गाडी बनाउने कारखानाको सिलिन्डर फिर्र्ता गर्न अनुरोध «

गाडी बनाउने कारखानाको सिलिन्डर फिर्र्ता गर्न अनुरोध

दोस्रो भेरियन्टको कोरोना भाइरस संक्रमण फैलिएर अस्पतालहरूमा अक्सिजनको चरम अभाव हुन थालेको छ । देशभरका अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितलाई अक्सिजनको सहारामा उपचार गर्नुपर्ने भएपछि अक्सिजनको अभाव भएको हो ।
वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रहेका तीनवटा अक्सिजन ग्यास उद्योगले अहिले वीरगन्जलाई धानिरहेको छ । तर, अब देशभर अक्सिजनको अभाव हुन थालेपछि यहाँ पनि अभाव हुन नदिन ग्यास उद्योगले गाडी बनाउने बडी कारखानामा रहेका सबै ग्यास सिलिन्डर जम्मा गर्न अनुरोध गरेको छ । वीरगन्जको परवानीपुरस्थित अक्सिजन ग्यास उत्पादन गर्ने मधु अक्सिजन ग्यास उद्योगले गाडीको बडी बनाउने कारखानामा रहेका सबै ग्यास सिलिन्डर फिर्ता गर्न अनुरोध गरेको हो । उद्योगका सञ्चालक रामबाबु रौनियारले उद्योगबाट वीरगन्जको बाईपासस्थित बडी कारखानामा ल्याइएका ग्यास सिलिन्डर सबै फिर्ता गर्न अनुरोध गरेको बताए । उनले वीरगन्जको बाईपास क्षेत्रमा खोलिएका गाडीको बडी बनाउने कारखनामा करिब ६०/७० वटा सिलिन्डर रहेको र त्यो उद्योगमा फिर्ता आए अस्पतालमा पठाउन पाए बिरामीले राहत पाउने बताए ।
कोरोना संक्रमितको संख्या अप्रत्यासित बढेपछि अहिले अक्सिजन ग्यासको खपत बढेर उद्योगको उत्पादन पनि बढेको छ । सामान्य अवस्थामा उद्योगबाट प्रतिदिन दुई सय सिलिन्डर सानाठूला ग्यास उत्पादन हुने गरेकोमा अहिले प्रतिदिन ६ सय सिलिण्डर ग्यास उत्पादन गर्ने गरिएको रौनियारले बताए । कोरोना संक्रमणको हटस्पट बनेको वीरगन्जमा अहिलेसम्म माग धन्न सकिएको उनले बताए । उत्पादनमा कुनै अवरोध नआए वीरगन्जमा अक्सिजनको अभाव नहुने उनको भनाइ छ । तर, अक्सिजन उद्योगमा काम गर्ने मजदुरमा पनि स्वास्थ्य जोखिम रहेकोले उनीहरूका लागि सरकारले नै स्वास्थ्य सामग्री उपलब्ध गराई दिए उत्पादनमा कमी नहुने रौनियारले बताए । उद्योगमा काम गर्ने मजदुरलाई जनस्वास्थ्यका मापदण्ड पालना गरेर काममा लगाए पनि अत्यन्त जोखिम मोलेर काममा लगाउनुपर्ने अवस्था रहेकाले स्वास्थ्य सामग्री स्थानीय, प्रदेश र संघीय सरकारले नै व्यवस्था गरिदिन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्