सेयर बजारको आगामी बाटो «

सेयर बजारको आगामी बाटो

अघिल्लो सालको लकडाउनको सुरुमा १ हजार १ सयको आसपास रहेको सेयर बजारले एक वर्षपछि आइपुग्दा २ हजार ७ सय नाघेर आइतबार नयाँ किर्तीमान राखेको छ । कोभिड–१९ को महामारीले देशका सम्पूर्ण आर्थिक क्षेत्रहरू ओरालो लागेको समयमा पुँजीबजारमा सकारात्मकता सञ्चार भएको छ । यसरी सेयर बजार उकालो लाग्नुका पछाडि धेरै कारण छन्; जसमध्ये अनलाइन प्रविधिको विकास, बजारमा थुप्रिएको तरलता र लगानीकर्ताको सेयर बजारप्रतिको आकर्षण प्रमुख हुन् । एक वर्षको अन्तरालमा हेर्ने हो भने सेयर कारोबारका लागि डिम्याट खाता खोल्नेहरूको संख्या दोब्बरले बढेको छ । दैनिक कारोबारको रकमसमेत १० अर्ब नाघेको छ । यसले पनि सेयर बजारमा लगानीकर्ताको आकर्षण बढाएको देखिन्छ । यसै परिप्रेक्ष्यमा आगामी दिनमा सेयरको अवस्था र बजेटमा सेयर बजारका लागि गरिएको अपेक्षाको विषयमा कारोबारकर्मी सुमित सुवेदीले सेयर लगानीकर्तासँग गरेको कुराकानीको सार :

सेयर बजारका लागि सकारात्मक नीति–नियम ल्याउनु पर्छ
छोटेलाल रौनियार
अध्यक्ष
नेपाल इन्भेस्टर्स फोरम

