सेयर बजारमा दिनहुँ कीर्तिमान «

सेयर बजारमा दिनहुँ कीर्तिमान


निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प भए पनि अर्थतन्त्रको सूचक मानिने सेयर बजारले भने दिनहुँ रेकर्ड बनाउन थालेको छ ।
एक महिनापछि आइतबार रेकर्ड कायम गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक सोमबार फेरि नयाँ उचाइमा पुगेको छ । आइतबार ५४.२१ अंकले बढेर २७३८.२९ अंक कायम भएकोमा नेप्से सोमबार २०.७१ अंकले बढेर २७५९.२१ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।
सोमबार कारोबार सुरु हुनेबित्तिकै नेप्से २७७० अंकमा पुगेपनि पुनः घटेर २७४८ अंकमा झरेको थियो । बजार बन्द हुदासम्म पुनः बढेर २७५९ अंकमा पुगेको हो ।
सोमबार बजार बढेर नयाँ रेकर्ड कामय गरेपनि कारोबार रकममा भने गिरावट आएको छ । आइतबार १० अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ९ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
कोरोना महामारीले अर्थतन्त्रको सूचक खराव भएपनि सेयर बजार भने उकालो लाग्नुलाई आश्चर्यजनक रुपमा हेरिएको छ । तर, लगानीकर्ताहरु भने सेयर बजारमा भएको नीतिगत सुधार र बैंकको व्याजदरलाई बजार बढ्नुको मुख्य कारण रहेको औल्याउँछन् ।
निषेधाज्ञाका कारण सेयरमा लगानी बढिरहेको र बैंकको ब्याजदर समेत एकल अंकमा रहेकाले बजारमा सकारात्मक प्रभाव परेको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । अनलाइनमार्फत कारोबार गर्न पाउने सुविधाका कारण एनआरएनले समेत सेयर बजारमा लगानी गर्न पाएको र यसले सेयर बजारको वृद्धिमा सघाएको उनको विश्लेषण छ ।
निषेधाज्ञाको समयमा पुँजीबजार लगानीको एकमात्र क्षेत्र भएको र अन्य क्षेत्रको लगानीयोग्य रकम समेत पुँजी बजारमा आइरहेको र यसले बजार बढाउन सघाएको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन् । कोभिडले अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको भन्दै सेयरमा लगानी गर्दा अहिलेको अवस्था मात्र नहेरी सचेत भएर लगानी गर्नुपर्ने उनको सुझाव छ ।
सोमबार बजारमा ११ कम्पनीको सेयर १० प्रतिशतले वृद्धि भएको छ । यसदिन रुरु जलविद्युत, समता घरेलु लघुवित्त, राधी विद्युत कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंकलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्