कोरोनाले फेरि थला पर्यो होटल व्यवसाय «

कोरोनाले फेरि थला पर्यो होटल व्यवसाय



गत वर्ष कोरोनाको महामारीका कारण ९/१० महिना घाटा व्यहोरेका जुम्लाका होटल व्यवसायी भर्खर लयमा फर्किन थालेका थिए । पर्यटकहरुको चहलपहल पनि बढ्न थालेको थियो । व्यवसाय लयमा फर्कन थालेसँगै जुम्लाका व्यवसायीले होटलमा करोडौं लगानी समेत गरेका थिए । जुम्लाको कान्जिरोवा, स्टार मानसरोवर लगायतका होटलहरुले करोडौ लगानी गरेर होटल विस्तारको कामसमेत अघि बढाएका थिए ।
पहिलो चरणको कोरोनाबाट थलिएका होटल व्यवसायी फेरि दोस्रो लहरको संक्रमणबाट प्रभावित भएका छन् । गत वर्ष बैंक तथा वित्तीय संस्थाले ब्याज मिनाह गर्ने भनिएपनि कोरोना सामान्य भएसँगै ब्याजसहित ऋण चुक्ता गर्न ताकेता गरेका थिए । आम्दानी नभएपनि व्यवसायीले ऋण चुक्ता गरे ।
गत वर्षको असर बाँकी छँदै फेरि कोरोनाको महामारीका कारण लकडाउन र निषेधाज्ञा जारी भएपछि होटल व्यवसाय प्रभावित हुँदा अर्थतन्त्र धरासयी हुनुका साथै करोडौंको लगानी समेत डुब्न थालेको व्यवसायी बताउँछन् ।
“भर्खर व्यवसाय लयमा आएको थियो । पर्यटकको चाप पनि बढेर खुसी लागेको थियो” कान्जिरोवा होटलका सञ्चालक नोर्बु लामा भन्छन्, “अब समय राम्रो भयो भनेर सुविधायुक्त पार्टी प्यालेस बनाउन एक करोड लगानी गरे । तर एकाएक कोरोना बढेपछि फेरि व्यवसाय थला पर्यो ।”
जिल्लामै नमुना तथा सुविधायुक्त पार्टी प्यालेस बनाउन करोडौ लगानी गरेका लामाले कोरोना कारण व्यवसाय थला परेको बताए । कर्णाली प्रदेश राजधानीपछिको दोस्रो ठूलो शहर जुम्ला खलंगामा तीन दर्जन भन्दाबढी साना ठूला होटल सञ्चालित छन् ।

प्रतिक्रिया दिनुहोस्