कोरोना नियन्त्रणको सूत्र : सुशासन र स्वअनुशासन «

कोरोना नियन्त्रणको सूत्र : सुशासन र स्वअनुशासन

कोभिड–१९ को पहिलो चरणको संक्रमणबाट तंग्रिन नपाउँदै दोस्रो चरणको महाव्याधिको सामना गर्न विवस पारेको छ । डबल म्युटेन्ट र रूपान्तरित कोरोनाको संक्रमण दर र गति उच्च भएको विज्ञहरूले दाबी गरेका छन् । नयाँ भेरियन्ट कोभिडले कैयौंको ज्यान गइसकेको छ । यस भाइरसको संक्रमण दर उच्च बिन्दुमा असारतिर मात्र पुग्ने सरकारी आकलन छ । अझ जोखिम बढ्ने कारणले सर्वत्र त्रास छाएको छ । यस महामारीसँगको सामना गर्न सरकार र सरोकार पक्षले बेलैमा आक्रामक रणनीति अवलम्बन गर्नुको विकल्प छैन । सहर मात्र नभएर समुदाय र गाउँगाउँसम्म पनि कोरोना छ्यापछयाप्ती फैलिइसकेको तथ्य र तथ्यांकले पुष्टि गरेको छ । यस महाव्याधिलाई ख्यालख्याल सम्झिँदा अझ धेरै जनधनको क्षति बेहोर्नुपर्ने नहोला भन्न सकिन्न । अहिलेसम्मको अध्ययन र अनुभवले सुशासन र स्वअनुशासनको अवलम्बनले मात्र कोरोना नियन्त्रण सम्भव हुने पुष्टि भएको छ ।
सरकार सुशासन कायम गर्न चुकेका कारण कोरोना संक्रमणको तीव्रता बढेको आमनागरिकको गुनासो छ । राज्यले कोरोना नियन्त्रणका लागि चालेका कदम फितलो सावित हुँदै गएका छन् । औषधिलगायतका मेडिकल सामग्रीहरूको महँगी, अभाव, कालोबजारी र कमिसनखोरीको जगजगीले सुशासनको खिल्ली उडाएको छ । सरकारको बोली र व्यवहारमा तादात्म्यता कमै पाइन्छ । तीनै तहका सरकारबीच सहयोग र समन्वय आशालाग्दो छैन । सरकारी आदेश र निर्देशन मात्र नभएर एक्सनले मात्र कोरोना नियन्त्रण गर्न सकिन्छ । सुशासनका लागि न्यूनतम आधारभूत सर्तहरू पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया, उत्तरदायित्व र जवाफदेहिता, निष्पक्षता, समावेशिता, विकेन्द्रीयतालगायत आवश्यक स्रोतसाधनको न्यायोचित वितरण आदिको पर्याप्त पालना भएको पाइँदैन । बिरामीको चाप चौतर्फी दिनप्रतिदिन बढ्दो छ । आवश्यक स्रोतसाधनको सीमितताका कारण अस्पतालहरू अस्तव्यस्त बन्न पुगेका छन् । बिरामीले अस्पतालमा बेड पाउन उपचाररत बिरामीको मृत्यु वा निको हुनुपर्छ । एम्बुलेन्समै अक्सिजन दिएर उपचार भइराखेका दृश्य देखिने क्रम बढ्दो छ ।
हाम्रोमा स्वास्थ्य समस्यासँग जुध्ने दूरदर्शी र दिगो व्यवस्थापनको खाँचो टड्कारो देखिएको छ । अघिल्लो कोरोना कहरको व्यवस्थापनका लागि बनाइएका भौतिक संरचनालगायत व्यवस्थापनहरू बेवारिसे बनेका कारण अहिले पुनः नयाँ व्यवस्थापन गर्नुपरेको जगजाहेर नै छ । अर्कातर्फ कोरोना भ्याक्सिन आयातमा भ्रष्टाचारको कारणबाट समयमा खोप नआएको भन्ने समाचारले जनमानसमा आक्रोश र निराशा छाएको छ । महामारीले सर्वत्र हाहाकार मच्चाएको बेलामा सरकार ढाल्ने र जोगाउने खेलमा राजनीतिक दलहरू तल्लीन रहनु विडम्बना हो । जनताको जीवनको मूल्यलाई