रुकुममा सडक क्रान्ति «

रुकुममा सडक क्रान्ति

रुकुममा जे–जसरी सडक सञ्जालको विकास भएको छ त्यो सवै तीब्रगति शान्तिकालपछि नै भएको छ । द्वन्द्वकालमा दुईतीन वटा सडकबाट सुरु भएको सडक विकास यात्रा शान्तिकालपछि दर्जनौं सडक खनिन पुगेका छन् । किलोमिटरको हिसाबले भन्दा २०६३ अघि १ सय किलोमिटर पनि नखनिएको सडक २०६४ पछि हालसम्म १ हजार किलोमिटर बढी खनिसकिएको छ । यसरी डाटागत रूपमा हेर्दा पनि द्वन्द्वकालमा रोकिएको रुकुमेली सडक विकास शान्तिकालमा सडक क्रान्तिकै रूपमा अघि बढेको पाइन्छ ।

दुई दशकअघि रुकुमेलीको दैनिकी यस्तो थियो की आफूलाई आवश्यक परेका सामग्री किनमेलका लागि मात्र होइन गाडि चढ्नका लागि सल्यान, दाङ वा नेपालगन्ज जानुपथ्र्यो । रुकुम पश्चिम आठबिसकोट नगरपालिका–११, गोईरीका अमृत बटालालाई घ्यूको बाकस बोकेरै हिँडेर नेपालगन्ज पुगेको अहिले पनि झलझली याद आउँछ । घरमा उत्पादन भएको घ्यूको बाकस बिक्री गर्ने र त्यसबाट आएको पैसाले वर्षभरी पुग्ने नुन, लत्ताकपडा र चाडपर्वको घरखर्च ल्याउनु हिजोआजको जस्तो सहज थिएन । हिजोआज आफ्नै गाउँघरमा गाडि हिँड्दा सपना जस्तो लाग्ने उनलाई हिजोआज त घरगृहस्थी गर्न पनि निकै सहज जस्तो लाग्छ ।
“सिंगो गाउँका हटारुहरूसँगै २२ दिन बढी पैदल हिँडेर बजारमा पुग्ने गरेका थियौं, भारी बोक्दा टाउकाका रौं झर्ने मात्र होइन, बिना जुत्ताचप्पल पैदल यात्रा गर्दा खुट्टा फाटेर रगत बगिरहेको हुन्थ्यो,” उनले भने, “हिजोआज त साँझ–बिहानको नुन तेल चामल पनि उतिबेलै बजारबाट किनेर खाइन्छ, कतिबेला त लाग्छ त्यो बेला हाम्रो जस्तो दुख कसैले भोगेन ।” उनीमात्र होइन रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१० का रिमबहादुर खड्कालाई पनि बोकेरै नेपालगन्जबाट नुन ल्याएको त्यो विगत अझै ताजै छ । “आजभोलीको पुस्ता त निकै सुकारी (सुखी) हुन्, घरघरमा सडक पुगेको छ, एक घण्टा पनि पैदल हिँड्न पर्दैन,” उनले भने, “यो सब देशको परिवर्तनले बनायो, हाम्रो पुस्ताले दु:ख भोगे पनि छोराछोरी बाइकमै घरघर पुगेका छन्, यो हाम्रो लागि निकै खुसीको कुरा हो ।”
यी त केही प्रतिनिधि पात्र मात्र हुन्, यस्तै भोगाई र अनुभव धेरै रुकुमेली आमाबुवासँग छ । तर समयले कोल्टो फेरेको छ, २२ दिन पैदल हिँडेर टाढाटाढाबाट नुन बोकेर ल्याएको कुरा हिजोआजका सन्ततीलाई एकादेशको कथा जस्तो बनेको छ । हिजोआज रुकुमका गाउँगाउँमा सडक पुगेको छ । बजारसम्म घ्यू तथा खसी–कुखुरा बेच्न आउने पनि गाडिमै आउँछन र घरसम्म गाडिमै फर्किन्छन् । यो सवै परिवर्तन द्वन्द्वकालपछि आएको राजनीतिक तथा प्रशासनिक चेतनाको उपज हो भन्दा अनुचित नहोला ।

