वीरगन्ज महानगरपालिकाद्वारा चारवटा संस्थालाई खाद्यान्न हस्तान्तरण «

वीरगन्ज महानगरपालिकाद्वारा चारवटा संस्थालाई खाद्यान्न हस्तान्तरण

वीरगन्ज महानगरपालिकाले निःशुल्क भोजन गराई रहेका संघ–संस्थाहरूलाई खाद्यान्न उपलब्ध गराएको छ । महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले कोरोना महामारी संक्रमणको साङ्लो तोड्नका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न गरिब परिवारलाई निःशुल्क भोजन गराउँदै आएका संघ–संस्थाहरूलाई खाद्यान्न उपलब्ध गराएका हुन् ।
उनले शुक्रबार महानगरपालिकामा निःशुल्क भोजन गराउन चाहने संघ–संस्थाहरूलाई खाद्यान्न व्यावस्था गर्ने प्रतिबद्धता गरेअनुसार शनिबार महानगरपालिकामा निःशुल्क भोजन गराउँदै आएका चारवटा संस्थालाई खाद्यान्नको व्यवस्था गरेको हो । महानगर प्रमुख सरावगीले सानो पाइला संस्थालाई २८ बोरा चामल, ३५ किलो दाल र २८ लिटर खानेतेल, इम्प्रुभिङ वीरगन्ज संस्थालाई ७ बोरा (१७५) किलो चामल, ३५ किलो दाल र ५० लिटर तेल हस्तान्तरण गरे ।
त्यस्तै १०० ग्रुप नेपाल संस्थालाई १२५ किलो चामल, २५ किलो दाल र २१ लिटर खानेतेल तथा होटल रेलवे कटेजलाई ३० बोरा (७५० किलो) चामल, २ बोरा दाल र ६० लिटर खानेतेल उपलब्ध गराएका छन् । वीरगन्ज महानगरपालिकामा निषेधाज्ञा लागू भएपछि बिहान बेलुका ज्यालादारी गरेर छाक टार्ने गरिब विपन्नहरूलाई छाक टार्न समस्या हुन नदिन साहिब दरबार सेवा संस्था, रेल्वे कटेजलगायतले १० दिनदेखि निरन्तर निःशुल्क भोजन गराउँदै आएका छन् ।
महानगरपालिकाले निःशुल्क भोजन गराउन इच्छुक संघ–संस्थालाई खाद्यान्नउ पलब्ध गराउने घोषणा गरेपछि शनिबार सानोपाइला, १०० ग्रुप्स र इप्रुभिङ वीरगन्जले पनि निःशुल्क भोजनको व्यवस्था गराउन महानगरपालिकाबाट खाद्यान्न लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्