तुलसीपुरमा हवाइसेवा नियमित हुनेमा आशंका «

तुलसीपुरमा हवाइसेवा नियमित हुनेमा आशंका

वि.सं २०१३ सालदेखि सुरु भएको तुलसीपुर टरीगाउँको विमान सेवा पांचौं पटक आइतबारबाट सुरु भयो । यसअघि तुलसीपुर उद्योग वाणिज्य संघले ठेक्कामा चलाएको गोमा एयरको सेवाको विमान कम्पनी आफ्नै स्वामित्वमा चल्न नमान्दा हवाइ सेवा बन्द भएको थियो । अहिले उपमहानगरपालिकाले अर्को कम्पनीलाई यस्तै ठेक्कामा विमान सेवा सञ्चालनको संझौता गरेको हो ।

विमान कम्पनीहरूले यहांको विमान स्थलमा हवाइ इन्धन डिपोको समस्या भएको भन्दै महंगो भाडामा ठेक्कामा जहाज चलाउंदै आएका छन् । तर, नेपाल सरकारले वर्षमा चारपटक सर्वे गरे पनि यहां क्षेत्रीयस्तरको हवाइ इन्धन डिपो स्थापनाको अन्तिम प्रक्रिया अझै कार्यान्वयनमा ल्याउन सकेको छैन । तैपनि उपमहानगरपालिकाको आग्रहमा टिकट बुकिङको जिम्मा आफूले लिने भएपछि हवाइ कम्पनीले सेवा दिन सुरुआत गरेको हो ।
अहिले सुरु गरिएको सेवा सुरुमा सातामा दुई दिन विमानसेवा नियमित हुने र यात्रुहरूको माग भए दैनिक हवाइसेवा सञ्चालन गर्न पनि कम्पनी तयार रहेको तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयले जानकारी दिए । तुलसीपुरका यात्रुहरूको समस्यालाई दृष्टिगत गर्दै धेरै पहलपछि तुलसीपुर उद्योग वाणिज्य संघसंग समन्वय गरेर गोमा एयरको विमान केही समय सञ्चालनमा ल्याएको थियो । तर कम्पनीले ठेक्कामा मात्रै आफूहरू सञ्चालित हुने बताएपछि उद्योग वाणिज्य संघले हात झिक्यो अनि एयरपोर्ट गौचरणमा परिणत भयो ।
स्थानीय तहको निर्वाचन संपन्न भइसकेपछि हवाइ सेवा सञ्चालनको जिम्मा तुलसीपुर उपमहानगरपालिकाले लिएको छ । तर, अब सातामा दुई दिन हवाइसेवा नियमित हुनेमा उपमहानगरपालिका ढुक्क छ । नगरप्रमुख पाण्डे भन्छन्, “दाङबाट काठमाडौंसम्म हवाइ सेवा लिने यात्रुहरूको टिकटको व्यवस्थापन उपमहानगरपालिकाले गरीरहेको छ, उताबाट दाङका लागि विमान कम्पनीले नै गर्ने सहमति भएको छ ।”
अहिले उपमहानगरपालिकाले समिट एयरसंग ठेक्का सम्झौता गरेको छ । सेवा दैनिक हुनेमा आफूहरू ढुक्क भएको भन्दै जहाजको आवश्यकता र उपयोगितालाई समस्त राप्तीवासीहरूले अवसरका रूपमा उपयोग गर्न पनि उनले सुझाव दिए ।

चल्दै रोकिंदै, रोकिँदै चल्दै
जिल्लावासीहरू यो हवाइ सेवा पनि नियमित हुनेमा विश्वस्त देखिन सकेका छैनन् । जिल्लावासीहरूले यहाँको विमानस्थल र हवाइसेवाको इतिहासलाई नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले सम्बोधन गर्नुपर्ने बताउँछन् । स्थानीयहरूले भाडा केही महँगो भएको गुनासो गरेका छन् । “एउटा निरन्तरताको पक्ष हो, अर्को कुरा भनेको भाडा केही महँगो भएको हामीले महसुस गरेका छौं”—तुलसीपुर उपमहानगरपालिका—५ का युवा व्यवसायी विनिल केसीले भने । उनीजस्तै धेरै राप्तीवासीहरूले यही अपेक्षा गरिरहेका छन् ।
पछिल्लो समय तुलसीपुरमा सञ्चालनमा आउन थालेको विमान कम्पनीले एयरपोर्ट ट्याक्ससहित दाङ—काठमाडौंको भाडादर ६ हजार ८ सयदेखि ७ हजार २ सय रुपैंया तोकिएको छ । तर नेपालगञ्जबाट भने न्यूनतम ५ हजार रुपैंयामै विभिन्न विमान कम्पनीहरूले काठमाडौंसम्म हवाइसेवा दिने गरेका छन् । दूरी र सुरक्षाको हिसाबले पनि काठमाडौंबाट दाङका लागि हवाइ सेवाको भाडा कम हुनुपर्ने जिल्लावासीहरूले पटक पटक माग गर्दै आएका छन् ।
पहिलो पटक विमानस्थलमा अवतरण गरेको डकोटा विमानले तुलसीपुरमा करिब डेढ दशक सेवा दियो जसमा २८ सिट हुन्थे । सो विमान बिग्रिएपछि तत्कालीन शाही नेपाल वायु सेवा निगमले ट्विनअटर विमान सेवा सञ्चालनमा ल्याएको तुलसीपुर क्षेत्रका जानकार गोपिनाथ योगी सम्झन्छन् । तर, सडक यातायात सहज भएसंगै विमानसेवा पटक पटक रोकिन थालेको हो । उपमहानगरपालिकाले अब जसरी पनि नियमित बनाउने भनी पहल थालेको छ । हवाइ सेवा पहिलो चरणमा सातामा दुईपटक आइतबार र बुधवार सञ्चालनमा आउनेछ । यात्रुहरूको माग हेरेर सेवा बढाउन सकिने विमान कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्