सडक विकासको सिलसिला

रुकुमलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सल्यान–रुकुम–मुसिकोट सडकखण्ड द्वन्द्वकालमै सुरु गरिएको थियो । केन्द्रीय सरकारको बजेटबाटै तत्कालिन शाही नेपाली सेनाले खनेको उक्त सडकमार्फत २०६० सालमा जिल्ला सदरमुकाम मुसिकोटमा गाडि पुग्यो । उक्त घटना रुकुमेली सडक विकासको पहिलो कोशेढुंगा सावित भयो । यो सडक सुचारु भएसँगै रुकुम, सल्यान र दाङ जिल्ला हुँदै राष्ट्रिय तथा क्षेत्रीय सडक सञ्जालमा जोडियो । त्यस्तै जिल्ला विकास समिति रुकुममार्फत जिल्लाकै पहिलो सडकको रूपमा २०५९ सालमा शितलपोखरी–झुलखेत–चुनबाङ सडकखण्ड निर्माण गर्न सुरु गरिएको थियो । केन्द्रीय सरकारले उक्त कृषि सडक निर्माणका लागि जिल्लामा पहिलो पटक १४ लाख बजेट जिल्लामा पठाएको थियो भने त्यसवर्ष २ मिलोमिटर मात्र सडक खनिएर सुरुवात भएको थियो । बिडम्बना जिल्लामा हाल दर्जनौं सडक खनिएर सञ्चालनमा आए पनि जिल्लाकै पहिलो सडकको रूपमा रहेको उक्त सडकखण्ड हालसम्म पनि पूर्ण भएको छैन ।
अघिल्लो आर्थिक वर्षसम्म १२ किलोमिटर मात्र ट्रयाक खोलिएको छ । तर उक्त सडकखण्डलाई पूर्णता दिँदै स्तरीय सडक बनाउन हाल ग्रामीण सडक सुधार आयोजनाले जिम्मा लिई पक्की सडक निर्माणको कामसमेत थालिसकेको छ । त्यस्तै रुकुम पूर्व र पश्चिमी क्षेत्रको ठूलो विकास सहयात्राको रूपमा रहेको सोलाबाङ–धाउने–वालुवा सडकखण्ड पनि २०६१ सालमा नै सुरु भएको थियो । जिटीजेड मार्फत सञ्चालन गरिएको उक्त ३४ किलोमिटर सडक डोजरलगायतका अन्य कुनै पनि साधन प्रयोग नगरी स्थानीयले खनेका थिए ।

शान्तिकालमा सडक क्रान्ति

रुकुममा जे–जसरी सडक सञ्जालको विकास भएको छ त्यो सवै तीब्रगति शान्तिकालपछि नै भएको छ । द्वन्द्वकालमा दुईतीन वटा सडकबाट सुरु भएको सडक विकास यात्रा शान्तिकालपछि दर्जनौं सडक खनिन पुगेका छन् । किलोमिटरको हिसाबले भन्दा २०६३ अघि १ सय किलोमिटर पनि नखनिएको सडक २०६४ पछि हालसम्म १ हजार किलोमिटर बढी खनिसकिएको छ । यसरी डाटागत रूपमा हेर्दा पनि द्वन्द्वकालमा रोकिएको रुकुमेली सडक विकास शान्तिकालमा सडक क्रान्तिकै रूपमा अघि बढेको पाइन्छ ।
जिल्ला समन्य समिति रुकुम पश्चिमका ईन्जिनियर पहल पुन द्वन्द्वपछि रुकुमको सडक विकासको ढोका नै खालेको बताउँछन् । “द्वन्द्वकालमा सडकको एउटा पनि काम नभएको त होइन, एक दुई वटा सडक खन्ने काम सुरु भएको पाउछौं, तर सल्यान–रुकुम सडकबाहेक अन्य स्थानीय सडक उद्घाटन मात्र भए, गाडि चल्ने भएनन्,” उनले भने, “द्वन्द्वकालमा करिब एक सय किलोमिटरको सडक खनिएको रुकुममा शान्तिकालमा त्यसको दश गुणा खनिएको छ ।” उनका अनुसार स्थानीय तहपछि वडा विभाजनमा केही फरकपन आएको भए पनि साविकको गाविस अवस्था हेर्दा जिल्लाका ४३ वटा गाविसमध्य ३९ वटामा यसअघि नै सडक सञ्जाल पुगेको थियो । “अहिले त स्थानीय तहहरूले आफूअनकूल सडक खन्ने काम धमाधम गरिरहेका छन, जिल्ला समन्वयनमा खासै सडकको तथ्यांक अपडेट गराउँदैनन र छैन पनि,” इन्जिनियर पुनले भने, “रुकुम पूर्व र पश्चिमको अवस्था हेर्दा प्वाङ, जाङ, सिस्ने र रन्मामैकोटका दुगर्म बस्तीबाहेक अन्य गाउँमा कच्ची भए पनि सडक पुगेको छ ।”

