Logo

रोगमा आत्तिनुभन्दा पनि साहसका साथ सावधानीपूर्वक रोगसँग लड्नुले विजय दिलाउँछ

सावधानी अपनाऔं, कोरोनादेखि नडराऔं

हरेक समयको अन्तरालमा विश्वमा कुनै न कुनै रोग महामारीका रूपमा फैलिँदै आइरहेको छ । यो प्रकृतिप्रदत्त रोग हो, जुन मानिसको बहसमा छैन । एक मानिसबाट अर्को मानिसमा सर्ने र मानवीय क्षति गराउने रोगहरू विश्वमा परापूर्व कालदेखि फैलँदै आएको पाइन्छ । रोग हरेक ठाउँमा फैलिएर मानिसमा त्रास फैलाइरहेको हुन्छ भने त्यसलाई महामारीका रूपमा चिनिन्छ । आज कोभिड–१९ महामारी बनेर विश्वमा फैलिरहेको छ । यसबाट सावधानी अपनाउँदै हामीले यसलाई परास्त गर्ने साहस बटुल्नुपर्छ ।
हिजोआज कोभिड–१९ विश्व महामारीका रूपमा पुनः देहोरिएर विश्वमा फैलिरहेको छ । यसले विश्वलाई नै कँपाइरहेको छ । सन् २०१९ को डिसेम्बरतिर चीनबाट सुरु भएको यो महामारीले हाल विश्वका २ सय २२ वटा देशलाई प्रभावित बनाइरहेकोे छ । विश्वका ७ अर्ब ८० करोडभन्दा बढी जनसंख्या कोभिड–१९ को त्रासमा बाँचिरहेका छन् । हाल यसलाई प्रकृति सृजित भाइरसका रूपमा पहिचान गरिएको हो । यसकै कारण विश्व नै बन्दाबन्दीमा रह्यो, अर्थतन्त्र धराशायी बन्दै गयो । आमनागरिक रोगको भन्दा पनि भोकको डरले त्रसित बनिरहेका छन् । विश्वमा यस्ता रोगहरू विभिन्न समयमा विभिन्न रूप लिएर आइरहे, यिनले आउँदैपिच्छे धेरथोर मानवीय क्षति पु¥याएकै छन् । यी आउँदा क्षति बोकेरै आउने हुन्, हाम्रो सावधानीले यिनको क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।
आजका दिनसम्म यस महामारीबाट कुल १५ करोड ७६ लाख ३६ हजार ८ सय १३ जना संक्रमित भएका छन् । यीमध्ये १३ करोड ५१ लाख १२ हजार ५६ जना निको भएर घर फर्केका छन् भने ३२ लाख ८६ हजार ४ सय ९७ जनाले ज्यान गुमाएका छन् । यसैगरी नेपालको मात्र कुरा गर्दा कुल संक्रमित ३ लाख ८५ हजार ८ सय ९० जना र निको भएर घर फर्कनेको संख्या २ लाख ९८ हजार ७ सय ६५ जना रहेको छ, जसमध्ये ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय ३२ जना पुगेको छ । समग्रमा भन्नुपर्दा यस्ता रोग समय–समयमा आउने र मानवीय क्षति गराएर जाने प्रवृत्ति परापूर्व कालदेखि चलिआएको पाइन्छ । यो नौलो होइन । यसर्थ यसबाट डराएर खुट्टा कमाउनुभन्दा पनि यसबाट सावधानी अपनाउनु बेस हुन्छ । डराएर रोग थप्नुभन्दा पनि साहसका साथ रोगको मुकाबिला गर्नुले हामी सुरक्षित हुन सक्छौं । यस्ता रोगहरूको प्राचीन इतिहासबाट सावधानीको साहस बटुलौं ।

विश्वमा विभिन्न सयममा आएका प्राकृतिक प्रकोप वा दैवी प्रकोपबाट धेरै धनजनको क्षति भएको पाइन्छ । कालो रोग, बिफर, हैजा, एचआईभी एड्स, स्पेनिस फ्लुले करोडौं मानिसको ज्यान लिएको थियो । पछिल्लो पटक विश्वमा फैलिएको स्पेनिस फ्लुले ५ करोडभन्दा बढिको ज्यान लिएको थियो । त्यसैगरी भूकम्प, भलबाढी, पहिरो, सुनामी, लु, शीतलहर र भोकमरी, अनिकालका कारण पनि विभिन्न देशमा हरेक वर्ष धनजनको क्षति हुँदै आइरहेको छ । यस्ता प्रकोपबाट सबैभन्दा धेरै क्षति बेहोर्ने राष्ट्र चीन हो । चीन नै आज विश्वको ठूलो व्यापारिक राष्ट्र, औद्योगिक राष्ट्र, उत्पादक राष्ट्र र रोजगारी सिर्जना गर्ने राष्ट्रका रूपमा चिनिँदै आएको छ ।
जुन मानिसको नियन्त्रणमा छैन त्यसलाई सावधानीपूर्वक स्वीकार गर्नुको विकल्प पनि छैन । प्राकृतिक प्रकोपमा आफूलाई पर्दा मलाई मात्र प-यो भन्ने लाग्छ, तर त्यसो होइन । यस्ता प्रकोप वा महामारीले सबैलाई समान रूपमा असर पु-याइरहेको हुन्छ । यो आइरहने नियमित प्रक्रिया रहेछ, आउँछ जान्छ, सामान्य रूपमा ग्रहण गर्ने बानीको विकास गर्नुपर्छ, जसले हामीलाई डरबाट मुक्ति दिलाउँछ । वर्तमान कोरोना भाइरस डिजिज समान रूपमा विश्वमा फैलिरहेको छ, सावधानी अपनाइरहेका देशमा कम क्षति छ भने सावधानीलाई खासै ध्यान नदिने देशमा बढी क्षति देखिएको छ । विश्वकै उच्च जनसंख्या भएको चीनले पूर्वसावधानीमा जोड दिएकाले चीन कोभिड–१९ को क्षतिबाट सुरक्षित रहेको देखिन्छ । तर, आज भारत र अमेरिका हेर्ने हो भने सावधानीमा खासै ध्यान नदिनुले कस्तो भयावहको स्थिति सिर्जना भइरहेको छ । भारतमा दिनमै लाखौंको संख्यामा संक्रमित र हजारौंको संख्यामा मृत्युवरण भइरहेको छ । आफैं भ्याक्सिन उत्पादन गरी निर्यात गर्ने राष्ट्रमा यो भयावहको स्थिति देखिनु सावधानीको अभाव नै हो ।
जिउनुको पहिलो प्राथमिकता बाँच्नु नै हो । हामी बाँच्यौं भने मात्र जीवनको यथार्थता मुखरित हुन्छ । रोगमा आत्तिनुभन्दा पनि साहसका साथ सावधानीपूर्वक रोगसँग लड्नुले विजय दिलाउँछ । हुन त जन्मनु मर्नकै लागि हो तर निश्चित उमेरसम्म जिउन आएको मानिस मानवीय असावधानीका कारण मृत्युलाई प्राप्त गर्नुले जन्मलाई सार्थक बनाउँदैन । यो अवस्था आफू सुरक्षित हुँदै सकेको सहयोग गर्ने समय हो, बाँच र बचाउ भन्ने मन्त्रलाई मूलमन्त्र बनाउँदै मानवीय समवेदनालाई आत्मासात् गर्नुपर्छ । यो महामारी केही होइन, आयो जान्छ । यस महामारीबाट विजयी बनौं, सुरक्षित बसौं, सावधानी अपनाऔं ।

प्रतिक्रिया दिनुहोस्