Logo

अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुने

अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण कार्य सुरु हुने भएको छ । तत्काल नैजिल्ला अस्पताल अर्घाखाँचीमा अक्सिजन प्लान्ट निर्माण कार्य सुरु हुने अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले बताए । आर्थिक अभावका कारण अस्तव्यस्त रहेको अर्घाखाँची अस्पतालमा सुधारको प्रयास भइरहेको छ ।
अर्घाखाँचीमा अक्सिजन प्लान्ट निमार्णको निम्ति धेरै संघ–संस्थाहरू तयार छन् । जिल्ला अस्पतालका लागि संघीय सरकारबाट १ करोड विनियोजन हुने जानकारी आएको छ, प्रदेश सरकारबाट १५ लाख विनियोजन भईसकेको छ, अध्यक्ष भुसालले भने ।
अस्पतालमा अक्सिजन प्लान्ट राख्ने योजनाका लागि पत्रकार महासंघ अर्घाखाँचीले पनि अभियान सञ्चालन गरेको छ, महासंघका अध्यक्ष अशोक खनाल भन्छन् ‘सबै एकजुट भएर हातेमालो गरेर अगाडि बढेमा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट राख्ने योजना सफल हुन्छ ।’
अक्सिजन प्लान्ट निर्माण गर्नका लागि अर्घाखाँचीमा रहेका ६ वटै स्थानीय सरकारहरूले पनि सहमति जनाएका छन् । सन्धिखर्क नगरपालिका पहलमा बसैको बैठकले अक्सिजन प्लान्ट राख्ने गरी काम अगाडि बढाउन र स्थानीय सरकारको तर्फबाट हुने सहयोग गर्न प्रतिबद्ध छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीका निजी सचिव नारायण खत्री भन्छन्, ‘अक्सिन प्लान्ट राख्नका लागि सबै तहमा छलफल सकिएको छ, सरकारी तहबाट दीर्घकालका लागि ठूलो अक्सिजन प्लान्ट स्थापना गर्ने तथा तत्काल मध्यम स्तरको जडान गर्न विज्ञ मार्फत सुझाव आएको छ ।’
जिल्ला अस्पताल अर्घाखाँचीमा अक्सिजन प्लान्ट निमार्णका लागि स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयसँग समन्वय भइरहेको छ । अर्घाखाँचीलाई पर्याप्त हुने गरी अक्सिजन हुनेछ, छिटोभन्दा छिटो जडान गरी सञ्चालन हुनेछ, खत्रीले भने ।

प्रतिक्रिया दिनुहोस्