कोभिड–१९ विरुद्धको खोप लक्षित समूहमा परेनन् सर्वसाधारण «

कोभिड–१९ विरुद्धको खोप लक्षित समूहमा परेनन् सर्वसाधारण


कैलालीको गौरीगंगा नगरपालिका–१ मंगलपुरका पवन बुढा दुबईबाट फर्किएको पाँच महिनापछि कोरोना भाइरसबाट संक्रमित भए । अहिले उनी रिकभर हुँदै गएका छन् । उनको परिवारमा रहेका छ जनामध्ये उनका भाइले मात्रै कोरोनाविरुद्धको खोप पाए । उनका भाई सरकारी कर्मचारी हुन् । पवनले भने, “आमा, बुबा, श्रीमती, छोरी र मैले कोरोनाविरुद्धको खोप पाएनौं ।”
गौरीगंगा नगरपालिकाकै वडा नम्बर ४ की वडा सदस्य अमृता विकले कोभिड खोपको दुवै डोज लगाए पनि संक्रमित भइन् । उनकी सासूले ज्येष्ठ नागरिक भएकाले पहिलो खोपको पहिलो डोज लगाउन पाइन् । उनले दोस्रो डोज कहिले पाउने भन्ने टुंगो छैन । उनको परिवारका अन्य सदस्यहरूले खोपको पहिलो डोज पनि पाएका छैनन् । वडा सदस्य अमृता बस्ने कालिका टोलमा अहिले सातजना कोरोना संक्रमित छन् । “‘छिमेकमा वल्लोपल्लो घरमा कोरोना संक्रमित छन्,” अमृताले भनिन्, “हाम्रो टोलबाट रोजगारीका लागि भारत र अन्य मुलुकमा जाने गरेका मानिस् छन् । उनीहरू कोही पनि फर्किएका छैनन् । हामीलाई गाउँघरमै संक्रमण भएको हो ।”
गोदावरी नगरपालिका वडा नम्बर १२ शारदा वस्तीका विष्णु विकको दुई दाजु र एक भाइ रोजगारीका लागि भारत आउनेजाने गरेका छन् । उनको भाई परिवारसहित रोजगारीका लागि भारतमा छन् । उनका दुई जनै दाजु र भाइ कोरोनाको पहिलो लहरमा लकडाउन भएपछि घर फर्केका थिए । उनीहरू केही महिनापछि पुनः भारत गए । उनका दाजुहरू भारतमा कोरोनाको दोस्रो लहर चर्किएपछि घर फर्किएका छन् । फर्किंदा नै उनका माइला दाइ कोरोना संक्रमित भएका थिए । दाइ कोरोना संक्रमित भएर फर्किएपछि उनको परिवारमा अरुलाई समेत संक्रमण हुने त्रास थियो । अहिले उनका दाइ संक्रमणमुक्त भएका छन् । विष्णुको परिवारमा १४ जना सदस्य रहेकोमा उनकी आमाबाहेकले खोप पाएका छैनन् । “आमाले पहिलो डोज लगाउन पाउनु भयो,” उनले भने, “दोस्रो डोज अझै लगाउन पाउनु भएको छैन ।”
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ बेलारकी सुनिता चौधरी र उनका श्रीमान् डकर्मी छन् । उनीहरूले दैनिक ज्याला मजदुरी गरेर पाँच जनाको परिवारको गुजारा गर्छन् । उनीहरूको परिवारमा सासू र छोराछोरी छन् । सुनिताकी सासूको उमेर ६५ वर्ष नाघेको हुनाले कोरोनाको पहिलो डोज खोप लगाउन पाइन् । “‘बाँकी कसैले पनि खोप लगाउन पाएनौं,” सुनिताले भनिन्, “सासूले पनि दोस्रो डोज लगाउन पाउनु भएको छैन ।”
उनीहरू जस्तै सुदूरपश्चिम प्रदेशका सर्वसाधारण, मजदुर, रोजगारका लागि भारत र अन्यदेशमा रहेका वा घर फर्केका व्यक्तिका परिवारका सदस्यहरू, बालबालिकाले कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् ।
२०६८ सालको जनगणनाअनुसार २५ लाख ५२ हजार पाँच सय १७ जनसंख्या रहेको सुदूरपश्चिम प्रदेशमा ३८ हजार दुई सय ७२ जना अर्थात् एक दशमलव ५० प्रतिशतले पहिलो डोज खोप लगाउन पाएका छन् । तीमध्ये ३० हजार सात सय ६८ जना (एक दशमलव २१ प्रतिशत) ले दोस्रो डोज लगाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले सर्वसाधारणहरू सरकारको खोप पाउने लक्षित समूहमा पर्न नसकेको बताए । उनले केही स्थानीय तहमा ६५ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि खोप कार्यक्रम सञ्चालन गरिएको भए पनि सबै ज्येष्ठ नागरिकले खोप पाउन नसकेको बताए । “सरकारले प्राथमिकता निर्धारण गरेको समूहलाई नै पहिलो र दोस्रो डोजको खोप लगाउने काम भएको छ,” निर्देशक डाक्टर अवस्थीले भने, “सरकारको प्राथमिकतामा नपरेका समूहले खोप पाएका छैनन् । थप खोप कहिले आउँछ भन्ने टुंगो छैन ।”
प्रदेश स्वास्थ्य निर्देशनालयका कोरोनाविरुद्धको खोप अभियानका फोकलपर्सन हेमराज जोशीले अब आउने कोरोनाको खोप पहिलो डोज लगाइसकेका ६५ वर्षमाथिको उमेरका ज्येष्ठ नागरिकलाई खोप दिइने बताए । उनले बाँकी खोप सरकारले कसलाई लगाउने ? भन्ने सरकारको निर्णयमा भरपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्