उनीहरू एक्ला छैनन् «

उनीहरू एक्ला छैनन्

झन्डै १५ दिन उमेरको एउटा बाछी नदी किनारमा फेला प-यो । धेरै मुस्किलले उनलाई बचायौं । आज उनी आमा बन्ने भएकी छिन् । धापासीमा कसैको खुकुरी प्रहारबाट शरीरको झन्डै २ केजीभन्दा ज्यादा मासु गायब भएको बाछाको उद्धार २०७७ साउन १५ गते भयो । होसियारीपूर्वक उसको उपचार गरियो, आज ऊ तन्दुरुस्त भएको छ । खान नपाएर जीर्ण बनेका, पानी पिउन नपाएर प्याकप्याक मुख सुकेका, सडक दुर्घटनामा घाइते बनेका, सानो उमेरमै बाटोमा फालिएका, कुकुरले टोकेर रेबिज रोग लागेका र यस्तै अनेक किसिमले दुव्र्यवहारमा परेका गाईबाछाहरूको संरक्षणका लागि २०७६ जेठ १ गते स्थापना गरिएको असहाय गाईबाछा संरक्षण अभियानले तेस्रो वर्षमा पदार्पण गर्दै गर्दा धेरै सफलताका कथाहरू सिर्जना भएका छन् ।
बाग्मती नदी सफाइका क्रममा हरेक दिन कम्तीमा एउटा बाछाको अन्त्येष्टि गर्नुपरेको क्रूर अनुभवलाई समेट्दै अब उनीहरूले अकालमा मृत्युवरण गर्नु नपरोस् भन्ने हेतु असहाय गाईबाछा संरक्षण अभियानको थालनी भएको हो । २०७० देखि २०७६ को अवधिमा नदी किनारमा १४ सय मृत गाईबाछाको अन्तिम व्यवस्थापन गर्नुपरेको कटु अनुभवले के दर्साएको छ भने खास गरी काठमाडौं उपत्यकाभित्र हरेक दिन मासुका लागि असहाय गाईबाछाहरूको तस्कर गर्ने र उनीहरूलाई मार्ने गरिएको समेत पाइएको छ । नदी किनारमा देखिने लादीका थुप्रोहरू यसका उदाहरण हुन् । कुकुरको टोकाइ, गाडीको ठक्करले दैनिक आधा दर्जन गौप्राणीको हत्या हुने गर्छ । अखाद्य पदार्थ खाएर या पानी पिउन नपाएर र खाना खानै नपाएर दैनिक तीनवटा यस्ता प्राणीहरू मर्ने गर्छन् । अत्यन्तै साना महिना दिन पनि उमेर नपुगेका बाछाहरू खानै नजानेर कमजोर भई मर्ने गर्छन् । यसरी दैनिक एक दर्जनभन्दा बढी राष्ट्रिय जनावर या तिनका सन्तानले मृत्युवरण गरिरहेको सन्दर्भमा उनीहरूको उचित हेरचाह गर्दै जीवन दिने उद्देश्यले स्थापना भएको असहाय गाईबाछा संरक्षण अभियानअन्तर्गत यसबखत २ सयभन्दा बढी गाईबाछाले नयाँ जीवन पाइरहेका छन् ।
उपत्यकालगायत काभ्रे जिल्लासमेतबाट सडकमा बिचल्लीमा पारिएका गाईबाछाहरूलाई संकलन गर्दै उनीहरूलाई जीबन दिने कार्यलाई स्वयंसेवी रूपमा सञ्चालन गरिएको हो । पूर्ण रूपमा स्वयंसेवी तवरले सञ्चालन गरिएको यस अभियानअन्तर्गत पछिल्लो समयमा विभिन्न व्यक्तिहरू आफ्नो जन्मदिन, आफन्तको स्मृतिलगायत विविध शुभकार्यका अवसरमा संरक्षण स्थल आई उनीहरूलाई भोजन गराउने गरिरहनुभएको छ ।
हामी गर्न सक्छौं र हामीले गर्नुपर्छ भन्ने आदर्शलाई पछ्याउँदै सुरु गरिएको यस अभियानका क्रममा बितेका दुई वर्षमा ३ सय ५० भन्दा बढी गाईबाछाको विभिन्न स्थानबाट उद्धार गरिएको छ । छाना, खाना र उपचारको उचित प्रबन्धको सुनिश्चितता यस अभियानले गर्दै आएको छ । नेपालमा स्वयंसेवी अभियानको औचित्य पुष्टि गर्दै समाज परिवर्तनका लागि स्वयंसेवी अभियान सम्भव छ भन्ने मान्यता स्थापनामा यस अभियानले प्रमाणित गरेको छ ।
राष्ट्रिय जनावर र तिनका सन्तानमाथिको क्रूरता र अन्याय अन्त्य गरौं, प्राणी अधिकारको सम्मान गरौं भन्ने आग्रह गर्दै यसतर्फ सरकारी निकायको ध्यान आकर्षित गर्ने र गाईपालक कृषहरूलाई आफ्नो नैतिकतालाई बन्धकी नराख्न आग्रह गर्दै आएका छौं । स्थानीय सरकारले प्रत्येक नगर या गाउँपालिकामा एउटा कान्जी हाउस स्थापना गर्नुपर्ने, कृषि क्षेत्रमा सरकारी लगानी गर्दा बाछा व्यवस्थापनको जिम्मेवारी सरकार स्वयंले वहन गर्नुपर्ने, राष्ट्रिय जनावर वा तिनका सन्तानमाथिको क्रूरतालाई कानुनी रूपमा दण्डित गरिनुपर्ने, एउटा स्थानीय एकाइबाट अर्को एकाइमा गाईबाछा ओसारपसारमा स्थानीय निकायको अनुमति अनिवार्य गर्नुपर्नेजस्ता विषयमा यस अभियानले सम्बन्धित सबै पक्षको ध्यानाकर्षणसमेत गराएको छ ।
—उत्तम पुडासैनी
अध्यक्ष
असहाय गाईबाछा संरक्षण अभियान

प्रतिक्रिया दिनुहोस्