बाँच्नका लागि साढे ९ लाख भाडा तिर्दै हुम्ली
हुम्ला-करिब एक हप्ताअगाडि हुम्लाको सर्केगाड गाउँपालिकाको स्वास्थ्य संयोजक सन्तोष धामी महालेखा परीक्षण र पालिकालाई आवश्यक पर्ने कोरोना नियन्त्रणको सामग्री ढुवानीका लागि दुई दिन हिँडेर सदरमुकाम सिमकोट आए । सिमकोट पुग्दा एक्कासि ज्वरो आयो । पालिकाको सम्पर्क कार्यालय नै पुगेर काम गर्नसमेत पाएनन् । पालिकामा संक्रमणको दर बढिरहेको थियो । निदानका लागि आवश्यक पर्ने सामग्री तयार गर्नसमेत पाएनन् । ज्वरो उच्च हुँदै गएपछि जिल्ला अस्पतालमा एन्टिजिन परीक्षणपछि कोरोना पोजेटिभ देखियो ।
दिन–प्रतिदिन उनको अवस्था खराब भयो । अक्सिजनको मात्रा कम हुँदै जाँदा जिल्लाको सुविधासम्पन्न जिल्ला अस्पतालमा समेत एक सिलिन्डर अक्सिजन पनि भएन । उपचारमा कठिनाइ हुने देखियो । जिल्ला अस्पतालका चिकित्सकले थप उपचारका लागि अन्य सुविधा सम्पन्न अस्पतालमा जान सुझाए । अब धामी परिवारलाई समस्या भयो ।
उता खाद्यान्न र निर्माण सामग्री मात्रै ढुवानी गर्ने हवाई कम्पनीले बिरामी बोक्ने अनुमति पाएका छैनन् । हेलिकप्टर चार्टर बुक गर्नका लागि आवश्यक पर्ने भयो । चार्र्टडका लागि ९ लाख ५० हजार रुपैयाँ लाग्ने भयो । जिल्लाबाहिर मात्रै उपचार गर्न जानका लागि ९ लाख ५० हजार धामीका परिवारले मात्रै होइन, हुम्ली जनताले काठमाडौंबाट बिरामी हुँदा नियमित तिर्ने गर्छन् ।
पैसाको जोहो कम गराउन गाउँपालिकाले साढे ४ लाख र व्यक्तिगत रूपमा साढे ४ लाख बेहोरिने भएपछि हेलिकप्टर हुम्ला जिल्ला अस्पतालको हेलिप्याडमा ल्यान्ड भयो र धामीलाई जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पु-याइयो ।
यो एक प्रतिनिधि उदाहरण मात्र हो । हुम्लाका सामान्य नागरिकले अब कोरोना उपचार गर्नका लागि यति धेरै रकम उपचारको व्यवस्था गर्न सक्ने आर्थिक हैसियत कमैको मात्र रहेको छ । जिल्ला अस्पतालमा भेन्टिलेटर पनि छैन । भएका भेन्टिलेटर पनि काम लाग्ने हालतमा छैनन् । “प्रदेश सरकारले भेन्टिलेटर खरिदका लागि केही महिनाअगाडि नै ठेक्का दिइसकेको भए तापनि ठेकेदारले सामान जिल्लामा पु-याएको छैन,” जिल्ला अस्पतालका एक कर्मचारी बताउँछन् ।
सडक सञ्जाल नछोएका कारण हुम्लाका सिकिस्त बिरामी जिल्ला बाहिर जानुपर्ने अवस्थामा यसरी महँगो शुल्क तिर्न हुम्ली बाध्य भएका छन् । सबै हुम्लीले साढे ९ लाख तिर्न नसक्ने अवस्था रहेको स्थानीय छवाङ्ग लामाले बताए । गरिबीको रेखामुनि रहेका नागरिक कोभिडका कारण ज्यान गुमाउनुबाहेक केही उपाय नभएको लामाको भनाइ छ ।
स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले तत्काल केही उपाय नअपनाएमा अझ भयावह हुने स्थिति हुम्लामा रहेको छ । सिकिस्त बिरामीलाई यथोचित सुरक्षा अपनाई जिल्लाबाहिर उपचारका लागि जान पहल गरिनुपर्ने स्थानीयको भनाइ छ । हवाईजहाजबाट सुरक्षा सामग्रीसहित उद्धार गर्न सकिएमा केही सस्तो हुने अवस्था रहेको छ ।
उपचार गर्नका लागि दुईवटा अक्सिजन प्लान्ट रहेको भए तापनि यो पर्याप्त नभएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी गराए । थप दुईवटा अक्सिजन प्लान्टका लागि ठेकेदारलाई चाँडो जडान गर्न ताकेतासमेत गरिएको सिंहले बताए ।
हुम्लामा कोरोना संक्रमणको दर बढिरहेको छ । संक्रमण हुनेको संख्या ५० नाघेको छ । दिन–प्रतिदिन संक्रमण समुदाय स्तरमा बढिरहेको छ । जिल्लाका स्थानीय तहले खासै कुनै चासो देखाएका छैनन् । एन्टिजिन परीक्षणको दायरासमेत बढाएका छैनन् । समुदायस्तरमा कोरोना फैलिएको भने हुम्लामा पहिलो पटक हो ।
जिल्लामा भेन्टिलेटर सञ्चालनका लागि जनशक्ति नभएका कारण अझ थप समस्या हुँदै आएको छ । अक्सिजन प्लान्ट र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति तत्काल परिपूर्ति गर्नका लागि निर्देशन दिइएको नेपाली कांग्रेस कर्णाली प्रदेशका प्रतिपक्ष नेता जीवनबहादुर शाहीले बताए ।
आवश्यक पर्ने स्थानीय तहमा पनि जनशक्तिका लागि जोड दिइएको कर्णाली प्रदेशका पूर्व सामाजिक विकास मन्त्री दल रावलले बताए । ठेकेदारलाई पनि तत्काल अक्सिजन प्लान्ट जडान गर्नका लागि ताकेता भइसकेको रावलले बताए ।