समृद्धिको दिशामा रौतहट «

समृद्धिको दिशामा रौतहट

किसानहरूलाई चाहिने मल, बीउ वीजनमा सरकारले सहुलियत दिननसक्दा तथा किसानहरूले उत्पादन गरेको अन्नको उचित मूल्य नपाउँदा किसानहरूले अन्य विकल्पहरू खोज्न थालेका छन् । मध्यतराईको यस भूगोल मुलुककै सबैभन्दा समृद्ध प्रदेश बन्ने सक्ने सम्भवना छ ।

रौतहट –उद्योग कलकारखाना, यातायात लगायतमा अग्रस्थान ओगटेको २ नम्बर प्रदेश शैक्षिक तथा विकास निर्माणमा भने अन्य प्रदेशभन्दा केही तल देखिएको छ । देशमा संघीयता संस्थागत भएपछि शासन संघीय प्रणालीअन्तर्गत राज्य सञ्चालन सुरु भइसकेको अवस्थामा समृद्ध प्रदेशको कल्पनामा अगाडि बढेको २ नम्बर प्रदेश सरकारले शिक्षालाई विशेष जोड दिएको छ । त्यसै पनि मुख्यमन्त्री लालबाबु राउत गद्दीले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई अगाडि सारेका छन् ।
जबसम्म छोरीहरू शिक्षित हुदैनन तवसम्म उनीहरूलाई बचाउन समस्या हुने भएकाले पनि प्रदेश सरकारले यसलाई अगाडि ल्याएको उनले बताए । निर्वाचनपश्चात सातवटै प्रदेशमा संघीय प्रणालीअन्तर्गत राज्य सञ्चालन सुरु भएपछि प्रदेशको संरचनाअनुसार सामर्थमा बलियो वा कमजोर भन्ने बिषयले चर्चा पाएको छ । सात प्रदेशमध्ये प्रदेश नम्बर २ कृषिमा आधारित जीवनशैली भएकाले अन्नभण्डारको रूपमा परिचित भएपनि पछिल्लो समयमा कृषिमा देखिएको समस्यालाई सरकारले समाधान गर्न नसक्दा किसानहरू बैकल्पिक पेशातर्फ आकर्षित हुन थालेका छन् ।
किसानहरूलाई चाहिने मल, बीउ वीजनमा सरकारले सहुलियत दिननसक्दा तथा किसानहरूले उत्पादन गरेको अन्नको उचित मूल्य नपाउँदा किसानहरूले अन्य विकल्पहरू खोज्न थालेका छन् । मध्यतराईको यस भूगोल मुलुककै सबैभन्दा समृद्ध प्रदेश बन्ने सक्ने सम्भवना छ । मानवस्रोत, प्राकृतिक स्रोत, पर्यटकीय सम्भावना, कृषि, धार्मिक पर्यटनजस्ता थुप्रै सम्भावना भएकाले स्रोत र साधनका दृष्टिले यस प्रदेश धनी भएको जानकारहरू बताँउछन् । अन्न उत्पादनको उर्वरभूमि कारण यस क्षेत्रमा अधिकांश कृषिमा नै आधारित रहेकाले प्रदेशको प्रमुख आर्थिक विशेषता कृषि पनि पर्छ । गहुँ, दलहन, तेलहन, फलफूल र उखुलगायत नगदे बाली पनि यस क्षेत्रमा उल्लेख्य परिमाणमा उत्पादन हुने गरेको छ । त्यति मात्र नभई माछापोखरी र आँपको बगैंचाले यस प्रदेशको स्रोतलाई झन् गतिलो बनाएको छ । तर, सरकारले किसानहरूको मागलाई सम्बोधन गर्दै कृषि उपजको उचित बजार र मूल्य निर्धारण गर्न सक्ने हो भने २ नम्बर प्रदेश कृषिमा सदैव अब्बल रहनसक्ने स्थानीयको भनाइ छ ।
