प्रधानमन्त्रीद्वारा गोदावरी सिटी हल उद्घाटन «

प्रधानमन्त्रीद्वारा गोदावरी सिटी हल उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा निर्माण भएको नेपालकै सबैभन्दा ठूलो सम्मेलन हल ‘गोदाबरी सिटीहल’ को उद्घाटन गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट नै प्रधानमन्त्री ओलीले शुक्रबार गोदाबरी सिटीहलको भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् । प्रधानमन्त्रीले सरकारले केही गरेन भनेर विपक्षीले आरोप लगाइरहे पनि सरकारले विकास निर्माणका कामलाई निरन्तर अघि बढाइरहेको दाबी गरे । प्रमले कोभिड–१९ को संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि काम गरिरहे पनि राष्ट्रिय महत्वका आयोजना र अन्य विकास निर्माणका काम पनि जारी नै राखेको र सिटीहलको उद्घाटनले त्यसलाई पुष्टि गरेको बताए ।
गोदावरी नगरपालिका–३ स्थित ४३ रोपनी १५ आना क्षेत्रफल जग्गामा बनाइएको सो सिटी भवनको भौतिक संरचनाले मात्रै ११ रोपनी १३ आना चर्चेको छ । ३ रोपनी क्षेत्रफलमा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैंचा तथा हरियाली र १३ रोपनीमा पार्किङ र अन्य कार्यका लागि छुट्याइएको छ । ध्वनि अवशोषित, भूकम्प प्रतिरोधी सो सिटी हलमा कम्तीमा पनि तीन हजारजना सहभागी भएर बैठक गर्न सक्नेछन् । भवनभित्र २ वटा भीभीआईपी कक्ष बनाइएको छ । उदाउँदो सूर्यको आकृतिमा बनाइएकाले यसलाई गोदावरी सनसाइज नाम दिइएको छ ।
केसी समानान्तर जेभी काठमाडौंले निर्माण ठेक्का लिएको यो आयोजनाको निर्माण सम्झौता रकम ६५ करोड ७४ लाख ८७ हजार २ सय ९१ रुपैयाँ र भेरिएसनसहित ८१ करोड, ६ लाख ४ सय ३ रुपैयाँ रहेको छ । आयोजनाभित्र हुने आन्तरिक सडक निर्माण, बगंैचा तथा हरियालीको पूर्वाधार, कुर्सी, हलको साजसज्जा लगायतका काम बाँकी नै छन् । सिटी हल अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ दशमलव ८ किलोमिटर र चक्रपथबाट ९ दशमलव ५ किलोमिटर दुरीमा रहेको छ ।
२०७६ कात्तिक २० गते निर्माण सम्झौता भएको सो भवन निर्माणका सम्पन्नका लागि म्याद थपसहित २०७७ चैत मसान्तसम्मको समय दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्