नुवाकोटमा जेठ १८ गतेसम्म निषेधाज्ञा «

नुवाकोटमा जेठ १८ गतेसम्म निषेधाज्ञा


कोरोना भाइरस संक्रमितको दर निरन्तर बढिरहेकाले रोकथाम तथा नियन्त्रणका लागि यही जेठ १८ गतेसम्म निशेधाज्ञा लम्बाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १८ गते मध्यरातसम्म निशेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।
नुवाकोटमा वैशाख २१ गते विहान ५ बजेदेखि एक साताका लागि सुरु गरिएको निषेधाज्ञा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको वैशाख २६ गतेको बैठकले जेठ ३ गतेसम्म निशेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । निषेधाज्ञाको समयमा अत्यावस्यक काम बाहेक घरबाट बाहिर निस्न नपाइने, सबै प्रकारको भेला सम्मेलन धार्मिक, सामाजिक, साँस्कृतिक, गतिविधि गर्नका लागि हुने जमघटहरू गर्न र गराउन नपाइने, सार्वजनिक खेलकुद नाच मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार लगायत भीडभाड हुने कार्यक्रमको आयोजना तथा सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी दुलालले जानकारी दिए ।
भौतिक रूपमा भेला भई सञ्चालन हुने शैक्षिक गतिविधिसमेत यस समयमा सञ्चालन गर्न रोक लगाइएको छ । यस्तै खाद्यवस्तु, पेट्रोलियम पदार्थ, पानी तथा अत्यावस्यक सामग्री बोकेको सवारी साधन, बिरामी तथा कुरुवा बोकेको एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारीसाधन बाहेकका सवारीसाधनहरू सञ्चालन गर्न नपाइने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको छ । तोकिएको सरक्षा मापदण्ड पालना नगरी सञ्चालन अनुमती प्राप्त सवारी साधन प्रयोग तथा सञ्चालन गर्न नपाइने बताइएको छ ।
यस्तै खाद्य सामग्री, तरकारी, फलफूल, औषधी र स्वास्थ्य सामग्रीसम्बन्धी पसल बाहेक अन्य पसल व्यवसाय बन्द गर्ने, सञ्चालन गर्न पाइने पसल व्यवसायहरू नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी बिहान १० बजेसम्म मात्र खुल्ला गर्न पाइने जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको छ ।
जिल्लामा कोरोना भाइरस संक्रमणको कारण ८ जनाको निधन भइसकेको छ भने संक्रमितको संख्या हाल सम्म २ हजार ६६ पुगेको छ । साथै, सक्रिय संक्रमित ६ सय ९३मध्ये ५३ जना अस्पतालको आइसोलेसनमा, ६ जना आइसोलेसन सेन्टरमा र ६ सय ३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यलय नुवाकोटले जनाएको छ ।

गमला लामा

प्रतिक्रिया दिनुहोस्