सिद्धिचरण राजमार्गको कटारी–घुर्मी खण्डमा सधैं सास्ती «

सिद्धिचरण राजमार्गको कटारी–घुर्मी खण्डमा सधैं सास्ती

युगकवि सिद्धिचरण श्रेष्ठको नाममा नामाकरण गरिएको उदयपुरको कटारीदेखि ओखलढुंगा सदरमुकामसम्मको सिद्धिचरण राजमार्गको कटारी–घुर्मी खण्ड ट्रयाक खुलेको २० वर्ष बितिसक्दा पनि जस्ताको तस्तै छ । घुर्मीदेखि ओखलढुंगासम्मको सडक कालोपत्रे भइसके पनि ४६ किलोमिटर लामो यो खण्डमा भने सर्वसाधारणले यात्रा गर्दा सधंै सास्ती खेप्नु परेको छ ।
साँघुरो र कच्ची सडकमा हिलो, धुँवा, धुलो र खाल्डाखुल्डी हुँदा यात्रुले सास्ती खेप्नु परेको हो । हरेक वर्षा याममा आउने बाढीपहिरोले सडक झन जीर्ण हँुदै गएपछि सर्वसाधारणले सास्ती खेप्नु परेको छ । तराई मधेसलाई सगरमाथासँंग जोडने एकमात्र छोटो दूरीको यो राजर्माग जीर्ण हँुदा सर्वसाधारणले यसरी सधैको सास्ती खोप्नु परेको हो ।
कटारीबजारको भाग्य र भविष्य मानिने राजमार्ग जीर्ण हुँदा यहाँका व्यवसायीसमेत ठूलो मारमा परेका छन् । वर्षेनी करोडौं रुपैयाँ खर्चेर राजमार्गको मर्मत सम्भार गरिए पनि त्यो दिगो हुनसकेको छैन । सडक दिगो नहुँदा मुख्य व्यापारिक केन्द्र कटारी बजारको व्यापार व्यवसायसमेत चौपट भएको छ ।
राजर्मागको स्तरोन्नतिका लागि पटकपटक संघीय सरकारको ध्यानार्कषण गराइए पनि अहिलेसम्म कुनै काम हुनसकेको छैन । स्थानीय तह, उद्योग वाणिज्य संघ, स्थानीय÷प्रदेश÷संघ सरकारका प्रनिनिधि, नगरपालिकाका पदाधिकारी÷प्रदेश सभा सदस्य÷ प्रतिनिधिसभा सदस्यलगायतले स्तरोन्नति गरिदिन भन्दै संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । तर, सोलुुखुम्बु, ओखलढुंगा र खोटाङलाई कटारी बजार र तराईसँंग जोड्ने सिद्धिचरण राजमार्गको कटारी–घुर्मी खण्डको अवस्था जस्ताको तस्तै छ ।
मिर्चैयादेखि ओलढुगाको हर्कपुरसम्म ७२ किलोमिटर सडक पर्छ । यस खण्डको अधिकांश भाग जीर्ण हुँदा समस्या भएको छ । सवारी आवागमनमा समस्या हुनेगरी राजमार्ग जीर्ण हँुुदा सवारी साधन सञ्चालनमा कठिनाइ छ । “राजर्मागको मिर्चैया÷कटारी÷हर्कपुर खण्डको ९० प्रतिशत क्षेत्रमा सडक भत्किएको छ,” कटारी बजारका रामकुमार राई भन्छन्, “ठूलाठूला खाल्डो परेका कारण सवारी आवागमनमा समस्या छ ।” दैनिक सयौंको सख्यामा सवारी आवतजावत गर्ने युग कविको नाममा नामाकरण गरिएको सडकको अवस्था जीर्ण बन्दै गएकोमा स्थानीय बासिन्दा चिन्तित भएको उनले बताए ।
उदयपुरको माथिल्लो पहाडी क्षेत्रसँगै सोलु, ओखलढुंगा र खोटाङका लागि सिद्धिचरण राजर्माग हँुदै सर्वसाधारणले आवतजावत गर्नुपर्ने हुन्छ । खासगरी मुलुकको पूर्वीभाग र छिमेकी देश भारतबाट कटारी हुँदै आउने सर्वसाधारणले सिद्धिचरण राजमार्ग भएर नै आवतजावत गर्नुपर्ने सर्वसाधारण बताउँछन् । राजमार्ग जीर्ण हुँदा सर्वसाधारणले ठूलो सास्ती र बाध्यता खेप्नु परिरहेको उनीहरूको गुनासो छ ।
सडकमा एकतर्फी यात्रा गर्नसमेत समस्या छ । तर दोहोरो सवारीसाधन सञ्चालन हुने यो खण्डका अधिकांश भाग भत्किएकाले पछिल्लो सयम दैनिक जस्तो साना ठूला दुर्घटना हुने गरेका छन् । सडक मर्मत र पुनर्निर्माण गर्ने भनिए पनि हुन नसक्दा थप जीर्ण बनेको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले बताए ।
“युगकवि सिद्धिचरण श्रेष्ठका नामबाट नामाकरण गरिएको यो राजमार्ग व्यापारी, धार्मिक, संस्कृत र पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण राजर्माग हो,” उनले भने, “सोलु, ओखलढुंगा र खोटाङको मुख्य व्यापारी केन्द्र कटारी र तराईका अन्य बजार भएकाले पनि यसलाई महत्वूर्ण मानिन्छ ।” सगरमाथाको प्रवेशद्वार, पूर्वको पशुपति भनेर चिनिने हलेसी महादेव र खुम्बु क्षेत्रसम्म पर्यटक जाने राजमार्ग भए पनि यसको विकासमा कसैले ध्यान नदिएको उनको गुनासो छ ।
पूर्वी नेपालसँंगै भारत, भुटान, बंगलादेशलगायतका पर्यटक सगरमाथा क्षेत्र र पूर्वको पशुपति भनेर चिनिने खोटाङको हलेसी जाने सिद्धिचरण राजमार्ग नै छोटो बाटो हो । तर, यो जीर्ण भएपछि पूर्वी नेपालसंँगै भारत, भुटान, बंगलादेश लगायतबाट आउने पर्यटक हलेसी र विश्वको सर्वोच शिखर सगरमाथा रहेको खुम्बु क्षेत्र जानका लागि मिर्चैया–बर्दिबास हँुदै खुर्कोट–घुर्मी १ सय ५० किलोमिटर यात्रा गर्न बाध्य छन् । समय र दूरीको दृष्टिकोणले झण्डै दोब्बर यात्रा तय गर्नुपर्दा सर्वसाधारणले धेरै दुःख पाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्