अहिले सेयर बजार निकै सकारात्मक छ । लगानीकर्ताहरूको हौसला पनि बुलन्द छ । त्यसका पछाडि विभिन्न कारण छन् । लकडाउनमा सबै उद्योगधन्दाहरू बन्द भए, जसले गर्दा लगानी गर्ने ठाउँ भएन । बैंकहरूमा तरलता बढ्यो । मानिसहरूले सेयर बजारमा लगानी गर्न थाले । त्यसमाथि सेयर मार्केटका लागि बैंकहरूले पनि ८÷९ प्रतिशत ब्याजदरमा सजिलै ऋण दिइरहेका छन् । अहिले बैंकको ब्याजदर पनि निकै कम छ । एक त बैंकको ब्याजदरले पनि पुँजीबजारलाई सहयोग गरेको छ । अर्को, सेयर बजारमा चार वर्षको व्यापारचक्र हुन्छ । सेयर बजार चार वर्ष चार महिनापछि उकालो लाग्न सुरु गरेको छ । अघिल्लो लकडाउनमा १२ सयको हाराहारीमा रहेको सेयर बजार बिहीबार २७ सय ८४ को हाराहारीमा पुगेको थियो । त्यसैले मास साइकोलोजी पनि निकै राम्रो भएको छ । नियामक संस्था नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बिमा समिति, अर्थ मन्त्रालय सबैले सेयर बजारका लागि राम्रो नीति लिएका छन् ।
कोभिडले गर्दा काम गर्न गाह्रो हुन्छ भन्दै अघिल्लो वर्षको चैत ९ गते बैंकहरूले सूचना निकाले । हामीले पनि सेयर मार्केट बन्द गरौं भनेर धितोपत्र बोर्डमा सूचना गयौँ । तर, उहाहरूले मान्नुभएन । बजार खोल्नुभयो । चैत १० र ११ गते दुई दिन बजार खोल्दा मात्रै ४ करोडको कारोबार भयो र नेगेटिभ सर्किट लागेर लगानीकर्ताको लगभग ६८ अर्ब रुपैयाँ डुब्यो । त्यसपछि हामीहरूले दबाब दिएर बजार बन्द गर्न लगायौं । बजार ५० दिनसम्म बन्द भयो । त्यसैबीचमा नेप्सेले अनलाइनमा सुधार ग-यो । त्योभन्दा पहिले अनलाइन कारोबार गर्दा निकै समस्या थिए । आईपीएस कनेक्ट पनि थिएन । तर, अहिले अनलाइनमा पनि त्यसको दाँजोमा निकै सुधार भएको छ । आजको दिनमा ६ लाखभन्दा बढीले अनलाइनमार्फत कारोबार गर्छन् । ३६ लाखभन्दा बढीले डिम्याट खाता खोलेका छन् । अहिले हुने कारोबारको ९० प्रतिशत अनलाइनबाट हुन्छ । अनलाइनमा सुधार हुँदा एनआरएनहरूले समेत सेयरमा कारोबार गर्न थालेका छन् । आफैं कारोबार गर्न नपाए पनि आफन्तमार्फत लगानी गरिरहेका छन् । विदेशमा श्रम बेच्न गएका दाजुभाइहरूले रेमिट्यान्स पठाइरहेको पैसा पनि सेयर बजारमा लगानी भइरहेको छ ।
अहिले संसारको कुनै पनि कुनाबाट अनलाइनमार्फत सेयरमा लगानी गर्न सकिन्छ । त्यसैले अहिले सेयर बजारमा १० अर्बको दैनिक कारोबार भइरहेको छ । २०७८ सालभित्रमा १५ देखि २० अर्बसम्म कारोबार हुने आकलन गरिएको छ ।
सेयर बजारमा विविध सुधार गर्दा एनआरएनले पनि लगानी गरिरहेका छन् । नियामक निकायहरूले पनि सेयर बजार सुधारका लागि महŒवपूर्ण कामकारबाहीहरू गरिरहेका छन् । यहीबीचमा हामीले चर्को कमिसन भयो भनेर कमिसन पनि घटाउन लगायौँ । पुँजीगत लाभकर पनि घटायौँ । त्यसैबीचमा मार्जिनल ल्यान्डिङ बढायौँ । यस्ता यावत् कुराहरूले पनि सेयर बजारलाई सकारात्मक प्रभाव पारेका छन् ।
सेयर बजारलाई अहिले नियाल्ने हो भने नयाँ–नयाँ कम्पनीका आईपीओहरू आइरहेका छन् । सयमा आईपीओ हाल्यो भने त्यो बढेर दुई–चार सय, हजार–बाह्र सय पुगि नै हाल्छ । त्यो देखेर विद्यार्थी, हाउसवाइफ, कर्मचारीहरूले पनि आईपीओ भर्न थालेका छन् । सुरुमा आईपीओमा लगानी गर्छन् । विस्तारै उनीहरू दोस्रो बजारमा लगानी गर्न आकर्षित हुँदै जान्छन् । दोस्रो बजारमा आउन थाल्छन् । यसले पनि सेयर बजार बढाइरहेको छ ।
अहिले कतै–कतै सेयर बजार निकै बढ्यो भनेको पनि सुनिन्छ । तर, बजार त्यति धेरै बढेको छैन । यसलाई राम्रोसँग हेर्ने हो भने अहिले १०÷१२ वटा कम्पनी मात्र बढेका छन् । जबकि पुँजीबजारमा २ सय ५० वटा कम्पनीमध्ये ७० प्रतिशत संस्थाको सेयरको भाउ बढेको छैन । बैंक तथा वित्तीय संस्था, होटल, हाइड्रोपावरहरूको सेयरको भ्यालु बढेको छैन ।
यसअघि नेप्से १८ सयको उच्च अंकमा पुग्दा एभरेस्ट बैंक ३४ सयको हाराहारीमा पुगेको थियो, अहिले ७ सयको हाराहारीमा छ । कृषि विकास बैंक हजार रुपैयाँ थियो, अहिले ४ सयमा झरेको छ । एनएलआईसी ४ हजार थियो अहिले २ हजारमा छ । हाइड्रोपावरमा हेर्ने हो भने चिलिमे १५ सय थियो, अहिले ६÷७ सयको हाराहारीमा छ । त्यसैले अहिले हेर्ने हो भने बैंक–वित्तीय संस्था, होटल तथा हाइड्रोपावरको भ्यालू बढेको छैन ।
त्यो भनेको ३७ अर्बको बजारमा ७० प्रतिशत बजाराको मूल्य अझै बढेको छैैन । त्यसैले अहिले पनि बैंक,–वित्तिय संस्था तथा हाइड्रोपावरहरूमा लगानी सुरक्षित नै छ । नयाँ–नयाँ लगानीकर्ताहरू जताजता उछाल छ त्यतै भाग्छन् । हामी रोक्न खोज्छाँै, मान्दैनन् । तर, सेयरको मूल्य घटेमा पनि घाटा नलाग्ने संस्थामा लगानी गर्नुपर्छ । जसको प्रतिसेयर आम्दानी राम्रो छ, ग्रोथ छ, हरेक वर्ष बोनस÷लाभांश दिइराखेको छ, व्यवस्थापन राम्रो छ, त्यस्तोमा लगानी गर्नुपर्छ । अहिले पनि बजार माथि जान्छ । २७ सयमा नै अड्किन्छ भन्ने छैन । योभन्दा माथि जानैपर्छ । तर, त्यसका लागि सरकारले पनि सेयर मार्केटलाई सकारात्मक ढंगले हेर्नुपर्छ । बजेटमा त्यसै अनुसारका कार्यक्रमहरू ल्याउनुपर्छ ।
अब आगामी अर्थिक वर्षको बजेट आउनै थालेको छ । त्यसमा पनि सेयर बजारका लागि सकारात्मक नीति–नियमहरू ल्याउनु आवश्यक छ । नेपालमा धेरै नियामकहरू भए । पुँजीबजारमा एउटा नियामकले एउटा नियम निकाल्छ । अर्कोले फेरि अर्को निकाल्छ । त्यसले निकै समस्या बनाउने रहेछ । त्यसैले वान डोर पोलिसी भएमा राम्रो हुन्थ्यो । त्यस्तै मर्चेन्ट बैंकलाई पनि ब्रोकरको लाइसेन्स दिन हामीले लामो समयदेखि माग गरिरहेका छौँ । दिएमा पुँजीबजारको विकास अझै दु्रत गतिले हुने थियो । सरकारले बजेटमार्फत पुँजीबजारका लागि सकारात्मक कार्यक्रमहरू ल्याएमा पुँजीबजार राज्यका लागि पनि राजस्वको राम्रो स्रोत बन्ने निश्चित छ ।

