Logo

कर्णाली प्रदेश अस्पताललाई संघ मातहत लिने तयारी


कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई संघ मातहतमा लिने तयारी गरिएको छ ।
कोरोना भाइरस संक्रमितको उपचारमा प्रभावकारी व्यवस्थापन गर्न नसकेको भन्दै प्रदेश अस्पताललाई पुनः संघीय सरकार मातहत लिने तयारी गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई संघ मातहतमा लिने निर्णयका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरी पेस गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको बैठकले उक्त निर्णय गरेको छ । निर्णाय तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश सरकारको मागबमोजिम प्रदेशलाई जिम्मा लगाएको थियो । तर प्रदेश अस्पताल सुर्खेतप्रति कर्णाली प्रदेश सरकार महामारीको बीचमा गैरजिम्मेवार बनेको भन्दै संघीय सरकारले प्रदेश अस्पताललाई आफ्नो मातहत लिने प्रकृया सुरू गरेको छ । कोरोना महामरीको बेला प्रदेश सरकारले अस्पतालप्रति देखाएको उदासिनता र गैरजिम्मेवार बनेकाले संघीय सरकारले अस्पताललाई आफ्नो मातहत लिने प्रकृया सुरू गरेको हो ।
अस्पताललाई संघ मातहतमा लिने निर्णय सार्वजनिक भएपछि कर्णाली प्रदेशका सरोकारवालाले भने मिश्रित प्रतिक्रिया दिएका छन् । कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले प्रदेश सरकारले देखाएको उदासिनताका कारण संघ सरकार मातहतमा जान लागेको भन्दै त्यसको विरोध गर्न नसकिने बताएका छन् । फेसबुकमा लेखेका छन्, ‘संघअन्तर्गत रहेको क्षेत्रीय अस्पताललाई प्रदेश सरकारअन्तर्गत ल्याउन हामी सबैले मेहेनत गरियो, आयो पनि’ कंँडेलले लेखेका छन्, ‘यसबीचमा प्रदेश सरकारले प्रदेश अस्पतालप्रति देखाएको उदासिनता र महामारीको बीचमा अस्पतालले गरेको गैरजिम्मेवार गतिविधिका कारण हाल संघीय सरकारले प्रदेश अस्पताललाई आफ्नो मातहत लिने प्रकृया सुरू गरेको जानकारी हुँदाहुँदै पनि विरोध गर्न सकिएन ।’ माओवादी केन्द्र निकट नेताले भने उक्त निर्णय संघीयता विरोधी भएको भनी सामाजिक सञ्जालमा लेखेका छन् । उनीहरूले कर्णालीमा माओवादीको सरकार भएकाले संघले अस्पताल खोस्ने निर्णय गरेको अथ्र्याउँदै यसलाई संघीयता विरोधी कदमका रूपमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्