पछिल्लो २४ घन्टामा उदयपुरमा चार संक्रमितको मृत्यु, मृतकको संख्या ११ पुग्यो «

पछिल्लो २४ घन्टामा उदयपुरमा चार संक्रमितको मृत्यु, मृतकको संख्या ११ पुग्यो

उदयपुरमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण चार जनाको मृत्यु भएको छ । शनिबार बेलुकादेखि र आईतबार बिहानसम्ममा गाईघाटका एक व्यापारीसहित चारजनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ४०, ६३, ५६ र ६० बर्षिय पुरुष छन् ।
यो सँगै उदयपुरमा मृतकको संख्या ११ पुगेको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका अनुसार कोरोना भाइरसको संक्रमणपछि उपचारको क्रममा त्रियुगा नगरपालिका ३ घर भई गाईघाट बजारमा व्यापार गर्दै आएका ४० बर्षिय व्यापारीको शनिबार बेलुका मृत्यु भएको हो ।
संक्रमण देखिएपछि उनलाई परिवारले पाँच दिनअघि झापाको विएनसी अस्पतालमा भर्ना गरेका थिए । त्यसैगरी कोरोनाबाट संक्रमित भएका त्रियुगा नगरपालिका १० का ६३ बर्षिय पुरुषको चौदण्डीगढी नगरपालिका बेल्टारस्थित उदयपुर कोभिड अस्पतालमा शनिबार बेलुका मृत्यु भएको छ ।
चौदण्डीगढी नपाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुुर पोखरेलका अनुसार कोरोना देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । शनिबार दिउँसोसम्म स्वास्थ्य अबस्था सामान्य रहेका उनको संक्रमणबाट आत्तिएर हृदयघातबाट ज्यान गएको हुन सक्ने प्रजिअ सेर्डाइले बताए । उदयपुर कोभिड अस्पतालमा विरामी भएका मध्ये मृत्युको यो पहिलो घटना हो ।
ज्वरो र रुघाखोकी लागेपछि उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा भर्ना भएका चौदण्डीगढी नपा ५ का ५६ बर्षिय पुरुषको नोवेल अस्पतालमा आईतबार मृत्यु भएको छ । अस्पताल आएका उनलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि वार्डमा भर्ना गरी उपचार गरिएको थियो ।
विराटनगरकै ग्रिनक्रस अस्पतालमा त्रियुगा नपा १२ का ५१ बर्षिय पुरुषको पनि शनिबार बेलुका मृत्यु भएको छ । तीन दिनअघि दमको विरामी भई उपचारका लागि विराटनगर लगिएका उनलाई गोल्डेन अस्पताल विराटनगरले कोरोना पुष्टि गरेको थियो । कोरोना पुष्टिपछि अस्पतालले उपचार नगरेपछि उनलाई परिवारले ग्रिनक्रसमा भर्ना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्