Logo

महानगरद्वारा आइसोलेसन केन्द्र सञ्चालन


कोरोना संक्रमितको उपचारका लागि विराटनगर महानगरपालिकाले छुट्टै सुविधासम्पन्न आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरले अक्सिजन र आवश्यक थप सुविधासहित ५१ बेडको आइसोलेसन सञ्चालनमा ल्याएको हो ।
दिनानुदिन कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि उपचारमा सहजताका निम्ति महानगरपालिकाले आइसोलेसन केन्द्रहरू विस्तार गर्दै लगेको छ । पछिल्लो समय महानगरले वडा नम्बर १ ट्टाचोकमा रहेको आरआर एन भवनमा ५१ बेड क्षमतको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले सामुदायिक उत्थानमा सक्रिय संस्था आरआर एन, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट, नेपाल (अफिन) र मारवाडी युवा मञ्चसँग सहकार्य गर्दै ५१ बेडको नमुना आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो । पब्लिक प्राइभेटको अवधारणाअनुसार नै आफूहरूले सहकार्य गर्दै आइसोलेसन सञ्चालनमा ल्याइएको आरआरएनका संस्थापक अध्यक्ष एवं पूर्वराजदूत अर्जुन कार्कीले बताए ।
सञ्चालनमा ल्याइएको आइसोलेसन वार्डमा महिला र पुरुष दुवैका लागि वेडहरू राखिएको छ । यस्तै संक्रमितलाई आवश्यक पर्नसक्ने अक्सिजन सिलिन्डर, बाफ लिने व्यवस्था र अक्सिमिटरलगायतका उपकरणहरूसमेत प्रत्येक बेडका लागि छुट्याइएको छ । नयाँ आइसोलेसन सञ्चालनमा आएपछि उपचार सेवा प्रवाह गर्न थप सहज हुने महानगरकी उपमेयर इन्दिरा कार्कीले विश्वास व्यक्त गरिन् । “घरमा कोठा अभावका कारण बस्न समस्या हुने संक्रमितलाई आइसोलेसनमा राखिनेछ,” उनले भनिन् ।
यसअघि विराटनगर महानगरपालिकामा कोसी अस्पतालको कोभिड उपचार केन्द्रमा ९० बेड, १९ नम्बर वडाको वैजनाथपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा २० बेड, १२ नम्बर वडाको सामुदायिक भवनमा २५ बेडको आइसोलेसन केन्द्र सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्