नजरअन्दाज गर्दै सत्ताधारी र विपक्ष दलहरूले कुर्सी राजनीतिमा आफ्नो दिलोज्यान लगाउनु उदेकलाग्दो अवस्था हो । कोरोना संक्रमणलाई निस्तेज पार्दै निर्मूल गर्न बेलैमा सरकारलगायत सबै नलागे अझ धेरै धनजनको क्षति बेहोर्नुपर्ने निश्चित छ । निकट भविष्यमा नै कोरोनाको तेस्रो लहर पनि आउने विज्ञहरूको भविष्यवाणीले आमजनसमुदायमा झन त्रासको वातावरण छाएको छ । संक्रमणको तीव्रताका कारण र रोकथामका उपायबारे गहन अध्ययनका आधारमा नियन्त्रणको रणनीति अवलम्बन गरिनु दूरदर्शिता ठहर्छ । घरमा आगो लागेपछि मात्र कुवा खन्ने हाम्रो बानीलाई त्यागेर भविष्यदर्शी नीति र रणनीति नबनाएसम्म यस्ता सानाठूला क्षतिहरू बेहोर्नु हाम्रो नियति नै बन्नेछ ।
कोरोनाको दोस्रो लहरले भारतलाई नराम्ररी गाँजेको छ । अक्सिजन तथा औषधिको मात्रै नभएर स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको समेत अभावले कैयौंले समयमा नै उपचार नपाएर ज्यान गुमाएको समाचारहरू सार्वजनिक भएका छन् । अझ भारतको ग्रामीण इलाकामा त स्वास्थ्य संस्थाको अभावमा रूखको छहारीमा सामान्य बेडमा बिरामी राखेर उपचार गराइराखेको टीठलाग्दा दृश्यहरू टेलिभिजनमा प्रसारित भएका छन् । अर्कातर्फ यस महामारीलाई कमाउ धन्दाका रूपमा अक्सिजन तथा रेम्डिसिभिरलगायतका महŒवपूर्ण औषधिको कालोबजारी गर्ने व्यापारीहरूको जगजगी त्यत्तिकै छ । नेपालमा समेत नक्कली रेम्डिसिभिर बेच्ने व्यापारी विराटनगरमा पक्राउ परेका छन् ।
भारतमा अनियन्त्रित रूपमा सल्केको कोरोना दोस्रो लहरको खुला सिमाना र अनियन्त्रित आवगमनका कारण नेपालमा पनि तीव्र रूपमा संक्रमण फैलिनु अन्यथा होइन । भारतमा कोरोनाको डरले स्वदेश फर्किने नेपालीहरूको लर्कोले अहिले कमजोर स्वास्थ्य संरचना र पहुँचका कारण गाउँगाउँसम्म कोरोना संक्रमण बढ्दो रूपमा छ । आवश्यक उपकरण र औषधिसहित पर्याप्त जनशक्तिको अभावमा कोरोनाको स्थिति अझ भयावह बन्ने प्रायः निश्चित छ । भारतबाट कोरोना खोप ल्याउने क्रममा कमिसनको चक्करले ढिला भएको समाचारले जनमानसलाई आक्रोशित बनाएको छ । अर्कातर्फ कतिपय निजी अस्पतालले अस्वाभाविक अधिक शुल्क कोभिडका बिरामीसँग असुल्ने गरेको गुनासोप्रति सरकारले नतिजामुखी कारबाही गर्न विलम्ब गर्नु दुःखद हो । जनताको जीवनसँग खेलबाड गर्ने जोकोहीलाई पनि सत्यतथ्यको आधारमा निर्मम कारबाही गर्न हिचकिचाउनु हुँदैन ।
कोरोनालाई परास्त गर्न स्वअनुशासन, स्वस्थ र स्वच्छ बानीबेहोरा तथा सन्तुलित पौष्टिक आहार अर्को विकल्प हो । रोगप्रतिरोधात्मक क्षमता बढाउन खानपान र शारीरिक व्यायाम तथा सकारात्मक सोच पनि प्रभावकारी हुने विज्ञहरूको दाबी छ । कोरोना महाव्याधि उपचारका लागि विकास गरिएको खोप सबै नागरिकलाई उपलब्ध भएको छैन । खोपको प्रभावकारितामाथि नै शंका उब्जिएकाले उपचारभन्दा