संसद् सचिवालयको खोप कार्यक्रम स्थगित «

संसद् सचिवालयको खोप कार्यक्रम स्थगित

संघीय संसद सचिवालयले दोश्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ । संसदसँग मात्रै सरोकार राख्नेहरु भन्दा बाहिरका पनि खोप कार्यक्रममा सहभागी भएपछि खोप अभाव भएको भन्दै सचिवालयले कार्यक्रम नै स्थगित गरेको हो ।
संसद सचिवालयले माग गरेको भन्दा झण्डै दोब्बरको संख्यामा खोप लगाउनेहरु भएपछि खोप अभाव भएको हो । संसदसँग सरोकार राख्ने भन्दा बाहिरकाले खोप लगाएपछि संसद सचिवालयकै कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार, सुरक्षाकर्मीहरु दोश्रो खोप लगाउनबाट बञ्चित भएका छन् । संसद सचिवालयले सिभिल अस्पतालमा कोभिडसिल्डको पहिलो खोप लगाएका सांसद, कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार लगायतका लागि दोश्रो डोजको कार्यक्रम राखेको थियो । सोही कार्यक्रम अनुसार संसद सचिवालयसँग सम्बन्धीत हरुले पहिलो डोज लगाएको संख्याको आधारमा स्वास्थ्य मन्त्रालयसंग खोप माग गरेको थियो ।
सचिवालयले अघिल्लो डोज १४ सय ६५ खोप मागेर भीड नहुने गरी खोप लगाउनका लागि ३ दिनको कार्यतालिका सार्वजनिक गरेको थियो । कोभिडसिल्ड खोपको दोश्रो डोजको सुनिश्चितता हुन नसक्दा सांसदका परिवार, आफन्त, नजिकका, कर्मचारीका परिवार, आफन्त लगायत पनि खोप कार्यक्रममा सहभागी भए । इन्टरनेट सेवा प्रदायक संस्था क्लासिक टेक, केयुकेएल लगायत संस्थाका कर्मचारीले पनि खोप लगाएका थिए । संचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले दोश्रो डोजको सुनिश्चितता नहुँदा सांसदका परिवार, आफन्त, नजिकका मान्छे अनि संसद सचिवालय भन्दा बाहिरका सहभागी हुँदा समस्या भएको बताए ।
संसद सचिवलायले १४ सय ६५ खोप माग गरेकोमा दुई दिनमा १७ सय २९ खोप लगाइएको छ । जेठ १ गते ९ सय ५० जनाले र बैशाख ३१ गते ७ सय ७९ जनाले खोप लगाएका छन् । अझै पनि संसद सचिवालयका मर्यादापालक, सुरक्षाकर्मी र पत्रकारहरु नै दोश्रो डोज लगाउन पाएका छैनन् । प्रवक्ता डाक्टर पाण्डेले बाँकी रहेकाहरुलाई छिट्टै नै खोप लगाउने व्यवस्था मिलाइने बताए ।
संसद सचिवालयले नयाँवानेश्वर स्थित संघीय संसद भवनको लोत्से हलमा शुक्रबार, शनिबार र आइतबारका लागि खोपको दोश्रो डोज लगाउने व्यवस्था मिलाएको थियो । शुक्रबार प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष लगायत दुवै सदनका सांसदहरु, पदाधिकारीहरुका निजी सजिवालयका सबै कर्मचारीका लागि, शनिबार पदाधिकारीहरुका निजी सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र आइतबारका लागि संघीय संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरु, अन्तराष्ट्रिय सम्मेलन केन्द्र र नयाँवानेश्वरमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई र स्वकीय सचिव लगायतका सबै कर्मचारीहरु, मर्यादापालक, सुरक्षासँग सम्बन्धीत सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरुलाई खोप लगाउने कार्यक्रम तय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्