Logo

अग्रवाल भवनमा आइसोलेसन केन्द्र स्थापना

कमल पोखरीस्थित अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना गरिएको छ ।
कमल पोखरीमा रहेको अग्रवाल भवनमा करिब १ सय २६ जनासम्म राख्न सकिनेगरी आइसोलेसन केन्द्रको स्थापना गरिएको हो । अग्रवाल सेवा केन्द्र नेपाल, हिन्दु स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एसोसिएसन, उपकार सेवा नेपाल र सेवा इन्टरनेसनल नेपालले संयुक्त रूपमा सञ्चालन गरेको आइसोलेसन सेन्टरको सोमबार नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उद्घाटन गरे । आइसोलेसन उद्घाटन गर्दै राजदूत क्वात्राले कोभिड–१९ को महामारी दक्षिण एसियामा तीव्र रूपमा फैलिएको भन्दै महामारीविरुद्ध लड्न व्यक्ति, परिवार, समाज र सरकारको संयुक्त प्रयास आवश्यक पर्ने बताए । उनले कोभिड–१९ विरुद्धको लडाइँमा भारत सरकारले आगामी दिनमा पनि सहयोग गर्ने बताए । उनले भने, “भारतले महामारीविरुद्ध लड्न नेपाललाई सहयोग गरिरहेको छ । भारतबाट २३ लाख डोज कोभिडशिल्ड खोप नेपाल आइसकेको छ । ८÷१० दिनमा लिक्विड अक्सिजनको ट्यांकर भारतबाट नेपाल आउने छ । अस्पतालमा अक्सिजनको कमी नहोस् भन्ने छ ।” आइसोलेसन केन्द्र उद्घाटनमा बोल्दै उद्योगी राजेन्द्र खेतानले आइसोलेसन केन्द्रमार्फत् फ्रन्टलाइनर डाक्टर, नर्सलगायतलाई बचाउन सके अन्य सयौँ परिवारको रक्षा गर्न सकिने बताए । आइसोलेसन केन्द्रमा एउटा हलमा ९० जनासम्म मानिस राख्न सक्नेगरी व्यवस्थित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्