देशभरि कुल १४ लाख २० हजार हेक्टर खेतीयोग्य जमिन छ जसमध्ये प्रदेश २ मा कुल ३ लाख २६ हजार हेक्टर खेतीयोग्य जमिन पर्छ । रौतहटमा भने १ लाख १२ हजार ६ सय हेक्टर खेति योग्य जमिन छ त्यसमध्ये झण्डै ४९ हजार ३ सय हेक्टर मा धान खेती हुने गर्छ । प्रदेश २ को शतप्रतिशत भूभागमा पर्याप्त सिँचाइ उपलब्ध हुने हो भने धान उत्पादन करिब तीन गुणाले बढ्ने कृषिविज्ञहरू बताउँछन् । कृषि विकास मन्त्रालयको तथ्यांक अनुसार प्रदेश नम्बर २ अन्तर्गतका जिल्लमा ३३ हजार ४ सय १७ टन दलहन उत्पादन हुन्छ । जसमध्ये रौतहटबाट ६ हजार ६ सय ५५ हेक्टरमा हुने र ६१ हजार २ सय २६ मेट्रिक टन उत्पादन हुने गरेको छ । देशभर वार्षिक उत्पादन भने १ लाख ९४ हजार ५ सय ३६ टन हुन्छ । रौतहटमा भने १५ हजार ५ सय हेक्टर क्षेत्रफलमा गहुँ हुने र ४९ हजार ६ सय मेट्रिक टन उत्पादन हुने गरेको कृषि कार्यालयको तथ्यांकमा उल्लेख छ । रौतहटमा सहित प्रदेश २ का जिल्लामा २१ हजार ४ सय ५९ टन माछा उत्पादन कुल राष्ट्रिय उत्पादनको ५७ प्रतिशतभन्दा बढी हो । प्रदेश नम्बर २ अन्तर्गत पर्ने रौतहटमा १८ स्थानीय तह छ । १६ वटा नगरपालिका र दुइटा गाउँपालिका रहेको यस जिल्लाबाट मसुरो, धान र गहँु खाध्यन्न निकासी हुने गरेको छ ।
पर्यटन हबको सम्भावना
प्रदेश २ को रौतहट पर्यटकीय सम्भावना बढी भएको जिल्ला हो । रौतहटका नुनथर, कृण प्रणामी मन्दिर नजरपुर, पौराई ब्रम्हस्थान,रामचुवा डाँडा सहिदस्मृति पार्क, शिवनगर मन्दिर, बडेवाताल, राजदेवी मन्दिर पर्यटकीय स्थल हुन् । यी धार्मिक तथा पर्यटकिय स्थलमा आन्तरिक पर्यटक भित्रिन थालेका छन् । प्राकृतिक सुन्दरता स्वच्छ वातावरण हावापानी भएको र चुरे पहाडको दक्षिणमा हरियो वनजंगलको विचमा अवस्थित छ नुनथर । सर्लाही, सिन्धुली र मकवानपुर जिल्लाको संगमको रुपमा रहेका नुनथरमा आन्तरीक तथा बाह्य पर्यटकको आर्कषणको केन्द्र बिन्दु बन्दै गइरहेको छ ।
पवित्र बाग्मती नदीको किनारमा रहेको सो पर्यटन केन्द्रमा देश तथा बिदेशका पर्यटकहरूको आगमन हुने गरेको छ । विषेश गरी साउन महिना भरी,नयाँ वर्ष, बिदाका दिनहरू र अन्य खास मौकामा यस क्षेत्रमा पर्यटकहरूको चाप अत्याधिक हुने गरेको छ । रौतहटकै पौराई ब्रम्हस्थानको महत्व उत्तिकै छ । राणाप्रधानमन्त्री जंगबहादुर राणा शिकार खेल्ने क्रममा पौराईको घनाजंगलमा आएको अवस्थामा आफुसंग आएका सेनाहरू आपूmसँग छुट्टिएको अवस्थामा तनावमा रहेका जंगबहादुरले नजिकै रहेको पौराई ब्रम्हस्थानमा गएर आफ्नो समस्या बताएपछि केही समयमा सेनाहरू भेटिएको किंवबन्ती रहेकाले पनि यो स्थान महत्वपूर्ण रहेको स्थानीय श्रीराम न्यौपानेले बताए । यस क्षेत्रमा घुम्न र वनभोजका लागी उपयुक्त स्थान मानिन्छ । किम्वदन्ती अनुरा यस क्षेत्रको पानी नुनिलो हुने र यसले चर्म रोग निको हुने जनविश्वास छ । नुनथरको पश्चिम उत्तरको कुनामा रहेको अग्लो रामचुवा डाँडाबाट सूर्योदय तथा साँझको सूर्यास्तको आकर्षक दृश्य देख्न सकिन्छ । जसले आन्तरिक पर्यटकलाई लोभ आउने गरेको छ । धार्मिक तथा ऐतिहासिक मौलिकता बोकेका स्थलको पहिचान गरी प्रवद्र्धन गरेमा आन्तरिक आय स्रोतमा वृद्धि हुने देखिन्छ । त्यति मात्र नभई प्रदेश अन्तर्गत बाराको गढीमाई मन्दिर धार्मिक पर्यटकका लागि महत्ववपूर्ण देवस्थल हो । सर्लाहीका सागरनाथ, बाबाधाम, हरिहर महादेव प्रमुख पर्यटकीय स्थल हुन् । महोत्तरीको जलेश्वरनाथ महादेव टुटेश्वरनाथ महादेव, आदि पर्यटकीय तथा धार्मिक स्थल प्रमुख हुन् । धनुषाका रामजानकी मन्दिर, दुलहादुलही मन्दिर, जनक मन्दिर विश्वकै हिन्दु धर्मावलम्बीका पवित्र तीर्थस्थल हुन् । पर्सादेखि सप्तरीसम्म रहेका धार्मिक स्थलहरूलाई धार्मिक पर्यटनका रूपमा विकास गरेमा प्रदेश नम्वर २ पर्यटकीय क्षेत्रबाट समृद्ध बन्ने देखिन्छ ।
