महामारीमा नागरिकलाई सहयोग गर्न महासंघ सधैं तयार छ : गोल्छा «

महामारीमा नागरिकलाई सहयोग गर्न महासंघ सधैं तयार छ : गोल्छा


नेपाल उद्योग वाणिज्य महासंघले एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत सञ्चालित सबै कार्यक्रमबाट ठूलो संख्यामा मानिसहरू लाभान्वित भइरहेको जनाएको छ ।
महासंघले गत वैशाख २६ गतेदेखि अभियान थालेको थियो । यसअन्तर्गत हाल २ वटा आइसोलेसन तथा उपचार केन्द्र, महासंघ कोभिड–१९ सहायता केन्द्र र हेल्लो डाक्टर स्वास्थ्य परामर्श सेवा सञ्चालनमा रहेको र अन्य थप कार्यक्रमहरू पनि सञ्चालनमा ल्याउने योजना रहेको महासंघको भनाइ छ । एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अन्तरगत क्षेत्रपाटीस्थित पुरानो गोर्खा अस्पतालको भवनमा स्थापना गरिएको कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र सञ्चालनमा आएको छ ।
उक्त आइसोलेसनको महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले शुभारम्भ गरेका छन् ।
महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारी मुलुकका लागि ठूलो चुनौती भएर आएकालाई यसलाई परास्त गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षामा सहयोग गर्न महासंघ लागिपरेको बताए । उनले मुलुक अप्ठ्यारोमा पर्दा महासंघले सधै अग्रभागमा रहेर सेवा गरेको यसको इतिहास रहेको बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आममानिसको स्वास्थ्य सुरक्षा नै यतिखेर प्रमुख चासो रहेकाले महासंघले एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान नै सञ्चालन गरी संक्रमणमा परेकाहरूलाई सहयोग गर्न हातेमालो गरेको बताए ।
उक्त आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं सञ्चालन गर्न महासंघ र काठमाडौं महानगरपालिका वडा नम्बर १७ बीच गत वैशाख ३० गते एक समझादारीपत्रमा हस्ताक्षर गरिएको थियो ।
सेन्टर अहिले ५० वटा बेडबाट सुरु गरिएको छ र आवश्यकताका आधारमा विस्तार गर्दै पछि १ सय वेडसम्म पु¥याइने योजना रहेको बताइएको छ । उक्त केन्द्रमा कोभिड भई घर वा कोठामा नै आइसोलेसनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नरहेका कोभिड विरामीहरूलाई उचित खाना, औषधि, वासस्थानको व्यवस्था गरी स्वास्थ्यकर्मीहरूको निगरानीमा राखी आइसोलेसन सेवा प्रदान गरिनेछ ।
त्यसैगरी महासंघले भगवान महावीर जैन–निकेतन, आरम्भ फाउण्डेशन र महानगरपालिकोका वडा नम्बर २९ को सहयोग एवं सहकार्यमा वैशाख ३० गतेदेखि काठमाडौंको कमलपोखरीस्थित जैन निकेतमा ५० बेडको ड्राई आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको पनि जनाएको छ ।
त्यसैगरी महासंघले कोभिड संक्रमितलाई स्वास्थ्य परामर्श दिन वैशाख २६ गतेदेखि हेल्लो डाक्टर कार्यक्रम सञ्चालन गरेको जनाएको छ । भाइवरको सहकार्यमा डाक्टर अन कलका चिकित्सकहरूले बिरामीहरूलाई स्वास्थ्य परामर्श दिइरहेको महासंघको दावी छ ।

प्रतिक्रिया दिनुहोस्