भेरी अस्पतालमा अक्सिजन आपूर्ति सहज हुने «

भेरी अस्पतालमा अक्सिजन आपूर्ति सहज हुने


भेरी अस्पताल नेपालगन्जमा दीर्घकालीन रूपमा अक्सिजन संकट समाधानका लागि निकास खोजिने भएको छ । अर्थ मन्त्रालयले अस्पतालमा कोभिडको महामारी नियन्त्रण र उपचारका लागि १५ करोड निकासा दिने निर्णयसँंगै दीर्घकालीन रूपमा अक्सिजन समस्या समाधानका लागि उपाय खोज्ने बाटो अघि बढेको हो ।
पछिल्लो समय अस्पतालमा अत्यधिक मात्रामा अक्सिजनको खपत बढेपछि अक्सिजन टान्सपोर्ट सिस्टमले नधान्ने हुँदा लिक्विड अक्सिजन ट्यांक जडान गरिएको छ । अस्पतालले दुई साताअघि ट्यांक खरिद गरेर ल्याएको भए पनि सोमबार अपरान्ह ट्यांक जडान गरिएको हो । २० हजार लिटर क्षमताको यो ट्यांकमा भारतबाट लिक्विड ल्याएर भण्डार गरिएपछि त्यसलाई भ्यापोराइजरले अक्सिजन ग्यास गराउने र पाइपलाइनको सिस्टमबाट हरेक बेडमा अक्सिजन पोर्टमा पु¥याएर त्यहींबाट बिरामीलाई सहज तरिकाले वितरण गरिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रकाशबहादुर थापाले बताए । यसले न्यूनतम खर्चमा प्लान्टबाट उत्पादन गरेको रिफिलिंगभन्दा पनि धेरै सस्तोमा सहज तरिकाले अक्सिजन ग्यास उपलब्ध हुने उनको भनाइ छ ।
ट्यांक जडान गरिए पनि भारतबाट लिक्विड अक्सिजन कहिले आउँछ भन्ने विषयमा भने अझै टुंगो लागेको छैन । यसअघि भारतबाट अक्सिजन लिक्विड नआउँदा दुई सातादेखि ट्यांक जडान नगरी त्यतिकै राखिएको थियो । हाल अस्पतालमा बाँकेमै भएका अक्सिजन उद्योगबाट सिलिन्डर भरेर ग्यासको आपूर्ति हुने गरेको छ । यसैबीच अर्थ मन्त्रालयले समेत आइतबार भेरी अस्पताललाई अक्सिजन प्लान्ट, भेन्टिलेटर र अक्सिजन ट्यांक निर्माणका लागि १५ करोड रुपैयाँ दिने निर्णयसमेत गरेको छ । सो रकमबाट सामग्री आपूर्तिका लागि द्रूत कार्ययोजनाका साथ खरिद प्रक्रिया अगाडि बढाउने अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए । “हामी छिटोभन्दा छिटो माध्यमबाट खरिद प्रकृयामा जाने तयारीमा छौं,” उनले भने । कुन माध्यमबाट कसरी छिटो सामग्री खरिद गर्न सकिन्छ स्वास्थ्य मन्त्रालयसँंग समन्वय गरेर यो महामारीबाट सर्वसाधारणलाई जोगाउने ध्याउन्नमा आफूहरू लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्