तनहुँको समृद्धिको आधार : पर्यटन «

तनहुँको समृद्धिको आधार : पर्यटन

जिल्लामा पर्यटकीय सम्भावना बोकेका थुप्रै ठाउँ छन् जसले पर्यटकलाई आकर्षित गर्न सफल भएको छ । तनहुँको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा पहाडकी रानी नामले चिनिने बन्दीपुर पर्दछ । बन्दीपुर नेपालमा मात्रै नभई विदेशमा समेत प्रख्यात स्थल हो । सदियौं अघिदेखि भारतको विभिन्न शहर हुँदै तिब्बतसँगको मुख्य व्यापारिक केन्द्र थियो बन्दीपुर ।

दमौली

‘स्वर्गको टुक्रा हो कि धर्तीको भनौं
नेपालको बीचमा छ मेरो प्यारो तनहुँ’

तनहुँ क्यामिनका आरसी रेग्मीले रचना गरेको र गायक प्रमोद खरेलले गाएको यो गीतले साँच्चिकै तनहुँ पर्यटकीय स्थलको खानी हो भन्ने पुष्टि गर्छ । नेपालकै मध्यभागमा रहेको तनहुँ पर्यटकीय स्थलको खानी हो भन्नेमा कुनै दुईमत छैन ।
प्रख्यात धार्मिक तीर्थस्थल देवघाटधाम र पर्यटकीय नगरी बन्दीपुर यही जिल्लामै पर्छ । तनहुँ जिल्ला गण्डकी प्रदेशको दक्षिणपूर्वमा अवस्थित विकासोन्मुख जिल्लाको रूपले परिचित छ । तनहुँ नेपालको दुई ठूला शहरका बीचमा अवस्थित छ । राजधानी काठमाडौंदेखि ११० किलोमिटर र पर्यटकीय नगरी पोखराबाट १९ किलोमिटर पूर्व नेपालकै केन्द्रविन्दुमा अवस्थित छ तनहुँ ।
विश्व मानचित्रमा ८३०७५’ देखि ८४०३४’ पूर्वी देशान्तर, २७००३’ देखि २८००५’ उत्तरी अक्षांशसम्म फैलिएको छ । १५४६ वर्गकिलोमिटर भूभागमा फैलिएको यो जिल्लाले धरातलीय स्वरूप अनुसार समुद्र सतहबाट २५० मिटरमा अवस्थित देवघाट क्षेत्रदेखि २३२५ मिटर उचाईको छिम्केश्वरी लेकसम्मलाई समेटेको छ । यहाँको करिब ८० प्रतिशत बसोबास ग्रामीण क्षेत्रमा रहेको छ । प्रमुख बजारहरू सदरमुकाम दमौली, बन्दीपुर, डुम्रे, आँबुखैरेनी, खैरेनीटार, दुलेगौंडा, भीमाद, थर्पु आदि हुन् । मुख्य फाँटहरूमा चुँदी, कलेस्ती, छाब्दी, बुल्दी, स्याम्घा, सुखौरा, ढार, साराङ्घाट आदि हुन् । सांस्कृतिक ग्रामहरूमा पुलिमराङ्ग, हिलेखर्क, धरमपानी, झारगाउँ, फिरफिरे, थप्रेक, छापथोक, टुटेपानी (गुरुङ), गंगलीथोक, रहु, गोल्ला, कोइदिम, रुम्सी, मानहुँ, केशवटार (मगर), दगाम (गुरुङ तथा मगर), रिसिङ रानीपोखरी, घिरिङ, सुन्धारा, मैवल, दलभञ्ज्याङ (नेवार), एक्लेखेत (पुन), ग्वास्लुङ (ठकुरी), दुम्सी, सिमलटार, रतौली, खर्कौली, पोल्याङ (दरै), लामीडाँडा (भुजेल), चामबास (तामाङ), बोटेटार र कुमालटार रहेका छन् ।