लगानी गर्दा अहिलेको अवस्थालाई मात्र हेर्नु हुँदैन
राधा पोखरेल
अध्यक्ष
नेपाल पुँजीबजार लगानीकर्ता संघ

अहिले लकडाउनले गर्दा सबै घरमै बस्नुपरेको अवस्था छ । अन्य क्षेत्रहरू पनि बन्दकै अवस्थामा छन् । तर, सेयर बजारलाई हेर्ने हो भने एक वर्षमा दोब्बरले लगानीकर्ताहरू भित्रिएका छन् । अहिले घरमै बसेको समयमा पनि लगानीकर्ताको संख्या बढिरहेको छ । कारोबार रकम पनि निकै धेरै छ ।
अहिले उद्योग, कलकारखाना, होटल, खुद्रा पसलहरूदेखि ठूला संस्थाहरू पनि बन्दकै अवस्थामा छन् । यसको अर्थ अहिलेको समयमा लगानीको एक मात्र क्षेत्र पुँजीबजार नै हो । एक त बैंकमा तरलता बढिरहेको छ । त्यसैले पनि लगानीयोग्य रकम अन्य क्षेत्रमा भन्दा पुँजी बजारमा आउनु सामान्य नै हो । अब बजार बढ्दै जाँदा ३ हजार मात्र होइन, ५ हजार पनि पुग्ने सजिलै अनुमान गर्न सकिन्छ ।
तर, नेपालमा थोरै बजार घट्दा नै ओहो कहाँ पुग्ने हो भनेर लगानीकर्ताहरू आत्तिन थाल्छन् । ठूला लगानीकर्ताहरू सेयर बेचेर बसेका छन् भने त बजार घटाउनतिरै लाग्छन् । तर, स्टक राखेर बसेकाहरूले बजार बढाउन कोसिस गर्छन् ।
हामीले जहिले पनि सेयर बजारमा लगानी गर्दा अहिलेको अवस्थालाई मात्र हेर्नु हुँदैन । भोलिको अवस्था के हुन्छ, त्यसलाई पनि हेर्नु उत्तिकै आवश्यक छ । किनभने कोभिडका कारणले नेपालको मात्र नभएर विश्वकै अर्थतन्त्र धराशायी बन्ने अवस्थामा छ । यस्तोमा अर्थतन्त्र धराशायी हुने सेयर बजार मात्र राम्रो हुन्छ भनेर कल्पना गर्ने अवस्था पनि त रहँदैन नि । केही समय राम्रो होला तर दीर्घकालीन रूपमा यो शुभसंकेत भने होइन । त्यसैले लगानी गर्दा बुझेर लगानी गर्नुपर्छ । सर्किट लागेको किनिहाल्ने अनि घट्न थाल्यो भने आत्तिने हाम्रो बानी छ । त्यस्तो गर्नु हुँदैन । आज बजार बढेको भन्दा पनि भोलि बजार के होला भनेर लगानी गर्नुपर्छ । कुनमा कति जोखिम छ त्यसको मूल्यांकन गर्नुपर्छ ।
अघिल्लो वर्ष पनि कोभिडको समयमा बजेटको तयारी भएको थियो । हामीले ५८ बुँदे माग पेस गरेका थियौँ । तर, धेरै राम्रा कुराहरू बजेटमा ल्याउन सकिएन । हामीले पठाएका कतिपय कुरा सुनिएनन् । ती सबै माग पूरा हुन सकेनन् । यो वर्षको राजनीतिक माहोल पनि उस्तै छ । राजनीतिक माहौल, तरलता, नियामक निकायले लिने नीति–नियमले नै सेयर बजारमा असर पार्छ ।
त्यसैले अहिले पनि विभिन्न विषयमा सरकारलाई हामीहरूले सुझाव दिएका छौं । बजेटमा हामीले कार्यान्वयन गर्न जोड दिएका ५८ वटा बुँदामध्ये १२÷१३ वटामा काम भएको छैन । ती विषयलाई आउँदो आर्थिक वर्षमा जोड दिनुपर्छ । हामीले बैंकलाई नै ब्रोकरको लाइसेन्स दिनुपर्ने माग गरिरहेका छाँै । बैंकमा सेयर राखेर लिने धितोलाई पनि बढाउन पहल गरेका छौं । त्यस्तै छोटो समय लगानी गर्ने र लामो समय लगानी गर्ने लगानीकर्तालाई पनि छुट्याउन हामीले माग गरेका छौं । सरकारले यस्ता मागहरू पूरा गर्न सकेमा सेयर बजारमा जोखिम कम हुँदै जान्छ ।

