहडीमा रहेको सरकारी जग्गा अतिक्रमण गरी स्थानीयले घर बनाएका थिए । ती घरहरु भत्काउने क्रममा उत्तेजित भिडले मेयर ज्ञानेन्द्र श्रेष्ठ, उपमेयर भिमकुमारी राउत, वडाध्यक्ष कृष्णराज दनुवार, इन्जिनियर ओम मिश्रको घर, इलाका प्रशासन कार्यालय र मदन भण्डारी राजमार्गको साइड अफिसले प्रयोग गरेको घरमा तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
नेपाल सरकारको नाममा रहेको कटारी ४ को कित्तानम्बर १०८ र ७८ को २ बिघा १४ कठ्ठा जग्गामा स्थानीय सन्तबहादुर सुनवार, बालकृष्ण थापा, सुवास दनुवारलगायतको समुहले घर बनाउन थालेपछि संरक्षण गर्न खोज्दा घरमा तोडफोड गरिएको मेयर श्रेष्ठले बताए ।
“सरकारी जग्गामा पक्की घर बनाउँदै गर्दा हामीले पटक–पटक छलफल गरी रोक्न आदेश दियौँ,”उनले भने,“तर,मौखिक र लिखितरुपमा धेरै पटक भन्दापनि सुनवाइ नभएपछि डोजर लगाउन बाध्य भयौं ।” जग्गा संरक्षणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालयबाट समेत पत्रचार भएपछि नगर कार्यपालिकाको बैठकमा छलफल भएको र छलफलले संरक्षण गर्ने निर्णय गरेको मेयर श्रेष्ठले बताए ।
अतिक्रमण गरिएको जग्गा तीन लाख रुपैँयाँ धुरले विक्री गर्ने गरिएको र धमाधम घर बनाउन थालेको सूचना पाएपछि नगरपालिकाले बाध्य भएर भत्काउनु परेको उनले बताए । घर भत्काएसँगै झण्डै एक सय जनाको संख्यामा निस्किएको उत्तेजित भिडले आफु लगायत उपमेयर, वडाध्यक्ष, नगरपालिका र इलाका प्रशासन कार्यालयको घरको झ्यालमा ढुंगामुढा गरी तोडफोड भएको मेयर श्रेष्ठले बताए ।
तोडफोडबाट मेयरले चढ्दै आएको नयाँ टोयटा गाडी, छोराले प्रयोग गर्ने मोटरसाइकल, डोजर, दमकल, इलाका प्रशासन कार्यालयको स्कार्पियो गाडी, उपमेयरका श्रीमानले चढ्दै आएको स्कुटर, मोटरसाइकल, घरका सिसाहरु फुटेको नगरपालिकाका सूचना अधिकारी ओम मिश्रले बताए ।
जनप्रतिनिधि विरुद्ध नारावाजीसहित निस्किएको भिड तथा क्षति नियन्त्रणका लागि केही राउण्ड अश्रु ग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ । निषेधाज्ञाको समयमा मेयरको आदेशमा डोजर लगाएर घर भत्काएकाले प्रतिकार गरेको स्थानीयले बताएका छन् । असहज परिस्थितिमा घर भत्काएको भन्दै उनीहरुले जनप्रतिनिधिका बिरुद्धमा चर्का नाराबाजी समेत गरेका थिए ।