Logo

बिमाको पहुँच वृद्धिदर घट्यो


नयाँ बिमा कम्पनी थपिएसँगै आक्रामक रूपमा विस्तार भइरहेको बिमाको पहुँच विस्तार कोरोनाको महामारीले प्रभावित भएको छ । कोरोना महामारीका कारण कम्पनीहरूको व्यवसाय विस्तार नहुँदा बिमाको पहुँच वृद्धिदर पनि घटेको छ ।
बिमा समितिका अनुसार २०७७ चैत मसान्तसम्ममा २४.१ प्रतिशत नेपालीमा बिमाको पहुँच पुगेको छ । लगातार दुई वर्षदेखि बिमाको पहुँच ४ प्रतिशत बिन्दुले बढे पनि यस वर्ष भने २ प्रतिशत बिन्दुले मात्र वृद्धि भएको छ ।
बिमाको पहुँच उच्च अंकले वृद्धि भए पनि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७-७८ को बजेट वक्तव्यमा बिमा पहुँच ४० प्रतिशत पु-याउने घोषणा गरेका थिए । तर, कोरोना महामारीले गर्दा बजेटले तय गरेको लक्ष्यसमेत पूरा नहुने भएको छ ।
बिमा क्षेत्र पनि कोरोना महामारीले प्रभावित भएको र पहुँचदर पनि घटेको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । “नेपाली बिमा क्षेत्र कोरोना महामारीको प्रकोपले संघषरत छ,” उनले भने, “यसबाट बिमा कम्पनीको व्यवसाय विस्तारमा संकुचन देखिएको छ ।हाल १९ जीवन बिमा, २० निर्जीवन बिमा र १ पुनर्बिमा गरी ४० वटा कम्पनीले सेवा दिइरहेका छन् । २०७७ चैतसम्म जीवन बिमा कम्पनीहरूले ७६ लाख ६१ हजार बिमा लेख बिक्रीमार्फत ९३ अर्ब ८६ करोड प्रिमियम संकलन गरेका छन् ।
यस्तै निर्जीवन बिमा कम्पनीले २२ लाख ४४ हजार बिमालेख बिक्रीमार्फत २३ अर्ब २ करोड बिमाशुल्क गरेको समितिले जनाएको छ ।
गत वर्षको तुलनामा जीवन बिमालेख ५.६६ प्रतिशत, जीवन बिमा शुल्क ५१.२१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी निर्जीवन बिमालेख २८.४० तथा बिमाशुल्क १६.९७ प्रतिशतले वृद्धि भएको समितिले जानकारी दिएको छ ।
बिमा क्षेत्रलाई व्यवस्थित र विकसित गर्नका लागि संस्थागत र कानुनी सुधार गरिएको र यसबाट बिमा क्षेत्र मर्यादित बन्दै गएको तथा यसको विश्वसनीयतासमेत बढ्दै गएको अध्यक्ष सिलवालले दाबी गरे ।
कोरोना महामारीले अर्थतन्त्रमा मन्दी आउँदा बिमकहरूले न्यून ब्याजदरको सामना गरिरहेको र यसका कारण लगानीको प्रतिफल, बिमितले पाउने बोनसदर प्रभावित हुने जस्ता नकारात्मक असर पर्नेसमेत समितिले आकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्