नेपाली सेनाको सफा हिमाल अभियान सम्पन्न
नेपाली सेनाको संयोजनमा नेपाल सरकारको ‘सफा हिमाल अभियान २०२१’ ले सगरमाथा, ल्होत्से, मकालु, धौलागिरि, पुमोरी र आमादब्लामलगायत ६ वटा हिमालयहरुबाट फोहोर संकलनको हाफवे मार्क सफलतापूर्वक सम्पन्न गरिएको छ । यस टोलीमा अनुभवी शेर्पाहरु समर्थकको रुपमा र नेपाली सेना गरी जम्मा ११२ जना सदस्यहरु रहेका छन् ।
यस अभियान औपचारिक रुपमा अप्रिल १३, २०२१ मा सुरु भइ हालसम्म ६ वटा हिमालयहरुबाट २१ हजार १६७ किलोग्राम फोहोर संकलन गरिएको जनाइएको छ । जसमा एक ८६८ किलो बायो–डग्रेडेबल फोहोर र १९ हजार २९९ किलो नन–बायो डिग्रेडेबल फोहोर छन् ।
टोलीले संकलन गरेको फोहोरहरुमा खारेज गरिएको अक्सिजन ट्यांक, परित्याग गरिएका टेन्टहरु, खाद्यान्न कन्टेनर, प्लास्टिक, ग्लास, एल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरु समावेश छन् । यसबाहेक पहिला दुर्घटना भएको ९ एन–एसीआर नम्बरको हेलिकोप्टर र दुई विभिन्न ठाउँहरुबाट पर्वतारोहण गियरसहित दुई मानव अवशेषहरु पनि धौलागिरि टोलीले ‘रिट्राइभ’ गरेको छ र मृतकको पहिचान र व्यवस्थापनका लागि थप अनुसन्धानहरु सुरु गरिएको छ ।
हिमाल सफाइ अभियान–२०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्ट कर्नेल दीपक भण्डारीले ६ वटा हिमालहरु सफा गर्ने उद्देश्यले अभियानमा खटाइएका टोली स्थानीय सरकारसँगको समन्वयमा समर्पणका साथ फोहोर संकलन गर्ने कार्यमा लागिपरेको बताए । नेपाल पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मीले हिमाल चढ्ने काम धेरै नेपाली र विदेशीहरुको लागि एक ठूलो स्पोर्ट रहेको र धेरैले यसलाई जितेको बताए ।