प्रधानमन्त्रीले पुनः शपथ लिनु नपर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले निवेदकहरुले माग गरेबमोजिमको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
अन्तरिम आदेशसँगै प्रधानमन्त्री ओलीले दोहोर्याएर शपथ लिनु नपर्ने भएको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेतले राष्ट्रपतिको कार्यालय शीतलनिवास समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
निवेदकले नेपालको संविधानको धारा ७८ को आधारमा मन्त्रीमा नियुक्ति भएका पदाधिकारीको हकमा अन्तरिम आदेशको माग गरेको नदेखिँदा सो सम्बन्धमा विचार गरी रहनु नपर्ने सर्वोच्चको आदेशमा भनिएको छ ।
‘प्रधानमन्त्री र मन्त्रीहरुको शपथ सम्बन्धमा विचार गर्दा विपक्षीहरुबाट लिखित जवाफ परेपछि रिट निवेदनमा अन्तिम निर्णय हुँदा निरुपण हुने नै भएकोले हाल माग बमोजिम अन्तरिम आदेश जारी गर्नु परेन,’ आदेशमा उल्लेख छ ।