केही दिन बढ्यो वा घट्यो भनेर डराइहाल्नुपर्ने अवस्था छैन
सरोज उप्रेती
संयोजक
नेपाल पुँजीबजार लगानीकर्ता संघ

अहिले सेयर बजारमा अनलाइन लगानीकर्ताको संख्या नै ६ लाख पुगेको छ । त्यस कारणले सेयर मार्केट कुनै पनि हिसाबले घट्ने सम्भावना छैन । त्यसमाथि झनै अनलाइन पोलिसीहरू आएका छन् । त्यसअनुसार बजार अगाडि बढेको छ । त्यसैले बजार कहिलेकाहीं घटिहालेछ भने पनि त्यो क्षणिक समयका लागि मात्र घट्ने देखिन्छ । तर, लामो समयका लागि घट्ने कुनै सम्भावना नै हुँदैन । मानिसहरू घरमै बसेर लगानी गर्न सक्ने भएकाले लकडाउनको समयमा पनि पुँजीबजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । यस्तो भयावह अवस्थामा पनि दैनिक ६ अर्बभन्दा माथिको कारोबार भइरहेको छ । प्रायः ५ अर्बभन्दा माथिको त भइनै रहेको छ । यसले मानिसहरूको सेयर मार्केटप्रतिको विश्वास पनि देखाएको छ ।
अघिल्लो लकडाउनको समयमा २० देखि २५ हजारको बीचमा अनलाइन कारोबारदाताहरू थिए । अन्यको पहुँच सेयर बजारमा पुग्न सकेन भनिएको थियो । तर, आज बढेर ६ लाख हाराहारीमा आएको छ । हिजो ५० करोडको कारोबार पुग्दा लड्डु बाँडिन्थ्यो । अहिले ५ अर्बको कारोबार दैनिक भइरहेको छ । त्यसैले यो मार्केट डाउन हुँदैन । केही दिन बढ्यो वा घट्यो भनेर डराइहाल्नुपर्ने अवस्था छैन । त्यसमाथि सेयर उठाउनेले पनि १ सय २ सयकै दरमा उठाइरहेका छन् । कुनै ठूलो कम्पनीले एकै पटक धेरै सेयर खरिद गररे बजार बढेको त होइन भन्ने पनि छैन । अहिलेसम्मको आकलनमा सर्वसाधारणले नै सेयर उठाएका छन् । सबैले विश्वासका साथ लगानी गरिरहेकाले डराउनु पर्दैन ।
तर, हाम्रो नियमनकारी निकाय नेप्से, सीडीएससीबीचमा कहिलेकाहीं विवाद आउँछ । यिनीहरूको विवाद आएको दिनमा नै बजार स्वाट्टै तल जान्छ । यी दुईवटा नियमनकारी निकायलाई नियन्त्रण गर्न सक्ने हो भने जस्तोसुकै बजेट आएमा पनि त्यसले असर गर्दैन । तर, मेरो विचारमा सेयर लगानीको आयकर ५ प्रतिशतभन्दा बढाउनु भने हुँदैन । यसलाई स्थिर राखेमा कारोबार रकम दैनिक १०÷१५ अर्बभन्दा बढी हुने निश्चित छ ।

