Logo

प्रजिअद्वारा आइसोलेसन अनुगमन

कोभिड–१९ पोजेटिभ भएकाहरूलाई उपचार गर्न तयार गरिएका आइसोलेसनको धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले अनुगमन गरेका छन् । मंगलबार पाँचवटा पालिकाले तयार गरेको आइसोलेसन अनुगमनका क्रममा स्रोत साधनले भ्याएसम्म सबै पालिकाले व्यवस्थित गर्नु गरेको प्रतिक्रिया दिएका छन् । जिल्ला–जिल्लाभित्र मेडिकल अक्सिजन कमी हुन नदिन माथिल्लो तहमा समन्वय भइरहेको प्रजिअ ढकालले बताए ।
जिल्लाभर १३ स्थानीय तह र धादिङ अस्पतालले तयार पारेका आइसोलेसनमध्ये छ स्थानीय तह र धादिङ अस्पतालको आइसोलेसनमा ३६ जना स्वास्थ्य लाभ गरिरहेकाछन् । तीमध्ये धादिङ अस्पतालमा १७ जना, धुनीबेंसीमा एक जना, गल्छीमा दुई जना, त्रिपुरासुन्दरीमा तीन जना, रुवीभ्यालीमा दुई जना, बेनीघाट रोराङमा छ जना र गजुरीमा पाँच जना उपचार गराइरहेका छन् ।
जिल्ला सदरमुकाम समेत रहको नीलकण्ठ नगरपालिकामा अक्सिजन सिलिण्डर सातवटा, आइसोलेसन बेड ३० वटा छ भने एम्बुलेन्स तीनवटा सरकारीसहित आठवटा छ । जिल्लाकै अस्थायी कोभिड अस्पतालमा अक्सिजन सिलिण्डर एक सय, एम्बुलेन्स एकवटा, आइसोलेसन बेड ५० वटा रहेको छ । यसैगरी ज्वालामुखी गाँउपालिकामा अक्सिजन सिलिण्डर १० वटा, आइसोलेसन बेड पाँचवटा छ भने एम्बुलेन्स दुईवटा सरकारीसहित तीनवटा रहेको छ । सिद्धलेक गाँउपालिकामा अक्सिजन सिलिण्डर पाँचवटा, आइसोलेसन बेड १५ वटा छ भने एम्वुलेन्स दुईवटा रहेको छ ।
यसैगरी बेनीघाट रोराङ गाँउपालिकामा अक्सिजन सिलिण्डर १२ वटा, आइसोलेसन बेड २८ वटा रहेको छ भने एम्बुलेन्स एउटा सरकारीसहित १० वटा रहेको छ । यसै गाउँपालिकाको मलेखुमा रहेको राजमार्ग अस्पतालमा अक्सिजन सिलिण्डर आठ वटा, आइसोलेसन बेड ४ वटा र एउटा एम्बुलेन्स रहेको छ । यसैगरी गजुरी गाँउपालिकामा अक्सिजन सिलिण्डर २१ वटा, विद्युतीय अक्सिन्ट्रेटर एउटा, आइसोलेसन बेड ३० वटा छ भने एम्बुलेन्स तीनवटा सरकारीसहित आठवटा छ । यसै गाँउपालिकाको मलेखुमा रहेको टिचिङ अस्पतालमा आइसोलेसन बेड पाँचवटा र अक्सिजन सिलिण्डर १२ वटा छ ।
यसैगरी गल्छी गाँउपालिकामा अक्सिजन सिलिण्डर १६ वटा, आइसोलेसन बेड ५० वटा रहेको छ भने एम्वुलेन्स एउटा सरकारी रहेको छ । थाक्रे गाँउपालिकामा अक्सिजन सिलिण्डर १२ वटा, आइसोलेसन बेड १० वटा छ भने एम्बुलेन्स तीनवटा सरकारीसहित आठवटा रहेको छ । यसैगरी धुनिवेसी नगरपालिकामा अक्सिजन सिलिण्डर ६ वटा, आइसोलेसन बेड २० वटा छ भने एम्वुलेन्स तीन वटा सरकारीसहित आठ वटा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्