Logo

चौधरी फाउन्डेसन, नबिल बैंक र वीर अस्पतालबीच सम्झौता

चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शैयाको आइसियू वार्ड स्थापनाका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । फाउन्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गरे ।
त्यसैगरी वीर अस्पतालमै अक्सिजन प्लान्ट स्थापनाका लागि नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिलकेशरी शाह र नाम्स उपकुलपति शाहले समझदारी पत्रमा हस्ताक्षर गरे । सरकारले वीर अस्पताललाई ‘केन्द्रीय कोभिड अस्पताल’ घोषणा गरेको छ । वीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको आइसियू वार्ड बनाउन यस्तो पहल गरिएको हो ।
अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर÷प्रतिघण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ । चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले आक्रान्त मुलुकलाई जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सहयोग गर्न पाउँदा आफूहरु सन्तुष्ट रहेको बताए ।
नबिल बैंकका सीइओ शाहले अब केन्द्रीय कोभिड अस्पतालमा अक्सिजन अभाव नहुने वातावरण तयार हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्