सडक सञ्जालको विवरण

शान्तिकालपछि खनिएका मुसिकोट–चौरजहारी, सल्ले–गिलबाङ, सल्ले–राडिज्यूला, छिनखेत–सिस्ने र काक्री कोल–तकसेरा जस्ता लामा सडक खण्ड छन् । त्यसबाहेक पनि अन्य लामा दुरीका पनि दर्जनौं सडकखण्ड शान्तिकालमा शुरुवात गरिएका छन् । स्थानीय तहहरूको हिसाबले भन्दा रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा २८ वटा साना तथा ठूला सडक खण्ड निर्माण भएका छन । मुसिकोटसँगै चौरजहारी र त्रिवेणी गाउँपालिकामा पनि ठूलो मात्रामा सडक खनिएको छ । तुलनात्मक रूपमा रुकुम पश्चिमको भन्दा रुकुम पूर्वका स्थानीय तहमा खनिएको सडक संख्या धेरै कम छ । स्थानीय सरकार गठन भएसँगै पछिल्लो सडकखण्डहरूको एकिन विवरण नभए पनि जिल्ला समन्वय समिति रुकुम पश्चिममा रहेको सडक किलोमिटरको अवस्था निकै राम्रो देखिएको छ ।

रुकुम पश्चिम 
मुसिकोट नगरपालिका : १००.३१ किलोमिटर
सानीभेरी गाउँपालिका : ६५.२३ किलोमिटर
आठबिसकोट नगरपालिका : १२६.३६ किलोमिटर
बाँफिकोट गाउँपालिका : ६६.७६ किलोमिटर
मुसिकोट नगरपालिका : १६४.९६ किलोमिटर
त्रिबेणी गाउँपालिका : १०७.७० किलोमिटर
६ वटा स्थानीय तहको जम्मा : ६३१.३२ किलोमिटर
रुकुम पूर्व
सिस्ने गाउँपालिका : ७८.९५ किलोमिटर
भूमे गाउँपालिका : १६५.८७ किलोमिटर
पुथाउत्तरगंगा गाउँपालिका : ७४.८० किलोमिटर
३ वटा स्थानीय तहको जम्मा : ३१९.६२ किलोमिटर
मध्यपहाडि लोकमार्ग थप 

यी रुकुमका स्थानीय तथा क्षेत्रिय सडक सञ्जालको सूची भए पनि राष्ट्रिय गौरवको आयोजनासमेत रहेको मध्यपहाडि लोकमार्गको समेत धेरै भाग रुकुममा पर्छ । मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको काम धमाधम भइरहेको छ । १ सय ३० किलोमिटर लामो सडकलाई विभिन्न आठ खण्डमा विभाजन गरेर स्तरवृद्धिको कामसमेत भैरहेको हो । हाल उक्त सडक खण्डमा कालोपत्रेका लागि आवश्यक स्तरवृद्धिका काम भइरहेका हुन् । आगामी ३ वर्षभित्र कालोपत्र गर्ने गरी काम भइरहेको मध्यपहाडी लोकमार्ग सडक आयोजना कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार सडकको शीतल पोखरीदेखि रिनदहसम्मको १४ किलोमिटर सडकमा सबैभन्दा बढी काम भएको छ । सडकको विभिन्न छ वटा खोलामा मोटरेबल पुल निर्माण पनि भइरहेको छ । लोकमार्गको स्तरवृद्धिको काम भएपछि त्यस क्षेत्रमा सञ्चालन हुने सवारीसाधनलाई पनि सजिलो भएको छ । सडक स्तरवृद्धिको काम धमाधम भइरहेको भए पनि कच्ची सडकखण्डमा पनि यातायातका साधन पनि सञ्चालनम छन । यसअघि एक दिन लाग्ने रुकुम पश्चिमको खलंगादेखि रुकुम पूर्वको काक्रीसम्म ४ घण्टामै पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्