जीवन रक्षाका लागि हरसंभव प्रयास गर्न निर्देशन «

जीवन रक्षाका लागि हरसंभव प्रयास गर्न निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षाका लागि हरसंभव प्रयास गर्न मातहतका निकायलाई निर्देशन दिए । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीको आइतबार सिंहदरबारमा बसेको विशेष बैठकमा प्रधानमन्त्री ओलीले प्रक्रियामा अल्झिएर र आर्थिक स्रोतको अभावमा कुनै पनि नागरिकको ज्यान जाने अवस्था सिर्जना हुन नदिन निर्देशन दिए । उहाँ झन्झटिला प्रक्रिया छोट्याएर कानुन मिलाएर, प्रक्रिया मिलाएर भए पनि हरहालतमा नागरिकको जीवन रक्षामा जुट्न निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्रीले दिएको निर्देशन उदृत गर्दे उनले भने, “प्रधानमन्त्रीले हाम्रा प्रक्रियामा अल्झिएर वा आर्थिक स्रोतको अभावले कुनै पनि नागरिकको ज्यान जानुहुँदैन । त्यसो भएको हुनाले प्रक्रिया झन्झटिला छन् भने छोट्याएर सातामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भए पनि तत्काल नागरिकको जीवनरक्षाका लागि जे–जे गर्नुपर्छ त्यो गर्नुहोस् र त्यसका लागि आवश्यक कानुन मिलाउनुपर्ने भए कानुन मिलाउनुहोस्, प्रक्रिया मिलाउनु पर्ने भए प्रक्रिया मिलाउनुहोस्, र्यापिड रेस्पोन्स टिम बनाउनुहोस् तर हरहालतमा नागरिको जीवनरक्षा हुनुपर्याे । तदनुरुप काम गर्नुहोस् भन्नुभएको छ । ”
बैठकमा कोभिड–१९ संक्रमणको महामारीसँग प्रभावकारी ढंगले लड्नका लागि स्वास्थ्य संकटकाल लगाउनेबारे पनि छलफल भएको जानकारी दिए । तर, स्वास्थ्य संकटकाल लगाउनका लागि विद्यमान संक्रामक ऐन २०२०, स्वास्थ्य प्रणालीको संरचना तथा सार्वजनिक खरिद ऐनमा भएका प्रक्रियाहरूले समस्या पारेकाले अनुकूल कानुन बनाउने विषयमा सरकोकारवाला मन्त्रालयसंग पनि छलफल गरिएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
उनले भने, “स्वास्थ्य संकट कालका बारेमा पनि छलफल भएको छ । नतिजा आउने भए मात्रै लगाउने । नभए किन लगाउने । हामी तुलनात्मक अध्ययन गरिरहेका छौं । अहिले हामीलाई तीनवटा क्षेत्रमा समस्या देखिएको छ । देशको समग्र स्वास्थ्य प्रणालीलाई एकीकृत ढंगले महामारीविरुद्ध लगाउनु जरुरी छ । हामीसँग स्वास्थ्य मन्त्रालय र त्यस मातहतका अस्पताल छन् । विभिन्न प्रतिष्ठानहरू छन् ती झण्डै–झण्डै स्वायक्त जस्ता छन् । प्रादेशिक अस्पतालहरू छन् र स्थानीय तहहरूले सञ्चालन गरेको स्थानीय आधारभूत अस्पताल छन् । ती सबैलाई युनिफाइड ढंगले सञ्चालन गर्न हामीलाई केही कानुनी प्रबन्धहरू चाहिएको छ । दोस्रो हाम्रा खरिद प्रक्रियाहरूमा अहिले पनि समस्याहरू छन् । त्यसैले केही कानुनी प्रबन्धहरू गर्नुपर्ने छ । अहिलेको माहामारीविरुद्ध लड्न हामीलाई केही थप कानुनी संरचना आवश्यक भएको हामीले महसुस संक्रामक रोग ऐन २०२० का प्रावधानले मात्रै नपुग्ने भएकाले त्यस विषयमा आवश्यक तयारी गर्नका लागि कानुन मन्त्रालय र सम्बद्ध अरु निकायहरूलाई भनिएको छ ।”
उनले तत्काल देखिएको अक्सिजन आपूर्तिको समस्या समाधानका लागि उद्योगीलाई डिमाण्ट चार्जलगायतका छुट दिएर उत्पादन वृद्धि गर्ने विषयमा पनि बैठकमा छलफल भएको जाकारी दिए । उनले लिक्विड अक्सिजन ल्याउन भारतसंग आग्रह गर्ने र ल्याउनका लागि आवश्यक ट्यांकरहरूको प्रबन्ध गरिने बताए । उद्योगीहरूले सबै सिलिण्डर स्वास्थ्य निकायलाई बुझाएकाले विस्तारै सिलिण्डर अभावको समस्यामा कमि आउँदै गएको तथा चीन र ओमानबाट आउँदै गरेका र निजी क्षेत्रले मगाएको सिलिण्डर भित्रिएपछि सिलिण्डर अभावको समस्या समाधान हुने विश्वास व्यक्त गरे । उनले सरकारको तयारीभन्दा रोगको प्रकृति र आक्रामक्ता पनि उच्च भएकाले गएको दुई साता निकै कठिन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्