पुँजीबजारले आकाश छुने देखिन्छ
तारा फुलेल
उपाध्यक्ष
सेयर लगानीकर्ता संघ नेपाल

सेयर बजारको अहिलेको अवस्था निकै नै राम्रो छ । नेपालको सेयर बजारमा लगानीकर्ताहरूको आकर्षण बढ्दो छ । जसरी लगानीकर्ताको उल्लेखनीय सहभागिता हुँदैछ, त्यसैगरी हाम्रो प्रविधिमा केही कमी–कमजोरीहरू देखिएको छ । त्यसलाई सुधार गर्दै लैजानुपर्छ । देशको कोभिडको यस्तो संकटमा पर्दा राज्यलाई राजस्व असुली गर्ने एकमात्र माध्यम सेयर बजार रहेको छ ।
हिजो सेयर बजारमा बोलेर कारोबार गरिन्थ्यो । समय क्रमसँगै लगानीमैत्री प्रविधिमैत्री हुँदै जाँदा लगानीकर्ताहरूको संख्या बढेको छ । अघिल्लो वर्षको लकडाउनमा अहिलेको भन्दा आधा लगानीकर्ता थिए । अहिले चारैतिरबाट लगानी भित्रिएको छ । लगानी भित्रिँदै जाँदा बजार घट्ने र बढ्ने कुनै सवाल नै हुँदैन । यो भर्खरै स्टेप लिन खोजिरहेको अवस्था हो । यहाँभन्दा धेरै माथि जाने निश्चित छ । अघिल्लो लकडाउनमा झैं यस लकडाउनमा पनि फेरि बैंकमा तरलता थपिँदै गएको छ । तरलता थपिनु भनेको बैंकको ब्याजदर कम हुँदै जानु हो । जब बैंकको ब्याजदर कम हुन्छ, त्यसपछि सेयर मार्केट उकालो लाग्न थाल्छ । त्यसैले आत्तिनुपर्ने वा बढ्दैन भन्नुपर्ने कुनै कारण नै छ । यसमा अझ सरकारले बजेटमार्फत हाम्रा मागहरू पूरा गर्न सकेमा पुँजीबजारले आकाश छुने देखिन्छ ।
त्यसका लागि गरकारले पुँजीबजारमा कसरी लगानीकर्ताको आकर्षण बढाउन सकिन्छ भनेर बजेटमार्फत बजार सुहाउँदा कार्यक्रमहरू ल्याउनु आवश्यक देखिन्छ । योभन्दा लगानीकर्तालाई सहजीकरण गर्ने र नियामक निकायले नियममा सुधार गर्नुपर्ने केके कुराहरू छन्, ती कुराहरूलाई अक्षरशः कार्यान्वयन गरेर अगाडि बढ्नुपर्छ । त्यसका लागि हामीहरूले अघिल्लो वर्ष ५८ बुँदे सुझावहरू दिएका थियौँ । त्यसको पालना गर्नुपर्छ । वैदेशिक लगानी भिœयाउनका लागि चाल्नुपर्ने कदमहरू चाल्नुपर्छ । सकिन्छ भने करको दायरालाई अझै खुम्च्याएर लगानीकर्ताको सहभागिता बढाउन सकियो भने नेपालको पुँजीबजार जसरी अगाडि बढेको छ, त्यसरी नै नयाँ उचाइमा जाने देखिन्छ । बजारमा नचाहिने कुरा फैलाएर बजारलाई तल झार्ने गतिविधिहरूलाई निरुत्साहित गर्न कडा कानुन बनाएर त्यसको पालना गर्ने÷गराउने कार्यक्रमहरू ल्याउनुपर्छ, जसले गर्दा बजार पारदर्शी भई विदेशी लगानीकर्ताहरूलाई समेत लगानी गर्न सक्ने वातावरण राज्यका तर्फबाट गरिनुपर्छ । बजेटमा त्यस्ता खालका कार्यक्रमहरू समावेश गरेमा निकै उत्तम हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्