Logo

टाउटे आँधीको प्रभाव बिहीबारसम्म


अरब सागरमा विकसित भएको सामुद्रिक टाउटे आँधीको प्रभाव नेपालमा पनि पर्न थालेको छ । सामुद्रिक आँधीका कारण मंगलबार देशभरको मौसम बदली हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात पर्न थालेको र यसको प्रभाव बिहीबारसम्म नै रहने मौसम पूर्वानुमान माहाशाखाले बताएको छ ।
सामुन्द्रिक आँधीको प्रभाव बुधबारदेखि अझै बढी पर्ने भएकाले उच्च सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । आँधीका कारण सगरमाथासहितको हिमाल आरोहण समेत प्रभावित भएको छ । मौसम खराब रहँदा गत बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, काठमाडौंभन्दा पश्चिम भागमा सामुन्द्रिक आँधीको असर देखिएन थालेको छ ।
समुद्री आँधी घुम्ने क्रममा त्यसको बाहिरी भागबाट उछिट्टिएका बादलहरू उपत्यकाभन्दा पश्चिमतर्फको आकाशमा देखिएको महाशाखाको भनाइ छ । यो प्रभाव बिहीबारसम्म नै रहने माहाशाखाकी मौसमविद् शान्ती कँडेलले जानकारी गराइन् । “सामुन्द्रिक आँधीको प्रभाव मंगलवार पनि मुलुकका अधिकांश स्थानमा परेको छ, आगामी बिहीबारसम्म नै यसको असर देखिने छ,” उनले भनिन्, “सुदूरपश्चिममा बुधबार भारी बर्षाको सम्भावना छ, कर्णाली, गण्डकी, लुम्बीनी प्रदेशमा बढी असर पुग्ने छ । हावाहुरीका साथ भारी बर्षाको सम्भावना छ, उच्च हिमाली क्षेत्रमा हिममात हुन्छ ।”
उनका अनुसार सामुन्द्रिक आँधीका कारण मौसममा बदली भने सबै तिर हुनेछ । स्थानीय वायु पनि मिसिने भएर हावा हुरी सहितको बर्षा हुने कँडेलको भनाइ छ । उनले यो अवस्थामा सतर्कता अपनाउन आग्रह गरेकी छिन् । उक्त चक्रवातको प्रत्यक्ष प्रभाव भारतको राजस्थान, गुजरात लगायतका स्थानमा परेको छ । चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे पनि केही असर नेपालको भूभागमा पर्ने मौसमविद्हरुले बताएका छन् । अरब सागरको आँधीको प्रभाव नेपालमा पनि देखिने भएको हुँदा तत्काल हिमाल आरोहण नगर्न–नगराउन मौसमविद्ले सुझाव दिएका छन् ।
पूर्वीमध्य अरब सागरमा विकसित शक्तिशाली समुद्री आँधी टाउटेको प्रभाव नेपालको हिमालय क्षेत्रमा बढी परेकाले आरणका गतिविधि रोक्न पनि मौसमविद्ले सुझाव दिएका छन् । भारतका पश्चिमी राज्यहरुमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र दुई लाख मानिस विस्थापित भएको भारतीय संचार माध्यमहरुले बताएका छन् । शक्तिशाली भनिएको टाउटे तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा बज्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्