आफ्ना सदस्यलाई राहत कार्यक्रम ल्याउन लघुवित्तकर्मीको जोड «

आफ्ना सदस्यलाई राहत कार्यक्रम ल्याउन लघुवित्तकर्मीको जोड

लघुवित्तकर्मीहरुले ग्राहक सदस्यको भौतिक र व्यवसायिक सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
कोरोना महामारीका कारण लघुवित्त क्षेत्रमा परेको असर र न्यूनिकरणका उपायबारे छलफल गर्न स्वावलम्बन विकास केन्द्रले गरेको छलफलका सहभागीहरुले यस्तो निष्कर्ष निकालेका हुन् । उनीहरुले कोरोना महामारीको भयावह अवस्थाको कारण देश भरीको जनजीवन कष्टकर भएको वर्तमान अवस्थामा कर्मचारी तथा ग्राहक सदस्यहरुको जीवन सुरक्षा पहिलो प्राथमिकता भएकोले तत्काललाई लघुवित्त संस्थाहरुको प्रयास कोरोना संक्रमण फैलन नदिन र संक्रमण फैलिसकेको ठाउँको जनजीवनमा सहजता ल्याउन तर्फ केन्द्रित हुनु पर्नेमा जोड दिएका हुन् ।
छलफलमा सहभागीहरुले संकटको बेला लघुवित्त संस्थाले सदस्यहरुको अवस्थाका बारेमा जानकारी लिएर आवश्कता अनुसार राहतका कार्यक्रम ल्याउनु पर्ने बताए । उनीहरुले समस्यामा परेका आफ्ना सदस्यहरुलाई सामाजिक उत्तरदायित्व कोषबाट भए पनि सहयोग गर्नु पर्नेमा जोड दिए । उनीहरुले भाखा नाघेको कर्जा बढ्दै गएको र यो असहज अवस्थामा नियामक निकायले सहज नीति ल्याएर लघुवित्तलाई सघाउनु पर्ने धारणा राखेका थिए ।
लघुवित्त संस्थाको प्रतिनिधित्व गरी कोरोनाको असर न्यूनिकरणका उपाय खोज्ने तथा अभ्यास र सिकाइ आदान प्रदान गर्ने उद्देश्यले स्वावलम्बन विकास केन्द्रले छलफलको आयोजना गरेको हो । छलफलमा लघुवित्त तथा सहकारी संस्थाका १ सय ९८ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्