उता महेन्द्र राजमार्गको चन्द्रनिगाहपुर चोकबाट करिब ५ किलोमिटर दक्षिण गौर रोडसँगै रहेको सन्तपुरस्थित एकिकृत नमुना बस्ती पनि पर्यटकको आकर्षकको केन्द्र बनेको छ । चन्द्रपुर नगरपालिका–८ को सन्तपुरमा धुर्मुस सुन्तली फाउन्डेसनले चौथो परियोजनाअन्तर्गत बाढी पीडित दलित समुदायका लागि एकीकृत नमुना सन्तपुर बस्ती निर्माण गरिएको हो । २०७४ साल माघ २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहकाबीच हस्तान्तरण गरेका हुन् । चर्चित कलाकार सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली द्धयको पहलमा रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा बाढीपीडित दलित परिवारहरूको लागी भूकम्प प्रतिधोत्मक सुबिधा सम्पन्न ४७ वटा घर निमार्ण भएको हो ।
सो नमुना बस्तीमा सामुदायिक भवन,मन्दिर,क्लबघर,भ्यु टावर निर्माण भएका छन् । गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुसले सुबिधा सम्पन्न घर बनाइदिएका हुन । करिब ५ करोड २४ लाखको लागतमा निर्माण भएको सो बस्ती कलाकार धुर्मुस दिनरात आफैं खटेर काम गदै आएका थिए । यो एकीकृत नमुना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनको यो चौथो परियोजना हो । ४७ सुबिधा सम्पन्न घर, सामुदायिक भवन,बाल कक्षा, भ्यूटावरलगायतको संरचना १ सय १४ दिनमा निर्माण कार्य गरी सम्पन्न भएको थियो । आफूले सपनामा पनि पक्का घरमा बस्ने नसोचेका दलित समुदायका लागि धुर्मुस र सुन्तली भगवान बनेर उत्पति भएको स्थानीयले बताउँदै आएका छन् ।
दलित बस्तीको वर्षौंदेखि पुरानो र जीर्ण झुपडीमा बस्दै आएका ४७ घर दलित परिवारले माघ २४ गते पछाडिदेखि सुबिधायुक्त घरमा बस्न पाएका हुन् । सो बस्तीमा बैठक बस्नको लागी सभा कक्ष, स–साना बालबालिका अध्ययन गर्नको लागी प्राथामिक बिद्यालय,क्लब घर लगायतका भौतिक पुर्वाधारहरू निर्माण भएका छन् । हिजोआज सो बस्ती हेर्न आगन्तुकहरूको भीड लाग्ने गरेको छ । बस्तीभित्र बनाइएको टावरबाट चन्द्रपुर क्षेत्रको पनि अबलोकन गर्न सकिनेछ । देशका बिभिन्न जिल्लाबाट भ्रमण गर्ने टोलीले उक्त गाउँको अवलोकन गर्ने गरेको व्यवस्थापन समितिका अध्यक्ष सत्य नारायण माझीले बताए । दैनिक ५० देखि २ सय जनासम्म नमुना बस्ती अबलोकन गर्न आउने गरेको उनले जानकारी दिए । नमुना बस्ती प्रवेशमा ५० रुपैया सेवा शुल्क लिने गरेको अध्यक्ष माझीले जानकारी दिए । सो उठेको शुल्कले नमुना बस्तीको सरसफाइ तथा जीविकोपार्जनका लागि योजना बनाइएको उनले बताए । अहिले ७ लाखभन्दा बढी रकम संकलन भएको अध्यक्ष माझीले बताए ।
कृषि उद्योगको स्थापना
