सेयर बजारमा उत्साह : नेप्से उच्च बिन्दुमा «

सेयर बजारमा उत्साह : नेप्से उच्च बिन्दुमा


निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका क्रियाकलाप बन्द भए पनि सेयर बजारमा भने उत्साह छाएको छ । नेपाल स्टक एक्सेचन्ज (नेप्से) साताको पहिलो दिन आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार नेप्से ५४.२१ अंकले वृद्धि भई २७३८.२९ अंकमा पुगेको छ । यो हालसम्मकै उच्च रेकर्ड हो । यसअघि वैशाख २ गते नेप्सेले २७३५.४० अंकको रेकर्ड कायम गरेको थियो ।
नेप्सेसँगै कारोबार रकम पनि रेकर्ड नजिक पुगेको छ । आइतबार २१४ कम्पनीको २ करोड १३ लाख कित्ता सेयर किनबेचबाट १० अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ । यसअघि २०७७ माघमा १० अर्ब ५७ करोड बराबरको सेयर कारोबार भएको थियो ।
आइतबार बैंकिङ समूह २७.४८ अंक, ट्रेडिङ ५१.८१, होटल तथा पर्यटन ३५.९२, डेभलपमेन्ट बैंंक समूह ११२.५९, हाइड्रो पावर ३०.७६, फाइनान्स १६.०६ अंक, निर्जीवन बिमा ५८४.२१, उत्पादनमूलक कम्पनी ६३.३४ अंकले बढेका छन् ।
यसैगरी अन्य समूह ४५.९३, माइक्रोफाइनान्स १०३.२३ अंक, जीवन बिमा ५२८.७८, म्युचुअल फण्ड ०.०४ र इन्भेष्टमेन्ट समूह २.०४ अंकले वृद्धि भएको छ ।
गत वर्ष लकडाउनमा सेयर बजार बन्द भए पनि यसवर्ष भने सामान्य अवस्थामा जस्तै कारोबार भइरहेको छ । बजारमा अनलाइनमार्फत नै सेयर किनबेच र भुक्तानी गर्न सकिने सुविधाका कारण लगानीकर्ताहरुले घरैबाट सेयर कारोबार गर्ने सुविधा पाएका छन् ।
निषेधाज्ञाका कारण अन्य क्षेत्रका व्यापारी व्यवसायी समेत सेयर कारोबारमा आएकाले बजार वृद्धि भएको विश्लेषण गरिएको छ । यसैगरी बैंकको ब्याजदर सस्तो भएकाले समेत बजारमा सकारात्मक प्रभाव परेको हो ।

प्रतिक्रिया दिनुहोस्