Logo

जथाभावी आइसोलेसन सेन्टर नखोल्न आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ ।
कोभिड–१९ संक्रमणका बिरामीको संख्या बढेसँगै विभिन्न संघ–संस्थाहरूले आइसोलेसन सेन्टर खोल्ने खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड बिनाका आइसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ । ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिण्डरलगायत सामग्री राखेर आइसोलेसन सेन्टर खोल्ने होडबाजी जस्तो नै चल्न थालेपछि मन्त्रालयले जथाभावी आइसोलेसन सेन्टर नखोल्न सचेत गराएको हो ।
न्युज एजेन्सी नेपालसँग मंगलबार कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले आइसोलेसन सेन्टर खोल्दै गर्दा आवश्यक स्वास्थ्यकर्मीहरू, उपचारमा चाहिने उपकरणहरू, औषधीहरू र क्रिटिकल केयरका लागि लैजाने अस्पतालहरूको समन्वय, प्रत्यक्ष निगरानीका सुनिश्चितता गर्न सुझाव दिए । उनले सामान्य भौतिक पूर्वाधारको व्यवस्थामात्रै गरेर स्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने गरी बनाइएका आइसोलेसन केन्द्रहरू स्वास्थ्यका हिसावले अर्को घातक हुनसक्ने चेतावनी दिए ।
उनले भने, “पछिल्लो समय आइसोलेसनको नाममा मानिसरहरू जम्मा गरेर बस्न मिल्ने ठाउँहरू धेरै व्यवस्थापन गर्न खोजिएको देखिन्छ । तर, हामी सबैले बुझ्नुपर्ने विषय चाहिँ मानिसहरू आइसोलेसनमा आफ्नो घरको छुट्ै कोठामा बस्नुभन्दा उपयुक्त अर्को ठाउँ कहीँ पनि हुँदैन । स्वास्थ्य जटिलता, अलिकति गाहे भयो भने हामीले जुन मापदण्ड पालना गर्न नसक्ने गरी बनाइएका आइसोलेसन केन्द्रहरूचाहिँ स्वास्थ्यका हिसावले अर्को घातक हुनसक्छ कि भन्ने डर छ । हामी संक्रमणको आशंकामा पुग्यौ भने अलग्गिएर बस्ने, परीक्षण गराउने,संक्रमण पुष्टि भइसकेपछि पनि आफ्नो घर परिवारको अरू सदस्यलाई नभेटेर छुट्टै बस्ने गर्याै र स्वास्थ्यमा कुनै समस्या भएन भने त्यो सबैभन्दा धेरै उपयुक्त हुन्छ । अर्को हामीले आईसोलेसन सेन्टरहरू स्थापना गर्दा स्वास्थ्यकर्मीहरू, त्यहाँ चाहिने उपकरणहरू, औषधीहरू र त्यहाँ गाहे हुने बित्तिकै क्रिटिकल केयरका लागि स्वास्थ्य जटिलताका लागि लैजाने अस्पतालहरूको समन्वय , प्रत्यक्ष निगरानी हुने गरी गरेनौ भने हामीलाई गाहे हुन्छ ।”
उनले टोल–टोलमा आइसोलेसन सेन्टरका नामा स्वास्थ्य सामग्रीहरूको ठूलो खपत हुने र साँच्ची आवश्यक पर्ने अस्पतालहरूमा उपचार सामग्रीको अभाव हुन सक्नेस्थिति सिर्जना भएकाले आफूहरू चिन्तित बनेको बताए । उनले आइसोलेसन सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार राख्नै पर्ने स्वास्थ्य सामग्री, जनशक्तिको व्यवस्थापन तथा त्यहाँबाट निस्कने फोहर व्यवस्थापनको विषय चुनौतीपुर्ण रहेको बताए ।
उनले भने, “पछिल्लो समयमा टोल टोलमा आइसोलेसन सेन्टरका नाममा स्वास्थ्य सामग्रीहरू ठूलो मात्रामा खपत हुने गरी खोलिराखेको अवस्थाले हामी अलिकति चिन्तित छौं । ती सामग्रीहरूको व्यवस्थापन पनि अर्को चुनौतीपुर्ण पाटो हो । त्यहाँबाट निस्कने फोहोर व्यवस्थापन अर्को चुनौतीपूर्ण पाटो हो । र, जहाँ क्रिटिकल केयरका लागि साँच्चै अस्पतालहरूमा ती सामग्रीहरू चाहिन्छ । ती जनशक्तिहरू छन् भने ती जनशक्तिहरू उपलब्ध गराएर सहयोग गर्न सकिन्छ । जहाँ विरामीको क्रिटिकल केयर गर्नुपर्ने आवश्यकता हुन्छ ती ठाउँहरूमा अझै गाहे हुन्छ ।”
डाक्टर अधिकारीले कोभिड–१९ को उपचार नभइरहेको अवस्थामा संक्रमण रोक्ने किसिमका गतिविधिमा विशेष ध्यान दिन पनि आग्रह गरे । उनले आइसोलेसन सेन्टरहरू खोल्दै अस्पताल जस्तो क्रिटिकल केयर गर्ने स्थानहरूमा अक्सिजनलगायत स्वास्थ्य उपचारका सामग्री अभाव हुने चुनौती पनि बढ्दै जाने भएकाले स्वास्थ्यकर्मीसहितको क्रिटिकल केयर र आवश्यक पर्दा अस्पतालहरूको समन्वय हुने व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याए ।
उनले भने, “अहिले पनि हामीसंग कोभिड–१९ को उपचार नभइरहेको अवस्थामा हामीले संक्रमण रोक्ने किसिमका गतिविधि बढी गर्नुपर्ने हुन्छ । आइसोलेसनको सन्दर्भमा घरमा उपयुक्त किसिमको ठाउँ हुन्जेलसम्म, घरमै आईसोलेसनमा बस्नुपर्ने हुन्छ । त्यसरी नहुने र स्वास्थ्य जटिलताहरू हुने भयो भने स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी हुने खालका स्थानहरू र स्वास्थ्यमा समस्या हुनेबित्तिकै क्रिटिकल केयरको सेवा पाउन सक्ने खालका व्यवस्था गरेर मात्रै त्यस्ता सेन्टरहरू सञ्चालन गरिदिनुहुन हामी सबैलाई अनुरोध गर्छौं । हामीले यसरी सेन्टरहरू खोल्दै जाने, अक्सिजनको माग बढ्दै जाने, यसो हुँदै जाँदा हामीलाई साँच्चै क्रिटिकल केसमा अस्पतालमा व्यवस्थापन गर्ने अक्सिजन लगायत अरु सामग्रीहरूमा निकै निकै चुनौतीपुर्ण हुँदै जाने अवस्था देखिएको छ । कृपया त्यसो नगरिदिनुहुन र क्रिटिकल केयरको उपचार हुने सुनिश्चित गरेर अस्पतालहरूको समन्वय हुने अवस्थामा र आइसोलेसन सेन्टरहरूमा स्वास्थ्यकर्मीहरूको सुनिश्चितता हुने गरी मात्रै गरिदिनुहुन हामी अनुरोध गर्छौं । ”
डाक्टर अधिकारीले संक्रमणलाई फैलन नदिन स्वास्थ्य सर्तकताका मापदण्ड कडाइका साथ अनुशासित भएर पालना गर्न सबैलाई अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्