पनि रोकथामका उपायहरू नै कोरोनाबाट बच्ने उत्तम उपाय ठहरेको छ । सुरुमा चमेरोबाट मानवमा सरेको कोरोना भाइरस अहिले मानवबीचको संसर्गबाट सर्दै छ । मानव संसर्गलाई निरुत्साहित गर्न सामाजिक दूरी बढाउन विभिन्न उपायहरू हुन सक्छन् । अहिले रोकथामका लागि विश्वभर लकडाउन उपाय लोकप्रिय बनेको छ । त्यस्तै कोरोना संक्रमित पहिचान र उपचारका लागि ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्टलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्ने खाँचो भएको छ ।
कतिपय व्यक्तिहरू स्वास्थ्यसम्बन्धी मापदण्डको बेवास्ता गर्दै अनावश्यक रूपमा घरबाहिर निस्केर रोग सल्किने जोखिम निम्त्याएका घटना सार्वजनिक हुने गरेका छन् ।
कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा रहेका स्वास्थ्य तथा सुरक्षाकर्मीमाथि यदाकदा आक्रमणका निन्दनीय घटनाहरू पनि भएका छन् । संक्रमितको उपचारमा नजिकबाट खटिएका स्वास्थ्यकर्मीरूपी देवदूतलाई हातपात, दुव्र्यवहार गरेका समाचार सार्वजनिक हुनु तथा सरकार र सरोकार निकाय टुलुटुलु हेरर बस्नु दुःखद हो । अज्ञानता, भ्रम तथा कतिपय अवस्थामा नियतवश पनि यस्ता अप्रिय घटनाहरू हुने गरेका छन् । यस्ता अमानवीय घटनाप्रति जिम्मेवार जोकोहीलाई पनि निर्मम कारबाही गरी अग्रपङ्क्तिमा खटिएका पेसाकर्मीको मनोबल उच्च राख्न हिचकिचाउनु गम्भीर भूल हुन जान्छ । अहिले दोस्रो लहरको कोरोना तीव्र र घातक रूपमा फैलिइरहेको अवस्था स्वास्थ्यकर्मीलगायत अग्रपङ्क्तिमा खटिएकाहरूका लागि सरकारले दिल खोलेर सबै खाले सेवा सुविधा प्रदान गरिनुपर्छ ।
स्वास्थ्यकर्मीप्रति अमानवीय र आत्मघाती कदम गर्ने विविध कारण हुन सक्छन् । कोरोना कहरमा स्वास्थ्यकर्मीको महत्व थाहा नपाएर वा अरूको लहैलहैमा लागेर, जे गरे पनि हुन्छ भन्दै हेपेर, स्वास्थ्यकर्मीहरूमार्फत कोरोना संक्रमणका कारण आफूलाई सर्ला कि भन्दै आत्तिएर तथा अराजक झुन्डहरूले वितण्डा मच्चाउने उच्छृंखल तत्वहरूको सक्रियतामा यस्ता असामाजिक दुव्र्यवहारहरू हुने गर्छन् । यस्ता नकारात्मक प्रवृत्तिहरूलाई निरुत्साहित र नियमन गर्न जनचेतनामूलक कार्यक्रम तथा सख्त कानुनी कारबाही गर्न सरकार, समुदायलगायतका हरेक नागरिकले तदारुकता देखाउन विलम्ब गरिनु हुन्न । स्वास्थ्यकर्मीले आफ्नो दायित्वबाट पन्छिँदा आउने भयावह स्थितिको आकलन गरेर बेलैमा कडा कारबाहीको नीति लिन तीनै तहका सरकारले तदारुकता देखाउनु दूरदर्शिता ठहर्छ । स्वास्थ्यकर्मीहरू आफ्नो रोजीरोटीका लागि मात्रै नभएर मानव सेवाजस्तो पवित्र काममा जीवन नै दाउमा राखेर दिलोज्यानले लागेका छन् । उनीहरूको हौसला र मनोबल बढाउन सर्वसाधारणदेखि सरकारसम्मले मुक्त कण्ठले प्रशंसा, प्रोत्साहन तथा सम्मान गर्नु हामी सबैको कर्म र धर्म हो ।

प्रतिक्रिया दिनुहोस्