बैंक तथा वित्तीय संस्थामार्फत राहत «

बैंक तथा वित्तीय संस्थामार्फत राहत

मौद्रिक नीतिको तेस्रो समीक्षा

  • निषेधाज्ञा अवधिभर पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने
  • छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित
  • निषेधाज्ञा सकिएको एक महिनासम्म लिलामी गर्न नपाउने
  • अक्सिजन प्लाण्टका लागि आधार दरमै कर्जा, ५० करोडसम्म विषेश पुनर्कर्जा
  • सिएसआरको रकम कोरोना नियन्त्रणमा


लकडाउनलगत्तै २०७७ चैतमा बैंकको व्याजमा १० प्रतिशत र व्याजदरमा २ प्रतिशत विन्दुले छुट दिएको नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै दोस्रो चरणको राहत घोषणा गरेको छ ।
कोभिड–१९ को दोस्रो लहर रोक्न जारी निषेधाज्ञाकै बीच मंगलबार २०७७-७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले हर्जाना, पेनाल्टी, धितो लिलामी जस्ता विषयमा सहुलियतका साथै कोरोनाले पार्ने प्रभाव नियन्त्रणका लागि विभिन्न मौद्रिक उपाय घोषणा गरेको हो ।
कोभिड दोस्रो लहरको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञाका कारण ४ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य हासिल गर्न समेत चुनौतीपूर्ण रहेको औल्याउँदै राष्ट्र बैंकले समीक्षामार्फत मौद्रिक सहजता र पुनरुत्थान लक्षित कार्यक्रमहरुलाई निरन्तरता दिँदै यसबाट वित्तीय स्थायित्वमा जोखिम आउन नदिने तर्फ पनि सजगता अपनाइने बताएको छ ।
मौद्रिक नीतिमार्फत आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक पुनरुत्थानको लागि वित्तीय साधनको उपलब्धतालाई सहजीकरण गरी आर्थिक वृद्धिमा सहयोग पु-याउन र कोभिड–१९ महामारीको उपचारमा सहजता ल्याउन यससँग सम्बन्धित वस्तु तथा उपकरणहरु आयात, उत्पादन तथा वितरण गर्ने कार्यतर्फ कर्जा प्रवाह प्रोत्साहित गरिनेछ राष्ट्र बैंकले जनाएको छ ।
वैशाख १४ गते राष्ट्र बैंकको ६६ औं वार्षिकोत्सवमा मन्तव्य राख्दै गभर्नर महाप्रसाद अधिकारीले खुकुलो मौद्रिक नीति र सहुलियत कार्यक्रमले सकारात्मक परिणाम प्राप्त भएको र आगामी दिनमा पनि निरन्तरता दिने बताएका थिए ।

पेनाल्टी लिन र लिलामी गर्न नपाउने, किस्ता छुट गर्न प्रोत्साहन
राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गर्ने घोषणा गरेको छ । निषेधाज्ञाको अवधि र निषेधाज्ञा सकिएको एक महिनासम्म कर्जा उठाउने र लिलामीको सूचना निकाल्न नपाउने व्यवस्था गर्नुका साथै निषेधाज्ञाको अवधिमा किस्ता वा ब्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहित गर्ने समेत नीतिमा उल्लेख छ । यसैगरी निषेधाज्ञा अवधिभर म्याद समाप्त भएका मुद्दति निक्षेपको नवीकरण, जमानत तथा प्रतितपत्रको नवीकरण र कर्जाको नवीकरण सम्बन्धित ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले अनलाइनबाटै गर्न सक्ने व्यवस्था मिलाइने समेत केन्द्रीय बैंकले जनाएको छ ।
मौद्रिक नीतिमा लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्नका लागि बैंकहरुको आधार दरमै कर्जा प्रवाह गर्ने र सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्टको लागि ५० करोडसम्म तथा अक्सिजन प्लाण्ट स्थापना गर्नका लागि २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनर्कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने समेत घोषणा गरिएको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत छुट्याएको कोषको रकम कोरोना नियन्त्रणका विभिन्न गतिविधिमा खर्च गर्न पाउने भएका छन् । राष्ट्र बैंकले सिएसआरको रकमलाई जीवन रक्षा, सार्वजनिक हित तथा परोपकारी कार्यमा खर्च गर्न सकिने व्यवस्था मिलाइने घोषणा गरेको हो ।
राष्ट्र बैंकले सिएसआरको रकम अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्टे«टर, जीवन रक्षक भ्याक्सिन, औषधी आदि कार्यमा खर्च गर्न सक्ने व्यवस्था गरिने जनाएको छ । यसैगरी राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गर्न सकिने व्यवस्था गरिने मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।
राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत कोभिड प्रभावित कर्जाको पुर्नसंरचना, कर्जाको वर्गिकरणमा र जोखिम वापत व्यवस्थावापत छुटका साथै सहुलियत व्याजदरमा पूर्नकर्जा र व्यवसाय निरन्तरता कर्जा जस्ता कार्यक्रम कार्यान्वयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्