आठ स्थानीय तहले ल्याएनन् बजेट «

आठ स्थानीय तहले ल्याएनन् बजेट

आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेट ल्याउने समय करिब–करिब नजिक भए पनि चालू आव २०७७-०७८ को ८ वटा स्थानीय तहले बजेट ल्याएका छैनन् । प्रदेश नम्बर २ का चार जिल्लाका ८ वटा स्थानीय तहले चालू आवको बजेट नल्याएका हुन्, जसमा ५ वटा नगरपालिका र ३ वटा गाउँपालिका छन् ।
सप्तरीको १, धनुषाको २, रौतहटका ३ र पर्साका २ सहित ८ वटा स्थानीय तहले चालू आवको बजेट ल्याउन नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा उल्लेख छ । मन्त्रालयको पोर्टलमार्फत स्थानीय तहले तहले प्रविष्टि गरेको विवरण अनुसार ८ वटा स्थानीय तहले चालू आवको बजेट नै ल्याउन सकेनन् । मन्त्रालयका अनुसार सप्तरीको छिन्नमस्ता गाउँपालिका, धनुषाको कमला नगरपालिका र धनौजी गाउँपालिका, रौतहटको राजदेवी, बौधिमाई र कटहरिया नगरपालिका, पर्साको पोखरिया नगरपालिका र जगरनाथपुर गाउँपालिकाले चालू आवको बजेट नै ल्याएका छैनन् । तर ८ मध्येका केही स्थानीय तहले भने बजेट ल्याइसके पनि मन्त्रालयले वेबसाइटमा पुरानै तथ्यांक सार्वजनिक गरिरहेको बताए ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनेश्वरप्रसाद चौधरीले चालू आवको बजेट नल्याएको बताए । ‘जनप्रतिनिधिहरुको मतमतान्तरले गर्दा बजेट ल्याउन सकिएको छैन तर अब सबै समझदारीमा आएकाले बजेट सार्वजनिक गरिन्छ । बजेट नल्याउँदा खर्च पनि भएको छैन, आम्दानी पनि भएको छैन । विकासको काम केही भएको छैन,’ उनले भने, ‘तलब भत्ता र सामाजिक सुरक्षा भत्ताको मात्रै काम गरिरहेको छु ।’ उनी स्वास्थ्य सेवा तर्फका कर्मचारी हुन् ।
तर पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाले भने बजेट सभामा पेस गरी पारित गरेको बताए । उनले चालू आवको बजेट ११ करोड रुपैयाँ रहेको बताए पनि गाउँपालिकाको वेबसाइटमा भने चालू आवको बजेट सार्वजनिक छैन । यस्तै पोखरियाकी उपप्रमुख सलमा खातुन पनि चालू आवको बजेट समयमा नै ल्याएको बताउँछिन् । ‘जिल्लामा अरु स्थानीय तहको तुलनामा पोखरियाले समयमै बजेट ल्याएको हो,’ खातुनले भनिन्, ‘त्यही बजेट कार्यान्वयन गरिरहेका छौं ।’ उनले बजेट ल्याएको भनेपनि नगरपालिकाको वेबसाइटमा भने चालू आवको बजेट सार्वजनिक छैन ।
धनुषाको कमला नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढानले गत मंसिर २९ मा बजेट ल्याएको बताए । उनले भने, ‘मन्त्रालयले पुरानै तथ्यांक राखिरहेको मात्र हो, हामीले त बजेट ल्याइसक्यौं ।’ सढान बजेट ल्याइसकेको बताउँछन् तर वेबसाइटमा भने चालू आवको बजेट उपलब्ध छैन । धनौजी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डलले फागुनमा नै बजेट ल्याए बताए पनि वेबसाइटमा भने सार्वजनिक भएको छैन ।
रौतहटको राजदेवी नगरका प्रमुख प्रशासकीय अधिकृत सुवोध साहले चालू आवको बजेट माघ १७ गते नै बजेट पारित भैसकेको बताए तर वेबसाइटमा भने सार्वजनिक छैन । मन्त्रालयले बजेट नल्याएको सूचीमा रहेको कटहरिया नगरपालिकाको भने वेबसाइटमा चालू आवको बजेट गत कात्तिक २८ गते नै चौथो नगरसभा सम्पन्न भएको उल्लेख छ र त्यहाँ चालू आवको पुजीगत कार्य सम्पादन भएका विवरणहरु भेट्न पनि सकिन्छ ।
कानुनमा स्थानीय तहले आगामी आवको लागि असार १० गतेभित्र गाउँ वा नगर सभामा बजेट पेस गरी असार मसान्तभित्र पारित गर्नुपर्ने प्रावधान छ । वित्तीय संघीयता घनिभूत रुपमा लागू भैरहेको भए पनि स्थानीय तहहरु तोकिएको समयभित्र बजेट पेस गर्न र पारित गर्न असमर्थ भएका छन् । तर गत र अघिल्ला आवको तुलनामा भने चालू आवमा चाहिँ समयमा बजेट पेस गर्ने र पारित गर्ने स्थानीय तहको संख्या भने क्रमशः बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्