भौगोलिक अवस्थिति र समथर भूमिले गर्दा प्रदेश २ मा उद्योग स्थापनाका सहज सम्भावना छ । भारतसँग सीमा जोडिएकाले कच्चा पदार्थ आयात र उद्योगका उत्पादन निर्यातका लागि सहज हुने देखिन्छ । कृषि आधारित उद्योगको सम्भावना बढी रहेकाले यस प्रदेशमा कृषि उद्योग स्थापन भएमा कृषिमा समृद्ध हुन सक्छ । देशलाई समृद्धिमा लैजान कृषिको व्यवसायीकरण र आधुनिकीकरण आवश्यक रहकाले प्रदेशलाई देशकै समृद्ध र नमुना बनाउन कृषि उत्पादनका उद्योग स्थापना हुनुपर्नेमा यहाँका नेताहरूले जोड दिएका छन् । कृषिको बलमा यो प्रदेशलाई समृद्ध बनाउने प्रदेश सरकारको लक्ष्य छ । सरकारी नीति किसानमैत्री नभएर पनि यस क्षेत्रको समृद्धि ओझेलमा परेको छ । भर्खरै मात्र रौतहटको चन्द्रपुर नगरपालिका–७ र ८ मा रहेको बेतौनामा विशेष आर्थिक क्षेत्रसम्बन्धी सरोकारवाला अन्तरक्रिया गरिएको छ ।
नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, विशेष आर्थिक क्षेत्र प्राधिकरणको आयोजनामा अन्तरक्रिया भएको हो । कार्यक्रममा बोल्दै विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले विशेष आर्थिक क्षेत्रका लागि रौतहट सम्भवनाको अध्ययन भइरहेको बताए । लगानी कर्तालाइ्र्र निर्यातमूलक उद्योगमा लगानी गर्न आकर्षित गर्ने, विदेशी पुँजी तथा यान्त्रिक उपकरण भिœयाउन, आर्थिक समृद्ध ल्याउन, रोजगारीको अवसर सिर्जना गर्नका लागि विशेष आर्थिक क्षेत्र (सेज) को आवश्यता रहेको बताए । विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले पनि रौतहटको बेतौना सेज स्थापनाका लागि उपयुक्त रहेको बताइन् । उनले रौतहटलगायत समग्र २ नम्बर प्रदेशको लागि यहा स्थापना हुने उद्योग, कलकारखानाले ठूलो आर्थिक फड्को मार्ने बताइन् ।
२ नम्बर प्रदेशमा कृषिको पर्याप्त सम्भावना रहे पनि समृद्धिका लागि औद्योगिकीकरण आवश्यक रहेको देखिन्छ । सरकारले रसायनिक मलमा अनुदान नदिँदा महँगो हुने र भारततर्फ राज्यले अनुदान दिएकाले सस्तोमा खरिद किसान भारततर्फ जाने गरेका छन् । कृषिको निरुत्साहनबाट कृषिजन्य उत्पादन कहिल्यै बढाउन नसकिने भएकाले समृद्ध प्रदेश निर्माण गर्न कृषिमा नै लगानीको आवश्यक्ता छ । हरेक बर्ष उखु किसानहरूको समस्याले ग्रस्त रहेको यो प्रदेशमा उखु किसानहरूको समस्या पनि प्रमुख छ । यसलाई समाधान गर्न प्रदेश सरकारले उच्च स्तरीय समिति बनाएर समस्या समाधान गर्नुपर्ने उखु किसानहरूको माग रहेको छ । उखु किसानले राजनिति गर्नुका साथै उखु उद्योगलाई नदिदा सञ्चालित उधोग समेत बन्दको अवस्थामा छ । २०४९ सालमा रौतहटको महम्दपुर गरुडामा स्थापना भएको श्रीराम सुगर मिल्सले २०५१ सालबाट उखु क्रसिङ सुरु गरेको हो । अहिले सम्म ३ करोड क्विन्टल उखु क्रसिङ गरिसकेको मिल बन्द हुने अवस्था सम्म पुगिसकेको छ । त्यसको मूल कारण राजनिति नै भएको बुझाई छ । यस सरकारले उद्योगमैत्री वातारण निर्माण गरी कृषि उत्पादनको उधोगलाई प्रात्साहन दिनुपर्छ । पछिल्लो समयमा रौतहटको कटहरिया नगरपालिका ९ डुमरियामा बाबा बैजनाथ चिनी उद्योग सञ्चालनको तयारीमा छ । १ अर्ब २५ करोडको लागतमा बाबा बैजनाथ चिनी उद्योग सञ्चालनमा आउन लागेको छ । उद्योगले आगामी सिजनदेखि उखु क्रसिङ सुरु गर्ने जनाएको छ । योसँगै चन्द्रपुर नगरपालिका–९ बालचनपुरमा गोदावरी स्टिल इन्डस्ट्रिज तथा एभरेस्ट डिस्टिलरी सञ्चालनमा आउन लागेको हो ।