पर्यटनमा फड्को

पछिल्लो समयमा तनहुँले पर्यटनमा केही फड्को मार्न सफल भएको छ । जिल्लामा पर्यटकीय सम्भावना बोकेका थुप्रै ठाउँ छन् जसले पर्यटकलाई आकर्षित गर्न सफल भएको छ । तनहुँको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा पहाडकी रानी नामले चिनिने बन्दीपुर पर्दछ । बन्दीपुर नेपालमा मात्रै नभई विदेशमा समेत प्रख्यात स्थल हो । सदियौं अघिदेखि भारतको विभिन्न शहर हुँदै तिब्बतसँगको मुख्य व्यापारिक केन्द्र थियो बन्दीपुर । पश्चिमको अपी, सैपालदेखि धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालदेखि पूर्वमा गणेश, लाङटाङलगायत सयौं चुचुरा यहाँबाट देख्न पाइन्छ । नेवारी कला र संस्कृतिमा निर्माण गरिएका भक्तपुरे शैलीका घर बन्दीपुरको प्रमुख आकर्षण हो । अठारौं शताब्दीमा निर्मित खड्कदेवी मन्दिर, विन्ध्यवासिनी, थानीदेवी, महालक्ष्मी, तीनधारा महादेव, रानीवन, प्याराग्लाइडिङ, केशवटार हुँदै दमौलीसम्म माउन्टेन बाइकको लागि पनि बन्दीपुर प्रसिद्ध छ । दक्षिण एसियाकै ठूलो दाबी गरिएको सिद्धगुफा पनि बन्दीपुरको मुख्य आकर्षण हो । व्यास नगरपालिकामा रहेको छाब्दी वाराही मन्दिर, शुक्लागण्डकीको ढोरवाराही मन्दिर, म्याग्देको अकला मन्दिर, शुक्लागण्डकीको मुक्तिनाथ च्यवनधामलगायतले पनि तनहुँको पर्यटनमा आयाम थपिरहेकै छ ।

पर्यटनमा प्रचुर सम्भावना

तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङ प्रदेशको राजधानी पोखराबाट नजिकै रहेको तनहुँलाई पर्यटनमा प्रचुर सम्भावना बोकेको जिल्लाको रूपमा चित्रण गर्छन् । तनहुँको पर्यटकीय स्थलहरू तनहुँसुर, बन्दीपुर, भानु जन्मस्थललगायतका गाउँमा पर्यटक पुर्याउन सकिए यसबाट तनहुँको विकासमा टेवा पुग्ने धारणा उनको भनाई छ । पर्यटकलाई लक्षित गरी तनहुँका १४ गाउँमा होमस्टे सञ्चालन छ । भानुको टुटेपानी, हिलेखर्क, मिर्छुलुङ, छिम्केश्वरी, धरमपानी, नावरुङ, रानागाउँ, थप्रेक, रघु, छापथोक, दगाम, रामकोटलगायतका गाउँमा होमस्टे सञ्चालन भइरहेको छ ।
तनहुँको पर्यटन प्रबद्र्धन गर्दै पर्यटनबाटै जिल्लालाई समुद्ध बनाउने अभियानसहित जिल्लामा भेटघाट वर्ष सुरु भएको छ । जिल्ला समन्वय समिति यो वर्षलाई भेटघाट वर्षको रूपमा मनाउने र तनहुँ बाहिर रहेका सबैलाई यो वर्ष तनहुँमा जुटाउने अवसर सिर्जना गर्न लागिपरेको छ । त्यसको सुरुवात बन्दीपुरबाट भैसकेको छ ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले पर्यटनबाटै जिल्लाको समृद्धि सम्भव रहेको बताउँछन् । “पर्यटनबाटै जिल्लाको समृद्धि सम्भव छ, त्यसको लागि सबै स्थानीय तह लाग्नुपर्छ,” उनले भने ।
पर्यटन विकासका लागि स्थानीय तहहरूले विविध योजना बनाएका छन् । त्यसमा निजी क्षेत्र समेत हातेमालो गर्दै अगाडि बढिरहेका छन् । स्थानीय तहले बनाएको योजना पूरा गर्नका लागि निजी क्षेत्र समेत सक्रिय भएका छन् ।

व्यास क्षेत्रमा बन्दै १०८ फिटको मूर्ति

पर्याप्त सम्भावना रहेर पनि पछि परेको व्यास क्षेत्रको विकासका लागि वेदव्यासको १०८ फिटको मूर्ति निर्माणको काम अघि बढेको छ । करिब २७ करोड रूपैयाँको लागतमा मूर्तिसहित विभिन्न संरचना निर्माण गर्ने उद्देश्य राखिएको छ ।
व्यास क्षेत्र शिवपञ्चायन विकास कोषले व्यास क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने लक्ष्य राखेको छ । व्यास क्षेत्रलाई व्यास ग्रामको रूपमा अघि बढाउने लक्ष्य रहेको कोषका अध्यक्ष अशोककुमार श्रेष्ठ बताउँछन् । यस ठाउँमा १०८ फिटको तामाको मूर्तिका साथै पुस्तकालय, वाचनालय, प्रवचन गृह, गुरुकुल, धर्मशालालगायत बनाउने लक्ष्य राखिएको छ ।
यस अभियानलाई व्यास नगरपालिकाले समेत सहयोग गरेको छ । मूर्ति निर्माणका लागि नगरपालिकाले बजेट विनियोजन गरेको छ भने व्यास नगरभित्रै रहेको व्यास पराशर क्षेत्र,

