डिजिटल रुपान्तरणमा सरोकारवालाको जोड

कोरोना संक्रमण जस्तो विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरण अत्यावश्यक छ भन्ने सन्देशसहित विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (डब्ल्यूटीआईएसडी) कार्यक्रम मनाइएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मे १७ का अवसरमा सोमबार भर्चुअल कार्यक्रम गरेको हो । प्राधिकरणले यस दिवसको अवसरमा ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणको गति’ विषयमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा सहभागीहरुले अहिलेको परिस्थितिमा डिजिटल रुपान्तरण अत्यावश्यक भएको र त्यसको लागि सूचना प्रविधिको पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएको प्राधिकरणले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यस फोरममा आएका विज्ञका सुझावका आधारमा नीति निर्माण गर्ने र आवश्यक भए परिवर्तन गर्न मन्त्रालय अग्रसर हुने बताए । उनले अहिलेको कोभिड संक्रमणमा दूरसञ्चार सेवा अझ भरपर्दो हुनुपर्ने बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यस क्षेत्रको विकासका लागि प्रतिबद्धताको खाँचो रहेको बताए । उनले प्रतिबद्धता लिएर योजनावद्ध रुपमा अगाडि बढ्ने हो भने डिजिटल रुपान्तरण गर्न गाह्रो नहुने बताए । प्रत्येक निकायबाट प्रतिबद्धता आए राम्रा कार्यक्रम कार्यान्वयनमा सहज हुने उनको भनाइ छ । नेपालमा डिजिटल रुपान्तरणको लागि लामो समयदेखि काम गरिरहेको बताउँदै उनले यसलाई सफल पार्न कानुनी रुपमा बाध्यकारी बनाउनुपर्ने बताए ।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि बस्यालले कोभिडको अहिलेको समयमा अन्य कुनै पनि पूर्वाधारले काम नरेको अवस्थामा सूचना प्रविधिले काम गरिरहेकोप्रति सजग गराए । यस्तो महत्वपूर्ण क्षेत्रलाई विकास गर्न सहर र ग्रामीण क्षेत्रबीचको ग्याप कम ल्याउनुपर्नेमा उनले जोड दिए । यसले राज्यमा सुशासन कायम गर्न सहयोग गर्ने पनि उनको भनाइ थियो ।
कार्यक्रममा आईटीयूका महासचिव हौलिन जाओले पठाउनु भएको सन्देश सुनाइएको थियो। कार्यक्रममा आइसिटी विज्ञ मनोहर भट्टराईको ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणका मुख्य ट्रेण्डहरु’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । भट्टराईले नेपालमा डिजिटल रुपान्तरणको लागि विभिनन योजनाहरु बने पनि त्यसमा अझै स्पष्टता भइनसकेको बताए। त्यसलाई स्पष्ट पार्नुपर्ने बताए ।
उनले सरकारले सहजकर्ता भूमिका खेल्नु पर्ने र निजी क्षेत्रलाई अगुवाको भूमिकामा राख्नुपर्ने विचार व्यक्त गरे। यस क्षेत्रमा निजी क्षेत्र अगाडि बढ्न नसकेको बताए । उनले नीति नियम बनाउँदा अलि अध्ययन गरेर बनाउनुपर्ने र यसमा राजनीतिक प्रतिवद्धता पनि जायर हुनुपर्नेमा जोड दिए ।
सन् २००६ देखि हरेक वर्ष मे १७ अन्तर्राष्ट्रिय विश्व दूरसञ्चार र सूचना समाज दिवस मनाउने गरिन्छ । यस वर्ष पनि ‘चुनौतीपूर्ण समयमा डिजिटल रूपान्तरणको गति’ ‘थिम’मा उक्त दिवस मनाइदै छ । नेपाल सन् १९५७ डिसेम्बरमा आइटियुको सदस्य राष्ट्र भएको थियो ।