श्रेष्ठ र चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान «

श्रेष्ठ र चित्रकारलाई लोकतान्त्रिक योद्धा सम्मान

प्रजातान्त्रिक विचार समाजले प्रत्येक वर्ष प्रदान गर्दै आएको लोकतान्त्रिक योद्धा सम्मान २०७७ र २०७८ बाट क्रमशः सामाजिक अभियान्ता एवं महिला नेतृ मैयादेवी श्रेष्ठ र नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका कमल चित्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।
समाजको तर्फबाट गठित छनोट समितिको सिफारिसको आधारमा यही वैशाख ३० गते जुम प्रविधिमार्फत बसेको समाजको केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । उनीहरूले नेपालको प्रजातान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गर्न लागिएको हो । सम्मानको राशि जनही २५ हजार रुपैयाँ र कदर पत्र रहेको छ ।
सो सम्मानको लागि समाजले १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । समाजको स्थापना दिवसका दिन अर्थात् जेठ ३ गतेका दिन प्रदान गर्ने गरेको उक्त सम्मान कार्यक्रम विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण प्रदान गर्न नसकिने भएकाले दुवै सम्मान मुलुकमा सहज वातावरण बनेपछि विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिनेछ ।
वि.सं. २०७२ सालदेखि प्रदान गरिदै आएको लोकतान्त्रिक योद्धा सम्मानबाट यसअघि क्रमश कुलबहादुर गुरुङ, इन्द्रकान्त मिश्र, चक्रप्रसाद बास्तोला,पुरुषोत्तम बस्नेत र नूतन थपलिया सम्मानित भइसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्