धार्मिक पर्यटन गुरुयोजना बनाउँदै देवघाट

नेपालको मात्र नभई विश्वका हिन्दुहरूको धार्मिक तीर्थस्थलको रूपमा विकास हुँदै गइरहेको देवघाटको गुरुयोजना बनाउने तयारी गरिएको छ । पर्यटकीय गुरुयोजना मार्फत् देवघाटलाई पर्यटनको केन्द्रविन्दु बनाउन गाउँपालिकाले तयारी गरेको हो ।
तनहुँ, चितवन र नवलपरासीको संगमस्थलमा रहेको देवघाटलाई तीनै जिल्लाका स्थानीय तहको समन्वयमा धार्मिक पर्यटन गुरुयोजना बनाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । पर्यटन गुरुयोजनालाई दातृ निकाय, प्रदेश सरकार, केन्द्र सरकार र निजी व्यवसायको साझेदारीमा कार्यान्वयन गरिनेछ ।
पर्यटनको सम्भावना बोकेको आश्रमहरू, धामहरू तथा धार्मिक क्षेत्रहरूमा दृश्यावलोकन गर्न महोत्सव आयोजना गर्ने तथा सम्भावित क्षेत्रहरूमा भ्यूटावर, भ्यू प्वाइन्ट, सामुदायिक वनहरूलाई पर्यटन प्रवद्र्धन, होमस्टे र पिकनिक स्पोर्टका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।
गाउँपालिकाले प्रत्येक वडालाई छुने गरी पर्यटन सर्किटको अवधारणासमेत अघि सारेको छ । देवघाट ५ धार्मिक स्थलबाट प्रस्थान गरि देवघाट–१ गाउँपालिका स्तरीय रंगशाला अवलोकन, छरछरे झरना देवघाट–२ कराँदिप होमस्टेमा बास देवघाट–२ खाल्टे पार्क हुँदै कृषि अनुसन्धान केन्द्र, देवघाट–३ छिपछिपे भञ्ज्याङमा बास, देवघाट १ घण्टाचुली हुँदै देवघाट–४ संग्रहालय, सोलीघोप्टे भिर, प्याउली गढी, काफलडाँडा होमस्टेमा बास हुँदै गाईघाट अन्तिम विन्दुको देवघाट गाउँपालिकाको पर्यटन सर्किट बनाइने थापाले बताए ।

बन्दीपुरमा केवलकार निर्माण : पर्यटन प्रबद्र्धनमा कोशेढुंगा

पछिल्लो समय तनहुँ पर्यटनको हवको रूपमा विकास हुन थालेपछि लगानीकर्ताले विविध योजना जिल्लामा भिœयाउन थालेका छन् । त्यसैको पछिल्लो उदाहरण हो बन्दीपुरमा केवलकार निर्माण । बन्दीपुर आफैंमा पनि एउटा प्रख्यात सुन्दर पर्यटकीय नगरी हो । यहाँ वर्षेनी लाखौं स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । पहाडकी रानी नामले चिनिने बन्दीपुरको पर्यटनलाई थप टेवा दिने उद्देश्यले केवलकारको काम अघि बढिसकेको छ । बन्दीपुर केवलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्याय केवलकार निर्माणपछि बन्दीपुरको पर्यटनलाई थप टेवा पुग्ने बताउँछन् ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा बन्दीपुरमा निर्माणाधीन केवलकारले बन्दीपुरको पर्यटनमा ठूलो टेवा मिल्ने बताउँछन् । थापा बन्दीपुर आफैंमा एउटा पर्यटकीय हब रहेको र केवलकार निर्माणपछि बन्दिपुरको पर्यटन अझ विकास हुने बताउँछन् ।

पर्यटन प्रवद्र्धनका लागि अभियान चलाउँदै स्थानीय तह

पर्यटनबाटै जिल्लाको समृद्धि गर्ने संकल्पसहित तनहुँका स्थानीय तहहरू पर्यटन प्रवद्र्धनका लागि जुटेका छन् । स्थानीय तहहरूले यो वर्षलाई भेटघाट वर्षको रूपमा मनाउने निर्णय गरिसकेका छन् ।
तनहुँका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले यो वर्षलाई भेटघाट वर्षको रूपमा मनाउन जिल्ला समन्वय समितिलाई प्रस्ताव गरेपछि जिल्लासभाबाटै यो प्रस्ताव पारित भएको थियो । “तनहुँ पर्यटनको खानी हो, पर्यटनबाटै जिल्लाको समृद्धि सम्भव छ,” प्रजिअ शर्माले भने, “यसको प्रचारप्रसार गर्न र यहाँका पर्यटकीय स्थल देखाउन जरुरी छ ।”
तनहुँ घर भई देश तथा विदेशमा रहने सबै तनहुुँवासीलाई यो वर्ष तनहुँ बोलाउने र भेटघाट वर्षको रूपमा मनाउन आफूले प्रस्ताव गरेको उनले बताए । “यसले गर्दा तनहुँको आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो टेवा मिल्नेछ,” उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्