प्रधानमन्त्री ओली र नेता नेपालबीच भेट «

प्रधानमन्त्री ओली र नेता नेपालबीच भेट

अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता काठमाडौँ, २ जेठ : पार्टीभित्रको विवादको समाधान आपसी छलफलबाट निकाल्ने क्रममा नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको भेटवार्तामा । तस्वीर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/ रासस

नेकपा एमाले भित्रको विवाद समाधानका लागि कार्यदल गठन गरिएको छ ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन गरे । यसअघि गत वैशाख ३० गते दुई नेताबीच भएको बैठकमा समस्या समाधानका लागि कार्यदल गठन गर्ने निर्णय भएको थियो । आइतबार सिंहदरबारमा अध्यक्ष ओलीसँग भेट गरेर बाहिरिने क्रममा नेता नेपालले दुवै पक्षका ५÷५ जना सदस्य रहेको १० सदस्यीय कार्यदल गठन भएको जानकारी दिए । उनले आफूले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई पठाएको ६ बुँदा र २०७५ जेठ २ गतेभन्दा पहिलेको अवस्थामा पार्टीलाई फर्काउने गरी अरू बाँकी सबै कुराहरू टुंगो लगाउनका लागि कार्यदल गठन भएको जानकारी दिए ।
कार्यदलमा नेता नेपाल पक्षबाट नेता भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघु पन्त तथा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको पक्षबाट नेता सुवास नेम्वाङ्गको नेतृत्वमा, विष्णु पौडेल, प्रदीप ज्ञवाली ,शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ ।
कार्यदललाई ३ दिनको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्