सामाजिक तथा आर्थिक जीवनस्तर सुधार ल्याउन उद्योगको महत्वपूर्ण भूमिका हुन्छ । घरेलु तथा साना उद्योग कार्यालय गौरका अनुसार ९ सय ४३ वटा सेवामूलक, ७ सय ३० उत्पादनमूलक , २ सय २९ निर्माणमूलक, कृषि तथा वनजन्य १ सय ५७ र पर्यटनजन्य ९४ दर्ता भएका छन् । यो वर्षको साउनदेखि चैतसम्म ५ सय ८७ वटा नयाँ उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा ५ सय ९४ वटा नयाँ उद्योग दर्ता भएका थिए ।अहिले १ सय ३२ वटा इँट्टा उद्योगको संख्या पुगेको छ ।
कृषिमा चुनौती
रौतहटको गौर भन्सार कार्यालयबाट कुनै समयमा धानसहितको खाध्यान्न भारततर्फ निर्यात हुन्थ्यो । अहिले भने यो नाकाबाट धान तथा अन्य खाध्यान्न आयात हुने गरेको छ । त्यति वेला प्रयाप्त खेती योग्य जमिनमा उब्जाउ हुने गर्दथे । अहिले जमिन विनाससँगै किसानको कृषिप्रतिको आकर्षण घट्नु र परनिर्भता बढ्नले पनि उव्जाउ घट्दै गएको छ । सीमावर्ती क्षेत्रमा बासोबास गर्नहरू उतैको धानचामलमा बढी निर्भर हुने गरेका छन् । मधेसको उर्वर जमिनमा घडेरी तथा घर बन्न थालेका छन् । बीउ विजन तथा खेति गर्ने आवश्यक मजदुर तथा स्रोत साधन समेत पाउन मुस्किल भएपछि खेती घट्दै गएको छ । जसका कारण भारतबाट नै आयतित चामल भान्सा कोठा सम्म पुग्ने गरेको छ । दिन प्रदेश सरकारको नीति तथा कार्यक्रम किसान मैत्री र कृषिलाई बढवा दिने हुनुपर्छ । यस प्रदेशको जमिनमा ३ बाली धान, मकै जस्ता खाध्यान्न बाली लाउन सकिन्छ । यातायातको सुगमतासँगै सिँचाइका लागि यहाँ सजिलो र कम खर्चिलो भएकाले कृषि उत्पादनमा वृद्धिसँगै बजारीकरण समस्या छैन् ।
महिला खेलकुदमा अब्बल
रौतहट जिल्ला पछिल्लो समयमा महिला फुटवल खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल भएको छ । महिला फुटबलमा विभागीय टिमकै हाराहारीमा खेलिरहेका रौतहट जिल्लाका महिला फुटबल खेलाडीहरू यतिखेर विभागीय टिममै आबद्ध भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा मात्र रौतहटका करिब ३ दर्जनभन्दा बढी महिला फुटबल खेलाडीहरू आवद्ध रहेका छन् । यतिखेर रौतहटका महिला फुटवल खेलाडीहरूको सवै उमेर समूहमा बर्चश्व छ । महिला खेलाडी उत्पादनको पावर हाउस मानिएको रौतहटलाई एन्फाले महिला फुटबल एकेडेमी निर्माण गर्ने भएपछि अझै यस क्षेत्रमा महिला फुटवल खेलाडीको उत्पादन हुने रौतहट फुटबल संघका महासचिव मधुसुदन धितालले बताए । स्वर्गीय शेरबहादुर दर्लामीको देनकै कारण आज रौतहटले महिला फुटबल खेलमा यतिसम्म प्रगति गर्न सकेको उनको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस्