दोलखामा अक्सिजन प्लान्ट स्थापना गरिने «

दोलखामा अक्सिजन प्लान्ट स्थापना गरिने

तस्बिरः जिल्लाभरबाट संकलन गरिएका सिलिण्डर जिल्ला प्रहरी कार्यालयबाट हस्तान्तरण गर्दै ।

स्थानीय तहको साझेदारीमा दोलखामा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । कोभिड–१९ का बिरामीलाई देशभर अक्सिजनको अभाव भएका समाचार आइरहेका बेला स्थानीयस्तरमै छुट्टै अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो । जिल्लाका सबै स्थानीय तहका प्रमुखसहितको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै स्थानीय तहको साझेदारीमा अक्सिजन ग्यासको प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो । प्लान्ट स्थापनाका लागि दोलखाका नौवटै स्थानीय तहले १२ लाखका दरले बजेट व्यवस्थापन गर्ने निर्णय भएको छ ।
प्लान्टको फास्ट ट्र्याकबाट निर्माण गर्न संकट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सरकारी टोलीले प्रक्रिया अघि बढाउने र तत्काल स्रोतको व्यवस्थापन भने स्थानीय तहहरूले गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।
समितिले अक्सिजन प्लान्ट कुन ठाउँमा राख्ने भन्नेबारेमा दुईवटा विकल्प रोजेको र त्यसबारे केही दिनमै निर्णय हुने जनाइएको छ । तत्काललाई चरिकोट अस्पताल वा जिरी अस्पतालमध्ये एउटा अस्पतालमा प्लान्ट राखिनेछ । जिरी अस्पतालमा अक्सिजन प्लान्टसँग सम्बन्धित संरचना निर्माण भइरहेको जानकारी आएको उनले बताए । प्लान्ट सञ्चालन गर्न झन्डै १ करोड बजेट खर्च हुने अनुमान गरिएको उनले बताए ।
सिंगटी अस्पताललाई कोभिड अस्पताल बनाइने
संकट व्यवस्थापन समितिको बैठकले कालिञ्चोक गाउँपालिकामा रहेको सिंगटी अस्पताललाई उत्तरका तीनवटा स्थानीय तहहरूको संयुक्त लगानी तथा समन्वयमा तत्काल कोभिड अस्पताल बनाउने निर्णयसमेत गरेको छ । कोभिड अस्पताल सञ्चालनका लागि कालिञ्चोक, विगू र गौरीशंकर गाउँपालिकाका अध्यक्षहरुको संयुक्त कार्यदल बनाउने र जनशक्ति र बजेटसमेत सम्बन्धित स्थानीय तहले नै व्यवस्थापन गर्ने निर्णय भएको छ ।
बैठकले जिल्ला बाहिरबाट आउने अधिकांश नागरिकहरूलाई स्थानीय तह वा वडाले निर्माण गरेको क्वारेन्टाइनमा १० दिन राखेर मात्रै घर पठाउने निर्णय गरेको छ । १० दिन क्वारेन्टाइनमा बसेपछि गरिने पिसिआर परीक्षणमा कोभिड संक्रमण नभएको पुष्टि भएपछि मात्रै घर पठाउने निर्णय भएको छ ।
निषेधाज्ञाको पूर्ण कार्यान्वयनमा व्यापक बनाउन सुरक्षाकर्मी परिचालन गर्नु पर्ने भएकाले सम्बन्धित पालिकाले सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षाको व्यवस्था गर्नु पर्ने निर्णय भएको छ । कोभिडबाट सुरक्षाका लागि सुरक्षाकर्मीहरु गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम र सन्देश लिएर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख भेषराज रिजालले बताए ।
५८ थान सिलिण्डर संकलन
जिल्ला प्रहरी कार्यालयले बिरामीलाई अक्सिजन अभाव हुन नदिन जिल्लाभरबाट ५८ थान अक्सिजन सिलिन्डर संकलन गरी जिल्ला संकट व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । जलविद्युत आयोजना, ग्यारेज र क्रसरहरुमा रहेका सिलिण्डर प्रहरीले संकलन गरेको हो ।
जिल्ला प्रहरी प्रमुख रिजालका अनुसार २७ थान भरिएका र ३१ थान सिलिण्डर संकलन गरेको थियो । खाली रहेका सिलिण्डरहरु भीमेश्वर नगरपालिको संकलन गरी भर्नका लागि चितवन लगेको छ ।

प्रतिक्रिया दिनुहोस्